मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १९ बिहीबार
  • Thursday, 04 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १९ बिहीबार o९:२५:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला क्रिकेटकी उदीयमान खेलाडी पूजा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १९ बिहीबार o९:२५:oo

पछिल्लो समय नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा पूजा महतोले आफूलाई स्थापित गर्दै आएकी छिन् । जुनियरदेखि सिनियर टोलीमा पूजाले अलराउन्ड प्रदर्शन गरेकी छिन् । यू–१९ महिला टोलीको नेतृत्व गर्दै उनले नेपाललाई विश्वकपको यात्रा गराइन् । दायाँहाते ब्याट्सम्यान तथा मध्यम गतिकी बलर उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित खेलाडी बनेकी छिन् । क्रिकेट करिअरमा उनको प्रेरणा स्रोत नै उनका बुवा रञ्जित हुन् । महोत्तरीको गौशालामा जन्मिएकी पूजा रोजगारीका लागि बुवासँगै भारत गएकी थिइन् । 

भारतमै रहँदा उनी क्रिकेटसँग जोडिन पुगिन् । कोभिड महामारीपछि उनले भाइसँगै क्रिकेट प्रशिक्षण सुरु गरिन् । सुरुवाती दिनमा भारतमै रहँदा पूजा भारतीय क्रिकेटर रोहित शर्माबाट प्रभावित बनेकी छिन्। भारतको नयाँदिल्लीमा प्रशिक्षण लिएकी उनी क्यानको नजरमा पर्दै नेपाली टोलीमा जोडिएकी हुन् । यू–१९ विश्वकपमा नेपाली टोलीलाई नेतृत्व गरेकी पूजा संघर्षबाट खारिँदै गएकी छिन् । ‘भाइले क्रिकेट खेल्न थालेको थियो । हामी उसलाई एकेडेमीमा लैजान्थ्यौँ, एक दिन एकेडेमीको प्रशिक्षकले मेरो बुवासँग कुरा गर्दै तिम्री छोरीसँग पनि क्षमता भन्नुभयो,’ पूजाले भनिन्, ‘अनि बुवाले मलाई पनि खेल्नुपर्छ भन्नुभयो र क्रिकेटसँग जोडिएँ ।’

मलेसियामा भएको आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसिया रिजन छनोटमा पूजाले हङकङविरुद्ध राष्ट्रिय टोलीबाट डेब्युको अवसर पाइन् । सो खेलमा उनले तीन ओभरमा एक मेडन राख्दै ५ रन खर्चेर एक विकेट लिइन् । डेब्यु खेलमै उनले ओपनिङ गर्दै १८ बलमा १६ रन बनाइन् । उनले राष्ट्रिय टिमबाट ३७ खेलमा ३० इनिङ्स ब्याटिङ गर्दै दुई अर्धशतकसहित ४३८ रन बनाएकी छिन् । सिनियर राष्ट्रिय टोलीमा उनले ३६ इनिङ्समा २७ विकेट लिएकी छिन् । पूजाले आइसिसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा पनि नेपालका लागि सानदार प्रदर्शन गरिन् ।

विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन
पूजाले विश्वकप छनोट चरणमा नेपालका लागि सर्वाधिक रन बनाएकी थिइन् । सो प्रतियोगितामा उनी दोस्रो सर्वाधिक विकेट लिने बलर बनिन् । पूजाले एसिया छनोटअन्तर्गत कुवेतसँगको खेलमा शतकसहित पाँच विकेट पनि लिएकी थिइन् । सो प्रतियोगितामा २७२ रन बनाएकी पूजाले १० विकेटसमेत लिइन् । पूजाकै कप्तानीमा नेपालले यू–१९ महिला एसिया कप खेलेको थियो । जहाँ पाकिस्तानमाथि सनसनी जित निकाली पूजाले नेपाललाई अघिल्लो चरणमा पुर्‍याइन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष प्रदान गर्ने पल्सर स्पोर्टस् अवार्डअन्तर्गत पिपल्स च्वाइस अवार्डका लागि मनोनयनमा पूजा पनि परेकी छिन् । ‘मेरो लागि परिवारको साथ ठुलो प्रेरणा हो, आमाबुवाको खुसी मेरा लगि ऊर्जा हो,’ पूजा भन्छिन्, ‘समर्थकले गर्दा यहाँसम्म पुगेकी छु ।’ 

छुटाउनुभयो की ?