
२४ भदौमा काठमाडौंमा भएको जेन–जी आन्दोलनमा महाराजगन्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी जवान उत्तमसिंह थापा मारिए । आन्दोलनकारीले प्रहरीको बिट जलाएर जवान थापालाई डिएसपी भन्दै क्रूर रूपमा कुटीकुटी हत्या गरे । राष्ट्रसेवामा रहेका छोरा गुमेसँगै उनकी वृद्धा आमा निर्मलादेवी थापाले सहारा नै गुमाएकी छिन् ।
सुदूरपश्चिम प्रदेशको दार्चुलाको लेकम गाउँपालिका– ३ लाली घुम्खोलीकी निर्मलाले ११ वर्षअघि श्रीमान् हरिसिंह थापा गुमाइन् । श्रीमान् बितेपछि दुई छोराको सहारामा बाँचेकी निर्मलाकोे जीवनमा दशकभित्रै ठुलो बज्रपात परेको छ ।
गत वर्ष २१ मंसिर ०८१ मा कान्छा छोरा महेश थापा गुमाएकी निर्मलाले एक वर्ष नपुग्दै जेठो छोरो उत्तम पनि गुमाएकी छिन् । कान्छो छोरो गुमाएको नौ महिनामै जेठो छोरा उत्तमको आसमा बाँचेकी निर्मलाको सहारा जेन–जी आन्दोलनले लुटेको छ । महेशको महाकाली नदीमा धार्मिक काम सकेर घर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको थियो । कान्छो छोरा गुमे पनि राष्ट्रसेवामा रहेका जेठो छोराको सहारामा बाँचेकी निर्मला यतिवेला घरका तीन सदस्य गुमेपछि विक्षिप्त अवस्थामा पुगेकी छिन् । निर्मला अहिले दार्चुलाकै घरमा छिन् ।
गाउँमै रहेको कृष्ण माध्यमिक विद्यालयबाट १२ उत्तीर्ण गरेपछि उत्तमलाई प्रहरीमै कार्यरत उनका कान्छाबाबु रूपसिंह थापाले प्रहरी तालिम केन्द्र दिपायलमा कार्यालय सहयोगीका रूपमा काममा लगाएका थिए । तीनपटककोे प्रयासमा ०७३ मा प्रहरी जवान भएका थापाले आधारभूत तालिम सकेपछि उनको प्रदेश प्रहरी गुल्म धनगढीमा पोस्टिङ भएको थियो । प्रहरी जवान थापाका काका रूपसिंहले लामो समय धनगढीमा कार्यरत भतिजाको ६ महिनाअघि मात्रै काठमाडौंमा सरुवा भएको बताए ।
‘दाजुको देहान्त भएपछि म र मेरो जेठोदाजु तेजसिंह थापाले उत्तम र महेशलाई हेरचाह गरेका थियौँ,’ उनले भने, ‘कान्छो भतिजालाई नौ महिनाअघि गुमायौँ, अहिले जेठो भतिजो पनि गुमाएका छौँ । हाम्रो परिवारमा निरन्तर ब्रजपात भएको छ ।’ दुई वर्षअघि प्रहरी नायब निरीक्षक (सइ)बाट सेवा निवृत्त भएका रूपसिंहले उत्तमलाई डिएसपी भन्दै अमानवीय रूपमा कुटीकुटी प्राण लिएका फोटो, भिडियो सार्वजनिक भएको बताउँदै यस्तो निकृष्ट अमानवीय काममा संलग्नमाथि कानुनी कारबाही र पीडित परिवारलाई न्याय दिन अपिल गरेका छन् ।
मृतक थापाका अर्का काका तेजसिंह थापाले उत्तमले ६ वर्षअघि मात्रै जोगबुढाकी पुष्पा भट्टराईसँग प्रेमविवाह गरेको बताए । ‘भतिजा उत्तमको जागिर धनगढी थियो, बुहारी पनि त्यहीँ बस्थिन्, ६ महिनाअघि मात्रै उनको काठमाडौं सरुवा भएको थियो । दाजु र अर्का भतिजा गुमेपछि भाउजुको सुखसयलमा राख्छु भन्थ्यो, त्यही भएर धनगढीमा १० धुर जमिन पनि किनेको थियो, तर उत्तमको सपना जेन–जी आन्दोलनले अधुरै रह्यो,’ उनले भने ।
शिक्षकबाट सेवानिवृत्त भएका तेजसिंहले कान्छा भतिजाको देहान्तसँगै उनकी श्रीमती अस्मिता बोहराले पनि घर छाडेर हिँडेको बताए । ‘यतिवेला हामी घरपरिवार विक्षिप्त भएका छौँ, अझ ठुलो पीडा भाउजु निर्मलामा परेको छ,’ उनले भने, ‘हाम्रो परिवारमा परेको यो अपूरणीय क्षतिको कुनै सीमा नै छैन ।’ राष्ट्रसेवामा खटिएकै क्रममा अमानवीय रूपमा क्र्रूर हत्या भएको बताउँदै उनले अब उत्तमकोे सहारामा बाँचेकी उनकी धर्मपत्नी पुष्पालाई राष्ट्रसेवा गर्न सरकारले मौका दिनुपर्ने बताए ।
उत्तमको आइतबार पशुपतिमै अन्त्येष्टि गरिएको छ । घरपरिवारको दार्चुलास्थित महाकाली नदीमा अन्त्येष्टि गर्ने चाहना भए पनि परिस्थितिले उतै अन्त्येष्टि गरिएको हो । दाहसंस्कारमा उत्तमका काका ईश्वर थापा, काकाका छोरा अमिस थापासहितका आफन्त उपस्थित थिए । उत्तमकी आमा निर्मला, उनकी पत्नी पुष्पासहित थापा परिवारले मुखै हेर्न नपाई उनको अन्त्येष्टि गरियो ।