मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
२o८२ असोज ४ शनिबार ११:१६:oo
Read Time : > 5 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यस्ता छन् नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजका खेलाडी 

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार ११:१६:oo

नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजसँग टी–२०आई सिरिज खेल्दै छ । युएईको सारजहाँ रंगशालामा २७–३० सेप्टेम्बरसम्म हुने सिरिजलाई नेपाली टोलीले विश्वकप छनोटको अन्तिम अभ्यास खेलका रूपमा लिएको छ । वेस्ट इन्डिजसँगको खेलपछि नेपाल एसियन छनोटमा प्रतिस्पर्धा गर्न ओमान प्रस्थान गर्नेछ । वेस्ट इन्डिजले पनि नेपालविरुद्धको सिरिजमा ६ युवा खेलाडीलाई अवसर दिएको छ । वेस्ट इन्डिज क्रिकेट बोर्डले सिनियर तथा युवा खेलाडीको मिश्रणमा नेपालसँग खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । बोर्डले क्यारिबियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । आकेल होसेनको कप्तानीमा रहेको टोलीमा ६ नयाँ खेलाडी छन् । ‘यो सिरिजमा युवा खेलाडीले अवसरका रूपमा लिनेछन्,’ सिवाइआईका निर्देशक मिलेसले भने, ‘हामी विश्वकपलक्षित टोली बनाउँदै छौँ ।’ 

आकेल होसेन (कप्तान) : होसेनले नेपालविरुद्ध कप्तानी गर्नेछन् । होसेन बायाँहाते ब्याट्सम्यान र स्पिनर हुन् । सिनियर खेलाडीहरूले टी–२० आईबाट सन्न्यास लिएपछि उनले कप्तानी गर्ने जिम्मेवारी पाएका हुन् । सन् २०२१ मा उनले दक्षिण अफ्रिकाविरुद्ध घरेलु मैदानमा टी–२० आईमा डेब्यु गरेका थिए । एकदिवसीय खेलमा उनले २०२१ मा बंगलादेशविरुद्ध डेब्युको अवसर पाएका हुन् । होसेनसँग अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजको अनुभव छ । उनले सिपिएल, पिएसएल, बिबिएल तथा आइपिएल खेलेको अनुभव छ । होसेनले ७८ टी–२० आईमा दुई सय ७२ रन बनाउनुका साथै ७२ विकेट लिएका छन् । उनले करिअरमा दुईपटक चार विकेट तथा एकपटक पाँच विकेट हात पारेका छन् । 

जासन होल्डर : वेस्ट इन्डिजका पूर्वकप्तान होल्डर घोषित खेलाडीमा सबैभन्दा सिनियर र अनुभवी खेलाडी हुन् । ३३ वर्षीय होल्डरले सन् २०१४ मै अस्ट्रेलियाविरुद्ध एकदिवसीय तथा सोही वर्ष न्युजिल्यान्डसँगको टी–२०आईमा डेब्यु गरेका थिए । उनले २०१४ मा न्युजिल्यान्डविरुद्ध टेस्टमा डेब्यस गरेका थिए । वेस्ट इन्डिज टोलीमा उनी लामो समयदेखि बलिङ अलराउन्डर भूमिकामा छन् । दायाँहाते ब्याटिङ गर्न रुचाउने होल्डर दायाँहाते मध्यम गतिका बलर हुन् । उनले ६९ टेस्टमा एक सय ६२, एकदिवसीयमा एक सय ५९ र टी–२० आईमा ८२ विकेट लिएका छन् । यसैगरी, ब्याटिङ क्रममा होल्डरले टेस्टमा तीन शतक तथा १४ अर्धशतकको सहयोमगा तीन हजार ७३ रन जोडेका छन् । एक सय ३८ एकदिवसीय खेलमा उनले १२ अर्धशतक प्रहार गरी दुई हजार दुई सय ३७ रन बटुलेका छन् । ७५ टी–२० आई खेलबाट उनले ६ सय ७२ रन बटुले । उनले अहिलेसम्म तीन सय ११ टी–२० सिरिज खेलेका छन् । वर्तमान वेस्ट इन्डिजको टोलीमा महत्वपूर्ण खेलाडीका रूपमा रहेका होल्डरसँग आइपिएल, बिपिएल, बिगबास तथा सिपिएल लिगको अनुभव छ । 

