राष्ट्रिय सभा निर्वाचनमा २०४३ मतदाता

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय सभाको निर्वाचनका लागि २ हजार ४३ मतदाता कायम गरिएको छ। राष्ट्रिय सभाका १८ सिटका लागि ११ माघमा चुनाव हुँदै छ। फागुन २० मा रिक्त हुने १९ मध्ये एक सिट राष्ट्रपतिले मनोनित गर्नेछन्। निर्वाचन आयोगले बुधबार निर्वाचनका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको हो।

आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार उक्त निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था छ। यसअनुसार प्रदेश सभा सदस्य ५४५ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २ हजार ४३ जनाको प्रारम्भिक मतदाता नामावली स्वीकृत भएको छ।

उल्लिखित मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ।

स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यमध्ये अदालतको आदेशबमोजिम पदमुक्त भएका एकजना र निलम्बनमा परेका चारजना गरी कुल पाँचजना प्रदेश सभा सदस्य तथा स्थानीय तहका पदाधिकारीमध्ये निधन भएका एकजना र निलम्बनमा रहेका सातजना गरी कुल ८ जना स्थानीय तहका पदाधिकारीको नाम मतदाता नामावलीमा समावेश गरिएको छैन।

आयोगले प्रारम्भिक नामावलीमा जाँचबुझ गरी २२ पुसमा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ।

सुझावित समाचार