मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
शान्ति तामाङ काठमाडाैं
२o८२ असोज ४ शनिबार १o:१६:oo
Read Time : > 7 मिनेट
फिचर प्रिन्ट संस्करण

स्टेयरिङमा महिला

Read Time : > 7 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार १o:१६:oo
  • नेपाल यातायात मजदुर संघमा मात्रै ३१ हजार चालक आबद्ध छन् । जसमध्ये ट्याम्पुचालक महिला ३९ जना छन् । एक्स्काभेटर अपरेटर मुना घिमिरे, साझा बसचालक हर्मिता श्रेष्ठ र लामो दूरीको बसचालक रेविका साहनीले ठुला गाडी हाँकिरहेका छन् ।

नेपालमा महिलाको संख्या पुरुषको भन्दा साढे ६ लाखले धेरै छ । संख्यात्मक हिसाबले महिलाको संख्या धेरै भए पनि अझै धेरै क्षेत्र पुरुषकै पकडमा छ । धेरै क्षेत्रमा महिला आउन खोजे पनि हाम्रो सामाजिक संरचनाले उनीहरूलाई जहीँको तहीँ बस्न बाध्य बनाएको छ । यसका बाबजुद पनि महिलाले प्रयास गर्न भने छाडेका छैनन् । पछिल्लो समय सार्वजनिक सवारीसाधन चालकको रूपमा केही महिला देखिएका छन् । तर, ठुला सवारीसाधन चालकको संख्या भने औँलामा गन्न सकिने मात्र छन् । काठमाडौं उपत्यका हुँदै बाग्लुङ र पर्वतको कुस्मासम्म पुग्ने साझा यातायातमा समेत एकजना मात्र महिला चालक छिन् ।

एक सय ११ बस भएको साझासँग एक सय ७० चालक छन् । जसमध्ये एकजना मात्र महिला चालक छिन् । एक सय ७० नै सहचालक भएको साझाले ११ जना महिला सहचालक राखेको छ । एक तथ्यांकअनुसार देशभर चालक र सहचालकको संख्या करिब १५ लाख छ । तर, यो तथ्यांक आधिकारिक नभएको नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी बताउँछन् । उनले नेतृत्व गर्ने संगठनमा ३१ हजार चालक आबद्ध छन्, जसमध्ये महिलाको संख्या ३९ मात्र छ । ती ३९ जना नै ट्याम्पु चालक हुन् । 

नेपालमा ०३७ सालमै लक्ष्मी शर्माले ट्याम्पु चलाएर नेपालकै पहिलो महिला ट्याम्पु चालक बनेकी थिइन् । पचासको दशकदेखि मुना घिमिरे, हर्मिता श्रेष्ठ, रेविका साहनीले चालकको रूपमा काम गर्न थाले । मुनाले हेभी सवारी चालकबाटै आफ्नो करियर सुरु गरेकी भए पनि हर्मिता र रेविकाले साना सवारीचालकको रूपमा करियर सुरु गरे । हर्मिताले त ट्याम्पु, माइक्रो हुँदै बस चलाउन थालेकी हुन् । यी तीनले सवारीचालक पेसा सुरु गर्दा बिस्तारै महिलाहरू ट्याम्पु, ट्याक्सी चालकको रूपमा आए । केही ट्याम्पु र ट्याक्सीमै सीमित छन् । धेरैजना यो पेसाबाट पलायन भइसकेका छन् । काठमाडौंमा चल्ने ट्याम्पुमा अझै पनि ८५ प्रतिशत महिला चालक छन् । योबाहेक हेभी चालकको रूपमा महिलाहरूले आउन आँट गर्न सकेका छैनन् । 

अहिले पनि लामो दरीका सवारी चलाउने महिला एकजना मात्र छिन् । हेभी इक्विपमेन्टको रूपमा डोजर चलाउने पनि एकजना मात्र छिन् । उपत्यकाबाहिर समेत चल्ने साझा यातायातमा एकजना मात्र महिला चालक छिन् । यातायात मजदुर संगठनले महिलालाई यो क्षेत्रमा ल्याउन प्रेरित गरिरहेको भए पनि समाजले नै यो पेसा महिलाहरूका लागि होइन भन्ने भाष्य निर्माण गरेकाले समस्या भएको भण्डारी बताउँछन् । ‘यो पेसालाई समाजले अवहेलानाको दृष्टिकोणबाट हेर्छ,’ उनी भन्छन्, ‘यसलाई चुनौती दिँदै केही महिला आउनुभएको छ । तैपनि, सामाजिक सुरक्षा भत्ता, अस्थायी प्रकृतिको पेसा भएका कारण धेरैजना टिक्नै सक्नुहुन्न ।’ 

