
काठमाडौं महानगरपालिकाले यात्रु सहायता कक्षबाटै नि:शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ। गोँगबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो।
काठमाडौं महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य जाँच सुरु गरेको जानकारी दिए। महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको सिअहेव नेगीले बताए। उक्त सेवा दसैँभरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।
उक्त कक्षको आज काठमाडौं महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारी र काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गरे। नयाँ बसपार्कमा हुने भिडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ। उक्त प्रहरीले भिडभाड नियन्त्रणका साथै यात्रुहरूलाई सहजै रूपमा गन्तव्य स्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ।