विद्यावारिधिको योग्यता ढाँटेको भन्दै विशेष अदालतले एक मुद्दाका प्रतिवादीलाई दोषी ठहर गरेको छ। बुधबार विशेषले त्रिभुवन विश्वविद्यालयका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईंलाई सजाय सुनाएको हो।
विशेषले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको मुद्दामा प्रसाईंलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। साथै, ४ सय रुपैयाँ अपराधपीडित संरक्षण कोषमा भराउनसमेत भनिएको छ। यस मुद्दाका अन्य प्रतिवादीहरू जयलक्ष्मी प्रधान, मेघराज पोखरेल र मोतीलाल शर्मालाई भने सफाइ दिएको छ।
विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले दुई महिनाअघि दायर मुद्दामा फैसला गरेको हो। त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय पूर्वाञ्चल (विराटनगर)को सह–परीक्षा नियन्त्रक पदका लागि प्रसाईंले आवेदन दिएका थिए, जसमा उनी एक नम्बरमा सिफारिस भएका थिए। अन्तिममा समेत सिफारिस भई ०८१ मंसिर १९ गतेबाट लागू हुने गरी उनले नियुक्तिसमेत लिइसकेका थिए।
तर, उनले उक्त पदका लागि आफू योग्य रहेको भनी योग्यता ढाँटेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जाँचबुझले देखाएको थियो। अनुसन्धानअनुसार प्रसाईंले ५ मंसिर ०८० मा विद्यावारिधिका निम्ति शोधपत्र प्रस्तुत गरेका थिए। अन्तिम मौखिक परीक्षा (भाइबा)मा पनि सहभागी थिए। तर, उनको शोधपत्रलाई परिमार्जन गर्न भनी ६ महिनाको समय दिइएको थियो।
अनुसन्धानअनुसार उनले आफूलाई विद्यावारिधिको उपाधि नपाएको थाहा हुँदाहुँदै प्रोभिजन प्रमाणपत्रसमेत नपाए पनि बदनियत चिताई गैरकानुनी तवरले ओहदा पाउन सहपरीक्षा नियन्त्रक पदका लागि दाबी गरेका थिए। यस क्रममा पेस भएका कागजातमा डा. उल्लेख थिए भने विभिन्न कार्यक्रममा विदेश जाँदा र आफ्नो नेमप्लेटमा पनि डा. लेख्ने गरेको भेटिएको थियो।
जसपछि गत १० मंसिरमा मुद्दा दर्ता भएको थियो। यसमा प्रसाईंबाहेक सबैले सफाइ पाएका छन्। उक्त पदको छनोट समितिमा रहेका प्रधान, पोखरेल र शर्माले भने उनीहरूलाई प्राप्त कार्यादेश तथा आवेदकहरूलाई अंक दिएकोसम्म देखिएको, तर नियुक्ति नगरेकाले उनीहरू तीनैजनालाई सफाइ दिइएको हो। प्रसाईंले स्वघोषणा गरेकाले उनलाई भने सजाय सुनाइएको संक्षिप्त फैसलामा उल्लेख छ।