तीसको दशकमै ट्याम्पु चलाएकी लक्ष्मी शर्माले विभिन्न ठाउँमा भनेकी छिन्, ‘कहिलेकाहीँ रुन्थेँ । जमलमा एउटा समूहले भनेको ठाउँमा नजाँदा मेरो ट्याम्पु तोडफोड गरे । ममाथि हातपात गरे । त्यसको कतै सुनुवाइ भएन ।’ अहिले पनि महिला चालकलाई हेर्ने दृष्टिकोण कति पनि फरक नभएको महिला चालकहरू बताउँछन् ।

एक्स्काभेटर चलाउने मुना 

हेभी इक्विपमेन्ट अपरेटर मुना घिमिरे

अचेल मुना घिमिरेको दिन सानी मुना हेरेर बित्दै छ । सानी मुना अर्थात् मुनाले दुई महिनाअघि जन्म दिएकी छोरी । छोरी जन्मिएपछि उनको दैनिकी छोरीसँग रमाउने, तेल लगाउने र आफ्नो ख्याल गरेरै बित्ने गरेको छ । ४५ वर्षको उमेरमा छोरी जन्माएकी उनी अहिले निकै खुसी छिन् । डोजर चलाउन पत्याउँदा पनि उनलाई त्यस्तै खुसी लागेको थियो । ‘अहिले आराम गरेर बसिरहेकी छु । धेरैपछि भए पनि आमा बन्न पाउँदा एकदमै खुसी लागेको छ,’ मुनाले भनिन् । आमा भएसँगै आफूमाथि अझै मिहिनेत गरेर काम गर्नुपर्ने जिम्मेवारी आएको उनी बताउँछिन् । 

सडक विभागमा कार्यरत उनी नेपालकै पहिलो महिला हेभी इक्विपमेन्ट अपरेटर हुन् । भारतको गुजरातमा समेत केही समय काम गरेकी उनी तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीबाट सम्मानित भएकी थिइन् । गोरखाकी उनले एक्स्काभेटर चालक बनेर ००५ देखि ००८ सम्म गुजरातमा काम गरेकी थिइन् । सानैदेखि महिला–पुरुषबिचको विभेदले उनलाई डोजर चालकको रूपमा स्थापित बन्न सहयोग गरेको थियो । छोरा जन्माउन नसकेको भन्दै उनको बुबाआमालाई आफन्त र समाजले गरेको तिरष्कारका शब्द अझै उनको कानमा गुन्जिन्छ । ‘बुबाआमालाई समाजले तेरो छोरा छैन । काजकिरिया कसले गर्छ ? कसले पाल्छ ? भन्थे । गरिबको घरमा चिहाउने प्वाल धेरै हुन्छ भनेको जस्तै अवस्था थियो,’ उनले भनिन्, ‘जे गरे पनि पुरुषसरह गर्छु भन्ने बच्चै वेलादेखि लाग्थ्यो । मेरो इच्छाअनुसार परिस्थिति, आत्मविश्वास र सपोर्ट भयो । त्यसैले यो पेसामा छु ।’

प्रमाणपत्र तहसम्म अध्ययन गरेकी उनले १७ वर्षको उमेरदेखि नै डोजर चलाउन थालेकी हुन् । दुई छोरीमध्ये जेठी, उनलाई सुरुवाती दिनमा काम पाउन गाह्रो भयो । आफूलाई पटक–पटक प्रमाणित गर्नुपर्‍यो । ‘काम सिकेपछि पाइएला नि भन्ने थियो । तर, त्यस्तो अवस्था थिएन । काम खोज्दै जाँदा केटा मान्छेले त एकपटक सोच्नुपर्छ, केटी मान्छेले कहाँ सक्छन् भने । हेयको दृष्टिले हेरे । छैन काम भनेर हकारे । धेरैले अविश्वास गरे । थोरैले विश्वास गरे । त्यसैले म यहाँसम्म आइपुगेँ,’ उनले भनिन् । 

