
जिल्लामा तरकारी उत्पादन बढेको छ । अघिलो आर्थिक वर्ष ०८०/८१ को तुलनामा गत आवमा तरकारी उत्पादनमा वृद्धि भएको हो । अघिल्लो आवमा एक लाख ३७ हजार चार सय ४८ मेट्रिकटन मात्र तरकारी उत्पादन भएकामा गत आवमा भने एक लाख ६४ हजार दुई सय १८ मेट्रिकटन तरकारी उत्पादन भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । यो २७ हजार मेट्रिकटनले बढी हो । जिल्लामा व्यावसायिक कृषि खेती गर्ने कृषकको संख्या बढेसँगै तरकारी उत्पादन पनि वृद्धि हुँदै गएको हो ।
पछिल्लो समय कोशीका पहाडी जिल्ला तेह्रथुम, भोजपुर, संखुवासभाको तुलनामा धनकुटाका तरकारी उत्पादनको हिसाबले अगाडि रहेको कृषि ज्ञानकेन्द्र धनकुटाका प्रमुख नरेन्द्र रानाले बताए । धनकुटामा व्यावसायिक रूपमा बन्दाकोपी, काउली, गोलभेँडा, मुला, रायो साग, फूलकोपी, आलु, केराउ, गाजरलगायतका तरकारी उत्पादन हुन्छ । यहाँ उत्पादन भएका तरकारीमध्ये ९० प्रतिशत जिल्लाबाहिर निर्यात हुँदै आएको छ । धनकुटामा उत्पादित तरकारी धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोडसहित छिमेकी देश भारत, बंगलादेश, भुटानलगायतमा स्थानमा निर्यात हुने गरेको छ ।
केन्द्रका अनुसार यहाँ गत आवमा मात्रै बन्दाकोपी ३९ हजार नौ सय ८७, फूलकोपी ११ हजार सात सय २७, मुला १० हजार एक सय ३८ मेट्रिकटन उत्पादन भएको छ । साथै, गाजर तीन हजार ६५, मटरकोसा तीन सय ३३, गोलभेँडा ५६ हजार चार सय २९, आलु ४१ हजार एक सय ३९ र अकबरे खोर्सानी आठ सय मेट्रिकटन उत्पादन भएको केन्द्रले जनाएको छ । यहाँ छथरजोरपाटी गाउँपालिका, महालक्ष्मी नगरपालिका, धनकुटा नगरपालिका र पाख्रीवास नगरपालिकामा बढी मात्रामा तरकारी उत्पादन हुँदै आएको छ ।