केयल मायर्स : सन् २०२१ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यु गरेका मायर्स निरन्तर टोलीमा छन् । नेपालविरुद्धको सिरिजमा वेस्ट इन्डिजका अनुभवी खेलाडीमध्ये मायर्स पनि पर्छन् । उनले १८ टेस्टमा नौ सय ४९ रन बनाउँदा समान दुई शतक र अर्धशतकीय इनिङ्स खेलेका छन् । यसैगरी, २८ एकदिवसीय खेलमा उनले ६ सय ६० रन जोड्दा दुई शतक तथा दुई नै अर्धशतक ठोके । यसैगरी, ३८ टी–२० आईमा उनले तीन अर्धशतकको सहयोगमा सात सय ६२ रन बनाएका छन् । वेस्ट इन्डिजले उनलाई ब्याटिङ अलराउन्डर खेलाडीका रूपमा राखेको हो । उनले विश्वप्रसिद्ध फ्रेन्चाइज लिगहरू खेलेका छन् । आइपिएल, बिपिएल, सिपिएल तथा पिएसएल लिग प्रमुख हुन् ।

फाबियन एलान : एलान बलिङ अलराउन्डर हुन् । वेस्ट इन्डिजको पावर हिटिङ ब्याट्सम्यानमा एलान राम्रो मान्छन् । बायाँहाते स्पिनरसँग विश्व प्रसिद्ध टी–२० फ्रेन्चाइज लिगको अनुभव छ । उनले सिपिएल, बिबिएल, एलपिएल, आइपिएल तथा पिएसएलमा प्रतिस्पर्धा गरेका छन् । विश्व प्रसिद्ध आइसिपमा उनले करिअरमा दुईपटक फरक टोलीबाट खेले । वेस्ट इन्डिजको वर्तमान टोलीमा एलान अनुभवी खेलाडीमा पर्छन् । सन् २०१८ मा उनले भारतविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । ३९ टी–२० आईमा उनले २४ विकेट लिएका छन् । यसैगरी, टी–२० फम्र्याटमा उनले सय विकेट पूरा गरेका छन् । ब्याटिङ क्रममा एलानले एकदिवसीय खेलमा दुई सय र टी–२० आईमा दुई सय ७२ रन बटुलेका छन् । टी–२० आईमा उनको स्ट्राइक एक सय ३६ रहेको छ ।

क्येची कार्टी : नेपालविरुद्ध घोषित वेस्ट इन्डिजको टोलीमा तीनवटै फम्र्याट खेल्ने कार्टी एक हुन् । कार्टीले सात टेस्ट, ४० एकदिवसीय तथा चार टी–२० आई खेलेका छन् । यी तीनवटै फम्र्याटमा बलिङ अवसर पाए पनि उनी अहिलेसम्म विकेटविहीन छन् । ब्याटिङमा दखल राख्ने कार्टीले चार टी–२० आईमा ५३ रन जोडेका छन् । यस फम्र्याटमा उनको ब्याटिङ स्ट्राइक एक सय ५१ रहेको छ । उनले ४० एकदिवसीय खेलमा एक हजार चार सय ९५ रन बटुलेका छन् । यस क्रममा उनले चार शतक तथा पाँच अर्धशतकीय इनिङ खेलेका छन् । सन् २०२२ मा एकदिवसीय खेलमा डेब्यु अवसर पाएका उनले गत वर्ष मात्र टी–२० आई खेलेका थिए । व्यावसायिक क्रिकेटमा उनी सिपिएल लिगमा आबद्ध छन् ।

जेवेल एन्डयु  : एन्डयुले नेपालविरुद्धको सिरिजमा विकेटकिपर ब्याट्सम्यानको जिम्मेवारी सम्हाल्नेछन् । वेस्ट इन्डिजको टोलीमा खासै मौका नपाए पनि एन्डयुले नेपालसँग एक्सपोजर प्राप्त गर्ने अवसर वेस्ट इन्डिजले दिएको हो । उनले अहिलेसम्म एकदिवसीय र टी–२० आईमा समान तीन अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० आईमा ७१ रन जोडेका छन् । यसै वर्ष मात्र उनले टी–२० आईमा पाकिस्तानविरुद्ध डेब्यु गरेका हुन् । नेपालविरुद्धको सिरिजमा उनी एक फ्रेस खेलाडी हुन् । सन् २०२४ मा उनले एकदिवसीय खेलमा श्रीलंकाविरुद्ध डेब्यु अवसर पाए । व्यावसायिक क्रिकेटमा उनी सिपिएलमा मात्र आबद्ध छन् ।