६ वर्ष अस्थायी रूपमा काम गरेर उनी ०७२ सालमा लोकसेवा पास गर्दै विभागमा स्थायी जागिरे भएकी छिन् । सरकारी सेवा प्रवेश गरे पनि उनलाई डोजर नचलाउन आफ्नै समकक्षीले भने । ‘सुरुवाती दिनमा तपाईंलाई यहाँ मेसिन चलाउन कसले दिन्छ ? खरदार सुब्बामा जागिर खानुस् भने । तर, मैले कसैको खल्तीको तलब खान आएको होइन, सरकारको नियमअनुसारको तलब खान आएको हुँ । खरदार, सुब्बाको काम गर्ने भए किन मेसिन चलाउन आउँथेँ ? भनेर उनीहरूलाई जवाफ दिन्थेँ,’ उनले सरकारी सेवामै भएको अनुभव सुनाइन् ।

चुनौती नै चुनौती भएको यो पेसामा सबैजना सजिलै आउन चाहँदैनन् । उनी डोजर लिएर कहिले पहिरो, कहिले खोलानाला, कहिले अक्करे भिर, कहिले सुनसान र घना जंगल पुग्नुपर्छ । यस्तो पेसामा पुरुष त सजिलै आउँदैनन् । झन् अनेक जिम्मेवारी भएको महिलालाई आउन गाह्रै भएको उनको तर्क छ । तर, चुनौतीका बाबजुद पनि उनी अरू पनि महिला डोजर चालक उत्पादन गर्न लागिपरेकी छिन् । ‘यो पेसामा चुनौती नै चुनौती छ । चुनौती नभएको भए धेरै आउँथे होला । तर, म अरू महिलालाई पनि डोजर चालक बनाउन चाहन्छु । त्यसका लागि केही दिदीबहिनीलाई सिकाएको पनि छु । तर, उहाँहरू मेसिन लिएर बाहिर आउन सक्नुभएको छैन,’ मिनाले भनिन् ।

मिनाले पाँचौँ तहको सरकारी कर्मचारीले पाउने तलब (३५ हजार) पाउँछिन् । साथै डोजर चलाउन फिल्डमा जाँदा अतिरिक्त भत्तास्वरूप मासिक ३०–३५ हजार कमाउँछिन् । यसबाट उनको परिवार राम्रो चलिरहेको छ ।

लामो दूरीको बस चलाउने रेविका 

लामो दूरीको बसचालक रेविका साहनी 

मोटरसाइकल दुर्घटनापछि रेविका साहनी एक वर्षदेखि घरमै आराम गरिरहेकी छिन् । घर बसेको एक वर्ष हुनै लाग्दा बससँगको सामिप्यता भने कसैगरी घट्न सकेको छैन । त्यसैले घरआँगनमा आउनै लागेको दसैँअगावै बस चलाउन जाने तयारी गर्दै छिन् । ठुलो बस चलाउनकै लागि एक–दुई ठाउँबाट अफरसमेत आइरहेको रेविकाले बताइन् । ‘बाइक दुर्घटनामा हात भाँचिएकाले घरमै आराम गरेर बसिरहेको छु । अहिले ठिक हुँदै छु । अब बिस्तारै काममा फर्कन्छु,’ रेविकाले भनिन् ।

रेविकाको बाल्यकाल बाग्लुङको गलकोटमा निकै कठोर संघर्षबाट गुज्रियो । त्यसैले उनको परिवार उनी १० वर्षको हुँदा ०४० सालमा बुटवल झर्‍यो । उनी १४ वर्षकी हुँदा बुबाआमाले संसार छाडेर गए । परिवारका अन्यबाट केही ‘सपोर्ट’ नभएपछि कष्टकर दिन झेल्दै उनी काठमाडौं आइन् । बिहे गरिन् । विवाह सम्बन्ध लामो समय कायम रहेन । त्यसपछि काठमाडौंमा जीवन बिताउन उनले निकै संघर्ष गरिन् । बिस्तारै कार सिकिन् । जसले उनलाई आत्मनिर्भर बन्न ट्याम्पु चालक बनाायो ।

