मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
टेकराज थामी काठमाडाैं
२o८२ भदौ १९ बिहीबार o९:४४:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

६ वर्षमा आधा पनि भएन फास्ट ट्रयाकको काम

निर्धारित समयमै पूरा गर्न प्रतिमहिना २.८५ प्रतिशतले कामको रफ्तार बढाउनुपर्ने 

Read Time : > 3 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o९:४४:oo

बहुप्रतीक्षित काठमाडौं–निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) को काम अझै ५७ प्रतिशत बाँकी छ । हालसम्म भौतिक प्रगति ४२.१३ प्रतिशत मात्रै छ । निर्माण सम्पन्न गर्न सेनाले पाएको डेडलाइन एक वर्ष आठ महिना बाँकी छ । तर, कामको सुस्तताले फास्ट ट्रयाक निर्धारित समयमै सम्पन्न हुनेमा शंका पैदा गरेको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले भने फास्ट ट्रयाक निर्धारित समयमै पूरा हुने प्रतिबद्धता दोहोर्‍याएका छन् । २९ साउनमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका बैठकमा उनले हालसम्म ४३ प्रतिशत काम सम्पन्न भएको मात्रै उल्लेख गरेनन्, बाँकी रहेका ५७ प्रतिशत काम प्राविधिक रूपमा सजिलो प्रकृतिका भएकाले निर्धारित समयमै पूरा हुने दाबीसमेत गरे । ‘फास्ट ट्रयाकको हालसम्म ४३ प्रतिशत काम सम्पन्न भएको छ । बाँकी काम सजिला छन् । काम हुँदै छ । हामी बाँकी काम सयममै पूरा गर्छौँ । त्यसैअनुसार अघि बढिरहेका छौँ,’ उनले भने ।

तर, तथ्यले प्रधानसेनापति सिग्देलको भनाइ खण्डन गर्छ । सेनाले फास्ट ट्रयाक निर्माणको जिम्मा २१ वैशाख ०७४ मा पाएको थियो । दुई वर्ष विनाडिपिआर (विस्तृत परियोजना प्रतिवेदन) काम गर्‍यो । कोरियन कम्पनीले बनाएको डिपिआर १ भदौ ०७६ मा बल्ल स्वीकृत भयो । सेनाले सोही दिनलाई फास्ट ट्रयाक निर्माणको प्रस्थानविन्दु मान्दै आएको छ । सोही दिनबाट गणना गर्दा पनि सेना फास्ट ट्रयाक निर्माणमा संलग्न भएको ६ वर्ष बितिसकेको छ । यस अवधिमा फास्ट ट्रयाक निर्माणको प्रतिवर्ष भौतिक प्रगति ७.०२ प्रतिशत मात्रै देखिन्छ । बाँकी ५७ प्रतिशत काम आगामी एक वर्ष आठ महिनामा पूरा गर्न मुस्किल पर्ने देखिन्छ । निर्धारित समयमा नै काम सक्ने हो भने सेनाले प्रतिमहिना २.८५ प्रतिशतले कामको रफ्तार बढाउनुपर्ने हुन्छ, जुन सहज छैन । 

फास्ट ट्रयाक निर्माणका लागि कुल बजेट दुई खर्ब ११ अर्ब निर्धारण भएको छ । जसमध्ये ९२ अर्ब ८४ करोड रुपैयाँ खर्च भइसकेको छ । जुन कुल बजेटको ४४ प्रतिशत हो । महासेनानी हरि विश्वकर्माले फास्ट ट्रयाकको भौतिक प्रगति आशालाग्दो ढंगले वृद्धि भएको र निर्धारित समयभित्रै सक्ने गरी काम भइरहेको बताए । ‘असार मसान्तमा फास्ट ट्रयाकको भौतिक प्रगति ४२.१३ प्रतिशत पुगेको छ । वित्तीय प्रगति ४४ प्रतिशत छ । सुरुङमार्गको प्रगति पनि आशातीत छन् । त्यसो हुँदा निर्धारित समयभित्रै काम सक्ने गरी सेना लागिरहेको छ,’ उनले भने ।

१३ प्याकेजमा विभाजन गरी निर्माण हुँदै
७०.९७ किमि फास्ट ट्रयाकलाई सेनाले विभिन्न १३ प्याकेजमा विभाजन गरी निर्माण गर्दै आएको छ । जसमध्ये प्याकेज १, २, ३, ४,५, ६, ७, ८(क), ८(ख), ९(क), ९(ख) र १० को काम निर्माणाधीन छ । तर, प्याकेज नम्बर ११ को काम सुरु नै भएको छैन । जसको लम्बाइ करिब ६ किमि छ । यो खण्ड ललितपुरस्थित खोकना–डुकुछाप क्षेत्रमा पर्छ । फास्ट ट्रयाकको प्रस्थानविन्दु मानिएको उक्त खण्डमा हालसम्म मुआब्जासमेत वितरण हुन सकेको छैन । ‘यो राजनीतिक रूपमा सल्टिने समस्या हो । यसमा सेनाको कुनै टिप्पणी छैन । सहजीकरणका काम हुँदै छन् । समस्या समाधानउन्मुख रहेकाले काम चाँडै सुरु हुनेछ,’ महासेनानी विश्वकर्माले भने ।