अकिम जेरेल अगस्टे : पछिल्लो समय वेस्ट इन्डिजको ओपनिङमा अकिमले जिम्मेवारी सम्हालेका छन् । बायाँहाते ब्याट्सम्यान अकिमले लेग ब्रेक बलिङ पनि गर्छन् । नेपालविरुद्धको सिरिजमा उनले पहिलोपटक वेस्ट इन्डिजको टोलीमा स्थान बनाएका हुन् । डेब्यु खेलाडी अकिमलाई यू–१९ टोलीबाट छनोट गरिएको हो । यद्यपि, उनले पहिलो श्रेणीको क्रिकेटमा एक हजार ६ रन तथा लिस्ट ‘ए’मा पाँच सय ३७ रन बनाएका छन् । अकिमले टी–२० सिरिजमा भने २६ खेलबाट तीन सय ८५ रन बटुलेका छन् । समग्रमा उनले बलिङमा ६ विकेट हात पारेका छन् । व्यावसायिक क्रिकेटमा उनी सिपिएलमा आबद्ध छन् ।

नभिन विदैसी : वेस्ट इन्डिजले नेपालविरुद्धको ऐतिहासिक सिरिजमा ६ युवा खेलाडीलाई अवसर दिएका छन् । यसमध्ये नभिन पनि एक हुन् । वेस्ट इन्डिज क्रिकेट बोर्डले ब्याटिङ अलराउन्डरका रूपमा उनलाई समावेश गरेको हो । उनले टी–२० सिरिजमा सात खेलबाट एक सय १७ रन जोडेका छन् । यस क्रममा उनले एकपटक अर्धशतीय इनिङ्स खेलेका छन् । उनको ब्याटिङ स्ट्राइक एक सय २० रहेको छ । उनले टी–२० सिरिजमा सात इनिङ्समा सात विकेट हात पारेका छन् । व्यावसायिक फ्रेन्चाइजमा उनी किंग्सटनमा आबद्ध छन् ।

जेदिआस ब्लादेस : २३ वर्षीय युवा खेलाडी ब्लादेसले यसै वर्ष मात्र राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरेका हुन् । एकदिवसीयभन्दा टी–२० आईमा उनले बढी अवसर पाएका छन् । अहिलेसम्म तीनवटा टी–२० आईमा उनले तीन विकेट हात पारेका छन् । उनको उत्कृष्ट स्पेल नै २९/३ हो । दुई महिनाअघि उनले अस्ट्रेलियाविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । सन् २०२४ मा उनले बंगलोदशसँगको एकदिवसीयमा डेब्यु गरेका थिए । टी–२० फ्रेन्चाइज लिगमा उनी सिपिएलमा आबद्ध छन् । सिपिएलमा उनले दुई खेलबाट तीन विकेट हात पारेका छन् ।

करिमा गोरे : करिमासँग सिनियर टोलीसँगको अनुभव कम छ । अहिलेसम्म उनले १६ एकदिवसीय र आठ टी–२० खेल खेलेका छन् । नेपालविरुद्ध उनी बायाँहाते बलरका रूपमा देखिने सम्भावना छ । एकदिवसीयमा उनले १६ खेलबाट १३ विकेट तथा टी–२० आईमा आठ खेलबाट १० विकेट हात पारेका छन् । सन् २०१९ मै एकदिवसीय तथा २०२१ मा टी–२० आईमा डेब्यु गरेका थिए । चार वर्षयता उनी टोलीमा छैनन् । वेस्ट इन्डिजले आसन्न टी–२० विश्वकप प्रतियोगिताको मध्यनजर गरी युवा खेलाडीलाई दिएको छ । गोरे पनि यसै अवसर पाउने खेलाडीमा पर्छन् । व्यावसायिक फ्रेन्चाइज लिगमा उनी सिपिएलमा छन् । उनले मेजर लिग क्रिकेटमा उनले ११ खेलबाट तीन विकेट लिएका छन् ।