रेविकाले चालकको रूपमा काम गर्न थालेको २२ हुन थाल्यो । दुई वर्ष ट्याम्पु, माइक्रो बस, साझा बस हुँदै उनले लामो दूरीको बस चलाउन थालेकी हुन् । आफ्नो छोरालाई बन्द कोठामा राखेर ट्याम्पु चलाउन थालेकी उनलाई सुरुवाती दिनमा समाजले राम्रो दृष्टिले हेरेन । अनेक लाञ्छना लगायो । तर, आत्मनिर्भर बनेर अगाडि बढ्ने क्रममा उनले ती सबै बेवास्ता गरिन् । ‘अहिलेसम्म हाम्रो समाजले सवारीचालकलाई पेसाको रूपमा लिन सकेको छैन,’ उनले भनिन्, ‘महिलाले गाडी चलाउन थाल्यो भने त बिचरी बुढाले छाडेर गाडी चलाउन आएकी रे, यसलाई इन्डियाबाट फिर्ता ल्याएको रे, परिवारबाट हिंसामा परेर गाडी लाइनमा आएकी रे भन्छन् । हामी आफ्नो पेसामा गर्व गर्छौं । तर, समाजले त्यसलाई निराशामा परिणत गरिदिएकोे छ । त्यही भएर पनि धेरैले यो पेसालाई निरन्तरता दिन सकेको छैन ।’

हुर्केको एउटा छोरा गुमाएकी उनको अहिले आठ वर्षको छोरा छ । उनी अहिले पहिलो छोराको नाममा स्थापना भएको ‘विवेक स्वच्छ केन्द्र बाल आश्रम’ केन्द्रका ४० जना छोराछोरीको समेत आमा भएकी छिन् । यी बालबालिकालाई छाडेर बस चलाउन जाँदा उनी जहाँ बस रोकिन्छ, त्यहीँ भिडियो कल गर्छिन् । हालखबर सोध्छिन् । आफूले मिठोमसिनो खाने वेला उनीहरूकै अनुहार सम्झिन्छिन् । 

रेविका अहिले ठुलो बस चालक मात्र होइन, मदर रेविकाको रूपमा समेत चिनिएकी छिन् । ‘हिजो एउटा छोराको आमा थिएँ । अहिले धेरै छोराछोरीको आमा बन्ने कोसिस गरिरहेकी छु । व्यक्तिहरूले सहयोग गरेर आश्रम चलाइरहेको छु । मिलेसम्म आफ्नो पेसालाई पनि निरन्तरता दिएको छु,’ उनले भनिन् । 

लामो दूरीको बस चलाउन कठिन भएको रेविका बताउँछिन् । ‘गाडी स्टेसनदेखि नै चुनौती फेस गर्नुपर्छ । रात्रिकालीन बस, त्यो पनि लामो दूरीका बस चलाउँदा सबैभन्दा पहिला घरपरिवारबाटै सहयोग चाहिन्छ,’ उनले भनिन्, ‘यो पेसामा महिला आउन र टिक्न मान्छेको विचार परिवर्तन हुन आवश्यक छ । मलाई ६० सालमा ट्याम्पु चलाएर आत्मनिर्भर बन्न खोज्दा निकै गाह्रो भयो । अहिले पनि ड्राइभर बन्छु भन्दा अवस्था त्यस्तै छ । कामलाई मूल्यांकन नगर्नुस् । विभेद नगर्नुस् । इज्जत गर्नुस् ।’ यातायात मजदुरीको क्षेत्रलाई सम्मानित बनाउन राज्यले नै काम गर्नुपर्ने उनको सुझाव छ । अरू थुप्रै महिलालाई सवारीचालक बनाउनुपर्ने उनको भनाइ छ । आफ्नो काम देखेर अरू पनि प्रेरित भई यस क्षेत्रमा आऊन् भन्ने उनी चाहन्छिन् ।

साझा बस हाँक्ने हर्मिता

साझा बस हाँकिरहेकी हर्मिता श्रेष्ठ

झिसमिसेमै उठ्नु, खाना तयार गर्नु, सात नबज्दै ६ किलोमिटर पार गरेर पुल्चोक पुग्नु, दिनभरि गाडी हाँक्नु, राति आठ बजे बस पुल्चोक नै पुर्‍याएर कीर्तिपुर फर्किनु चालक हर्मिता श्रेष्ठको दैनिकी हो । प्रत्येक दिन उनी ठिक सात बजे आफ्नो रुटको बस चलाउन पुल्चोकस्थित साझा यातायात सहकारी संस्था लिमिटेडको कार्यालय पुग्छिन् । त्यसपछि आफ्नो रुटको बस लिएर दिनभर कुद्छिन् । दिनभर सडकमा कुद्ने उनलाई पहिलोपल्ट देख्नेले पुलुक्क हेर्छन् । धेरैले सम्मान पनि गर्छन् । महिला चालक भएकाले होला, धेरैले सम्मान गर्छन् । बुढाबुढी यात्रीहरूले उनलाई आशीर्वाद दिँदै भन्छन्, ‘रिटायर्ड हुने वेलासम्म काम गर्नुस् । तपाईंको काम देखेर अरू महिलाले पनि सिकून् । तपाईंले चलाएको देखेनन् भने हिम्मत गर्दैनन् । गाडी चलाइरहनू ।’ 

