वीर अस्पतालका चिकित्सकले १०३ वर्षीया वृद्धाको सफल रूपमा मस्तिष्क शल्यक्रिया गरेको छ । काठमाडौं कोटेश्वर–३२ निवासी १०३ वर्षीया वृद्धाको मस्तिष्कमा देखिएको समस्या समाधान गर्दै दुर्लभ न्युरोसर्जिकल सफलता प्राप्त गरेको अस्पतालले जनाएको छ ।
अस्पतालद्वारा जारी वक्तव्यमा भनिएको छ– कोटेश्वर–३२ निवासी १०३ वर्षीया वृद्धा चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपतकालीन कक्षमा ल्याइएकी थिइन् । उनले जीवनभरि आफ्ना स्वास्थ्य समस्याका लागि कहिल्यै पनि कुनै अस्पतालमा उपचार गराएकी थिइनन् । पछिल्लो एक महिनादेखि उनलाई कहिलेकाहीँ टाउको दुख्ने र पटकपटक लड्ने समस्या देखिएको थियो। परिवारले सुरुमा यसलाई अत्यधिक उमेर र कमजोरीका कारण भएको ठानेको थियो । तर, दुई दिनसम्म लगातार अचेत अवस्थामा रहेपछि उनलाई अन्य अस्पताल लगियो । बिरामीले सधैँ वीर अस्पतालप्रति विश्वास व्यक्त गर्दै आएको हुनाले परिवारले उनलाई अन्ततः वीर अस्पताल ल्याउने निर्णय गर्यो ।
अस्पतालका अनुसार वीरमा आइपुग्दासमेत वृद्धा अचेत नै थिइन् । विस्तृत जाँच परीक्षणपछि उनको मस्तिष्कमा धेरै ठुलो रक्तस्राव भएको पत्ता लाग्यो, जसका लागि तत्काल न्युरोसर्जिकल शल्यक्रिया आवश्यक थियो । अत्यन्तै उच्च र नाजुक उमेरमा मस्तिष्क शल्यक्रिया गर्नु चिकित्सकीय र नैतिक दुवै दृष्टिले ठूलो चुनौती थियो । बिरामीको परिवारले उनको बाँच्ने आशा नै गुमाइसकेको थियो।
न्यूरोसर्जरी विभागको टोलीभित्र गहिरो छलफल तथा बिरामीका परिवारसँग विस्तृत परामर्शपछि शल्यक्रिया गर्ने सामूहिक निर्णय गरेको अस्पतालको भनाइ छ । शल्यक्रिया सफलतापूर्वक सम्पन्न भयो । शल्यक्रियापश्चात बिरामीमा उल्लेखनीय सुधार देखिएको छ । यो शल्यक्रिया प्राडा राजीव झाको नेतृत्वमा डा. समीर आर्याल, डा. नम्रता खड्का, डा. आयुष बिमली, नर्स सिन्धु गौतमलगायतले सम्पन्न गरेका थिए । अहिले बिरामी होसमा आइसकेको र बोल्न सक्ने अवस्थामा रहेको वक्तव्यमा उल्लेख छ ।
१०० वर्षभन्दा बढी उमेरका व्यक्तिमा सफल मस्तिष्क शल्यक्रिया हुनु विश्वमै अत्यन्तै दुर्लभ मानिन्छ, र यस्ता केही मात्र केसहरू रिपोर्ट भएका छन् ।