ललितपुरस्थित खोकनाका स्थानीयले फास्ट ट्रयाकको प्रस्थानविन्दु परिवर्तन गरिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले यस विषयमा प्रधानमन्त्री केपी ओलीलाई समेत गत २६ जेठमा भेटेर ज्ञापनपत्र बुझाएका थिए । फास्ट ट्रयाकको प्रस्तावित प्रस्थानविन्दुले खोकनाको परम्परागत सभ्यता र संस्कृति मासिने स्थानीयको दाबी छ । त्यसो हुँदा यसको प्रस्थानविन्दु डुकुछाप कायम गरिनुपर्ने उनीहरूको माग छ । डुकुछाप हालको प्रस्तावित विन्दुभन्दा साढे पाँच किमि दक्षिणतर्फ पर्छ । सरकारले चार वर्षमै काम सक्न भन्दै २१ वैशाख ०७४ मा फास्ट ट्रयाकको जिम्मा सेनालाई दिएको थियो । निर्धारित समयमा काम भएको भए फास्ट ट्रयाक ०७८ मै सञ्चालनमा आउँथ्यो । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा विवाद, सुरुङ तथा पुल निर्माणमा अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिमा ढिलाइलगायतका कारणले फास्ट ट्रयाक निर्माणको गति अघि बढ्न सकेन । 

विवादकै कारण करिब दुई वर्ष सेनाले डिपिआरकै काम गर्‍यो । १ भदौ ०७६ मा कोरियन कम्पनीले बनाएको डिपिआर स्वीकृत भयो । त्यसपछि मात्रै सेनाले डिपिआरअनुसार काम गर्दै आएको छ । सेनाले फास्ट ट्रयाक निर्माणको सम्झौता मिति डिपिआर स्वीकृत भएको दिनलाई मानेको छ । त्यसवेला ५५.५ किमि सडक र ७१ वटा पुल निर्माणको लागत रकम एक खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ लाग्ने भनिएको थियो । सातवटा सुरुङ र १६ पुलको लागत रकम पनि यसैमा समेटिएका थिए । तर, निर्धारित समयभित्र फास्ट ट्रयाक निर्माण नभएपछि लागत रकम बढेर दुई खर्ब ११ अर्ब पुगेको छ । 

सुरुङमा भने आशातीत प्रगति
फास्ट ट्रयाकमा सेनाले १०.९०१ किमि सुरुङमार्ग निर्माण गरिरहेको छ । जसको ठेक्का चिनियाँ कम्पनीले पाएको छ । सेनाका अनुसार सुरुङमार्गको प्रगति असार मसान्तसम्म ५३.१९ प्रतिशत पुगेको छ । अर्थात् हालसम्म ५.७९९ किमि सुरुङ निर्माण सम्पन्न भइसकेका छन् । जसमध्ये धेद्रे र लेनडाँडा सुरुङमार्गको दुवै खण्ड ब्रेक थ्रु भइसकेका छन् । धेद्रेको लम्बाइ १.६९० किमि छ भने लेनडाँडाको १.६२२ किमि छ । महादेवटार सुरुङमार्गको बायाँ खण्डमा २.२८८ किमि सुरुङ खनिसकिएको छ । सोही सुरुङको दायाँ खण्डमा भने २.०२० किमि खनिएको छ । उक्त सुरुङको कुल लम्बाइ ३.३५५ किमि छ । 

चन्द्रामभिरतर्फको सुरुङमार्ग १९९ मिटर खनिसकिएको छ । जसको कुल लम्बाइ २.२५० किमि छ । त्यसबाहेक देवीचौर, सिसौटार र मौरीभिरको सुरुङमार्ग भने भर्खर मात्रै खन्ने चरणमा पुगेको छ । जसको लम्बाइ क्रमश: १ किमि, ३९० मिटर र ५९४ मिटर छ । सेनाका अनुसार फास्ट ट्रयाकमा पर्ने ८९ वटा पुलमध्ये ८५ पुलको निर्माणका लागि खरिद सम्झौता भइसकेका छन् । जसमध्ये अधिकांश पुलको सुपर स्ट्रक्चर र फाउन्डेसन स्ट्रक्चर बनिसकेका छन् । सडक निर्माणतर्फ ९.३ किमि सडकको सबबेस र पाँच किमि सडकको कालोपत्रे भइसकेको छ ।

छुटाउनुभयो की ?