
सुडानको पश्चिमी डार्फर क्षेत्रमा पहिरोले पूरै गाउँ पुरिँदा करिब एक हजार मानिसको मृत्यु भएको सो क्षेत्र नियन्त्रण गर्ने विद्रोही समूहले जनाएको छ । समाचार एजेन्सीहरूका अनुसार सुडान लिबरेसन मुभमेन्ट–आर्मी (एसएलएम–ए)ले सोमबार राति एक विज्ञप्ति जारी गर्दै डार्फरको मारा पर्वत क्षेत्रमा गएको पहिरोले सिंगै गाउँ पुरिएको हो । सो क्षेत्रमा कैयौँ दिनको भारी वर्षापछि आइतबार पहिरो गएको थियो ।
पहिरोले तारसिन नामक गाउँ पूरै पुरिएको हो । प्रारम्भिक सूचनाका आधारमा गाउँमा बस्ने बासिन्दाको मृत्यु भएको अनुमान गरिएको छ । ‘उक्त गाउँमा करिब एक हजारभन्दा बढी व्यक्ति बस्थे, जसमध्ये एकजना मात्र बाँचेका छन्,’ समूहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘एसएलएम–ए’ले पीडितहरूको शव निकाल्न संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय सहायता एजेन्सीसँग अपिल पनि गरेको छ ।
खार्तुमकेन्द्रित सत्तारुढ ‘सार्वभौम परिषद्’ले पनि माराह पर्वतको पहिरोमा ‘सयौँ निर्दोष मानिसको मृत्यु’ भएको भन्दै शोक व्यक्त गरेको छ । प्रभावित क्षेत्र सडकसँग नजोडिएकाले सवारी साधन पुग्न र उद्धारमा कठिनाई भएको बताइएको छ । देशमा चलिरहेको गृहयुद्धबाट बच्न मानिसहरू यस पहाडी क्षेत्रमा आश्रय खोज्दै गएका थिए ।
उत्तरी डार्फर सुडानको सरकारी सेना र अर्धसैनिक ‘र्यापिड सपोर्ट फोर्स’ (आरएसएफ) बिचको झडपबाट भागेका मानिसले मुख्य आश्रयका लागि मारा पर्वत क्षेत्र रोज्ने गरेका छन् । सुडानको जारी गृहयुद्ध अहिले तेस्रो वर्षमा पनि रोकिने छाँटकाँट छैन । गृहयुद्धकै कारण देश विश्वकै सबैभन्दा खराब मानवीय संकटमा परेको वेला पछिल्लो विपत्ति घटेको हो ।