कक्षा ११ सम्म पढेकी उनी बस, मिनिबस, ट्रक, लहरी, कार, मोटरसाइल सबै चलाउँछिन् । धरानमा जन्मिएकी उनले यातायात मजदुरको रूपमा काम गर्न थालेको २५ वर्ष हुन थाल्यो । दुई छोराछोरीकी आमा भएर होला उनी पुरुषसरह ढुक्कले काम गर्न सक्दिनन् । उनी कामकै बिच घरमा पटक–पटक फोन लगाउँछिन् । आठ कक्षा पढ्ने छोरीको हालखबर सोध्छिन् । खाना खाने र खाजा खाने वेला घरमा फोन गर्छिन् । समस्याका बाबजुद उनी आफ्नो पेसामा रमाएकी छिन् । ‘ड्युटी अवेलासम्म गर्‍यो । कहिले जाम हुन्छ । कहिले अर्कोले आएर ठोकिदिन्छ । चौकीमा जानुपर्छ । लामो समय कुर्नुपर्छ । प्यासेन्जर रोक्न नमिल्ने ठाउँमै झर्छु भन्छन् । कहिलेकाहीँ टेन्सन हुन्छ । चुनौती त खेप्नुपर्‍यो नि,’ उनले भनिन् । 

सुरुवाती दिनमा आफ्नै घरमा भएको मारुती भ्यान चलाउन सिकेर यो क्षेत्रमा आएकी उनका लागि अहिले यो रहरको पेसा भएको छ । तर, यसका लागि परिवारको ठुलो सहयोग हुनुपर्ने उनी बताउँछिन् । ‘परिवारको साथले गर्दा यो पेसामा टिकिरहेकी छु । सबैलाई यहाँ टिक्न गाह्रो छ । महिलालाई धेरै जिम्मेवारी हुन्छ,’ उनले भनिन्, ‘यो क्षेत्रमा बिहान हिँडेदेखि बेलुका घर जाने टुंगो हुँदैन । धेरै व्यस्त भइन्छ । घरमा भनेका वेला समय दिन सकिँदैन । त्यसैले सबैजनालाई टिकिरहन गाह्रो छ ।’ यसका लागि सरकारी निकायबाटै काम हुने हो भने महिलाहरू पनि सजिलै आउने उनको मत छ ।

समाज अध्येता कैलाश राई महिलाहरूलाई अझै पनि अनौपचारिक श्रम क्षेत्रमा काम गर्ने वातावरण नभएको बताउँछिन् । भन्छिन्, ‘यातायात मजदुरका रूपमा केही महिला आएका छन् । तर, यो क्षेत्रमा पनि महिलालाई अप्ठ्यारो छ । राजनीतिक सम्बन्ध, सामाजिक पुँजीको हिसाबले पुरुषहरूकै संघसंस्थाको बाहुल्य छ । यस्तो अवस्थामा महिलाहरू आउटसाइडरमा रहन्छन् । सहयोग कम हुन्छ ।’

यतिवेला महिलाहरू सवारीसाधनको स्टेयरिङमा मात्रै होइन, देशै चलाउने स्टेयरिङमा पुगेका छन् । देशले पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ । त्यस्तै महान्यायाधिवक्ता पनि महिला नै पाएको छ । समाजको आधा हिस्सा रहेका महिलाहरू विभिन्न क्षेत्रमा अघि बढिरहेका छन् । यातायात क्षेत्रमा पनि विभिन्न समस्याका बाबजुद महिला चालकहरू काम गरिरहेका छन् । उनीहरू आर्थिक रूपमा आत्मनिर्भर छन् । समाजको रुढिवादी मान्यताले ‘महिलाले गाडी चलाउन हुँदैन’ भने पनि पुराना सामाजिक मान्यतालाई चुनौती दिँदै महिलाहरू अघि बढिरहेका छन् ।