मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार o६:२३:oo
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

डेढ वर्षदेखि फरार छिपछिपे सहकारी ठगीमा संलग्न राप्रपा सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

एमाले नेता ऋषिकेश पोखरेलकी पत्नीकै शैलीमा अदालतमा उपस्थित भएकै दिन बयान, थुनछेक बहस र धरौटीमा रिहा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o६:२३:oo

सहकारी ठगी प्रकरणमा डेढ वर्षदेखि फरार राप्रपा सांसद गीता बस्नेत अदालतमा हाजिर भएकै दिन १५ लाख धरौटीमा रिहा भएकी छिन् । पूर्वी नवलपरासी (नवलपुर)को कावासोतीस्थित छिपछिपे सहकारीको ठगी प्रकरणमा बुधबार जिल्ला अदालत नवलपुरका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो ।

बस्नेत हाजिर भएकै दिन बयान सकिएपछि थुनछेक आदेश जारी भएको थियो । अदालतको आदेशअनुसार १५ लाख रुपैयाँ बैंक ग्यारेन्टी बुझाएर उनी तारेखमा रिहा भएकी हुन् । लामो समय फरारपछि अदालतमा उपस्थित भएकी उनी एक दिन पनि थुनामा बस्नुपरेन ।

यसअघि एमाले नेता तथा संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलकी पत्नीको मुद्दामा पनि राज्यले यस्तै व्यवहार गरेको थियो । मोरङको उमागौरी सहकारीको रकम हिनामिनामा प्रत्यक्ष जोडिएकी उनकी पत्नी अञ्जला कोइरालालाई पनि प्रहरीले फरार बनाएर मुद्दा दायर गरेको थियो । जबकि उनी घरमै थिइन् । उनी एकैपटक जिल्ला अदालतमा उपस्थित भइन् । त्यही दिन उनको पेसी तोकियो, त्यही दिन थुनछेक बहस भयो र त्यही दिन १० लाख धरौटीमा रिहा भइन् ।

राप्रपा सांसद गीतालाई पनि बयान र थुनछेक बहस सकिएपछि बुधबारै धरौटीमा रिहा गरिएको जिल्ला अदालत नवलपुरका स्रेस्तेदार प्रेमप्रसाद पौडेलले बताए । ‘उहाँ आजै अदालतमा उपस्थित हुनुभएको थियो । बयान र थुनछेक सकिएपछि अदालतको आदेशअनुसार १५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाएर तारेखमा रिहा हुनुभएको छ,’ स्रेस्तेदार पौडेलले भने ।

प्रहरीले अनुसन्धान थालेलगत्तै उनी फरार थिइन् । उनी राप्रपाकी समानुपातिक सांसद हुन् । यसअघि एमाले सांसद ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि यसैगरी हाजिर भएकै दिन धरौटीमा छुटेकी थिइन् ।

बस्नेतविरुद्ध २० जेठ ०८१ मा मुद्दा दायर भएको थियो । तीन हजार १०९ जना बचतकर्ताको १६ करोड ५६ लाख ९४० रुपैयाँ हिनामिना गरेको अभियोगमा ३५ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

सहकारीको पैसा सांसद बस्नेत सञ्चालक रहेको बर्दियाको कृष्णसार रिसोर्टमा लगानी गरिएको थियो । उनका ज्वाइँ रहेका नगेन्द्रबहादुर रिसाल सो सहकारी र रिसोर्ट दुवैका सञ्चालक हुन् । यसरी सहकारीको पैसा धितोसमेत नराखी रिसोर्टमा लगानी गरिएको भन्दै बस्नेतलाई पनि प्रतिवादी बनाइएको थियो ।

बस्नेतकै मिलेमतोमा एकपटक सहकारीको ९५ लाख र अर्काेपटक ५४ लाख रुपैयाँ हिनामिना भएको अभियोगपत्रमा उल्लेख छ । साथै, अन्य समयमा पनि सहकारीको रकम हिनामिनामा उनको भूमिका रहेको भनेर सहकारी सञ्चालकले बयान दिएका थिए ।

सहकारीका अध्यक्ष तथा कार्यालय प्रमुख योगेन्द्र पाण्डेको बयानमा भनिएको छ, ‘...कृष्णसार रिसोर्ट प्रालिका सञ्चालकहरूमा गीता बस्नेत, निजका ज्वाइँ तथा यस सहकारीका सचिव नगेन्द्रबहादुर रिमाल र सञ्जीवकुमार महतो र म बर्दिया जिल्लाको कृष्णसार रिसोर्ट प्रालिको सञ्चालक थियौँ । तर, उक्त रिसोर्टमा लगानी गर्नेलगायत विभिन्न क्षेत्रमा सहकारीको रकम प्रयोग गर्ने कार्य गीता बस्नेत र नगेन्द्रबहादुर रिमालको नै सल्लाहमा हुने थियो ।’

छिपछिपे मात्र नभई चितवनको सनराइज सहकारी ठगीमा पनि बस्नेतको योजना र भूमिका देखिएको छ । पाण्डेको बयानमा थप भनिएको छ, ‘चितवनको सनराइज सहकारीको करोडौँ रकम नगेन्द्रबहादुर रिमाल र गीता बस्नेतको नै योजनामा लगेको पुष्ट्याइँ गर्ने दाखिला भौचरसमेत छानबिनकर्तालाई उपलब्ध गराएको छु ।’ रिमाल आफैँले पनि सहकारीको पैसा रिसोर्टमा लगेर लगानी गर्नु गल्ती भएको बयान दिएका छन् ।

सांसद बस्नेतविरुद्ध चितवनमा पनि अर्काे मुद्दा दायर छ । आफूविरुद्ध मुद्दा दायर भएपछि संसद्बाट उनी बिरामी बिदा लिएर बसेकी छिन् । प्रहरीले पनि डेढ वर्षसम्म उनलाई पक्राउ गर्न चासो दिएको थिएन ।

छिपछिपेमा पनि जिबीकै शैलीमा गरिएको थियो ठगी 
सहकारी ठगीका मुद्दामा चयनमुखी अनुसन्धान र अभियोजन गर्दै आएको आरोप खेपिरहेको प्रहरीले छिपछिपे सहकारी ठगी प्रकरणमा पनि उस्तै भूमिका देखाएको छ । बचतकर्ताको पैसा विभिन्न निजी कम्पनीमा लगानी गर्दा छिपछिपे सहकारी डुबेको थियो । तर, प्रहरीले यसमा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणतर्फ अनुसन्धान गरेको छैन । जबकि जिबी राईका सहकारीबाट यसैगरी रकम दुरुपयोग हुँदा प्रहरीले सहकारीका सञ्चालक मात्र होइन, पैसा गएका कम्पनीका तत्कालीन सञ्चालकलाई समेत मुख्य प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । छिपछिपे सहकारीको ठगीमा प्रहरीले सुरुमा संगठित अपराधतर्फ पनि अनुसन्धान गरेको थियो । तर, संगठित अपराध मुद्दा लगाउँदा पीडितहरूले बचत फिर्ता पाउन कठिन हुन सक्ने भन्दै सरकारी वकिल कार्यालयले सहकारी ठगी मुद्दा मात्र चलाएको थियो । 

छुटाउनुभयो की ?