अमिर जंगु : वेस्ट इन्डिजले वैकल्पिक विकेटकिपर ब्याट्सम्यानका रूपमा अमिरलाई समावेश गरेको हो । उनले अहिलेसम्म टी–२० आईमा अवसर पाएका छैनन् । तर, करिअरमा उनले एक टेस्ट तथा पाँच एकदिवसीय खेल खेलेका छन् । पाँच एकदिवसीयमा एक शतकको सहयोगमा उनले एक सदस्य ५३ रन बनाएका छन् । सन् २०२४ मा उनले बंगलादेशविरुद्ध एकदिवसीय तथा यसै वर्ष पाकिस्तानविरुद्ध टेस्टमा डेब्यु गरेका थिए । व्यावसायिक लिगमा उनी सिपिएलमा आबद्ध छन् । सिपिएलमा उनले १७ खेलमा तीन सय ३४ रन बनाएका छन् । यस क्रममा उनको नाममा तीन अर्धशतक छ ।

ओवेड म्याकोय : वेस्ट इन्डिजको फास्ट बलर जिम्मेवारी पाएका म्याकोयसँग एकदिवसीय र टी–२० आईको अनुभव छ । तीव्र गतिको बलर गर्न माहिर म्याकोयले ४२ टी–२० आईमा ५२ विकेट लिएका छन् । यस क्रममा उनले आफ्नो करिअरकै उत्कृष्ट बलिङ स्पेलका रूपमा १७–६ राखेका छन् । उनले जीवनमा दुईपटक चार तथा एकपटक पाँच विकेटभन्दा बढी लिएका छन् । यसैगरी, एक सय ५५ टी–२० सिरिजमा उनले एक सय ८९ विकेट हात पारेका छन् । सन् २०१८ मा उनले भारतविरुद्ध एकदिवसीय तथा सन् २०१९ मा इंग्ल्यान्डविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए ।

जिसन मोटरा : नेपालविरुद्धको सिरिजमा डेब्यु गर्न सक्ने खेलाडीमा जिसन पनि हुन् । तीन महिनाको अन्तरमा वेस्ट इन्डिजका सिनियर खेलाडीले सन्न्यास लिँदा युवा खेलाडीले अन्तर्राष्ट्रिय खेलमा अवसर पाइरहेका छन् । यसपटक जिसनले पनि पाउन सक्छन् । उनीसँग पहिलो श्रेणी, लिस्ट ‘ए’ तथा टी–२० सिरिजको अनुभव छ । पहिलो श्रेणीमा १० खेलमा दुई सय ३६ रन, लिस्ट ‘ए’ मा १४ रन बनाएका छन् । बलिङका क्रममा उनले पहिलो श्रेणीमा १० खेलबाट २५ विकेट हात पारेका छन् ।

रामोन सिमोन्ड्स : रामोनले पहिलोपटक वेस्ट इन्डिजको राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् । बायाँहाते मध्यम गतिका बलर रामोनले पहिलो श्रेणीमा १२ खेलबाट ३८ विकेट लिएका छन् । यसैगरी लिस्ट ‘ए’मा उनले सात तथा टी–२० सिरिजमा २३ विकेट हात पारेका छन् । वेस्ट इन्डिजको उमेर समूहबाट उनले सिनियर टोलीमा स्थान बनाएका हुन् । व्यावसायिक फ्रेन्चाइजमा उनले सिपिएल खेलेका छन् ।

सामार स्प्रिगर : गत वर्ष टी–२० आईमा श्रीलंकाविरुद्ध डेब्यु गरेका सामार अलराउन्डर भूमिकामा छन् । उनले दुई टी–२० आई खेलमा सात रन र दुई विकेट हात पारेका छन् । उनले टी–२० सिरिजमा ४० खेलबाट दुई सय ५१ रन बनाएका छन् । उनले १९ पहिलो श्रेणीबाट ५१ तथा लिस्ट ‘ए’मा १९ खेलबाट ४३ विकेट हात पारेका छन् ।

(एजेन्सीको सहयोगमा )