
प्रभु केबुलकार एन्ड टुरिजम लिमिटेडले प्राथमिक सेयर सार्वजनिक निष्कासन (आइपिओ)का लागि केयर रेटिंग्स नेपालसँग क्रेडिट रेटिङ सम्झौता गरेको छ । उक्त सम्झौतामा प्रभु केबुलकारका वरिष्ठ महाप्रबन्धक सन्दीप दाहाल र केयर रेटिंग्सका प्रतिनिधिले हस्ताक्षर गरेका हुन् । यससँगै प्रभु केबुलकारले दुई महिनाभित्र आफ्नो क्रेडिट रेटिङ सकेर आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ ।
यही कम्पनीको लगानीमा तीनवटा केबुलकार परियोजना अगाडि बढेका छन् । बुटवलस्थित गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र नुवाकोटगढी पाल्पा जाने सिद्धार्थ केबुलकार परियोजना गत ०८१ साल भदौदेखि व्यावसायिक सञ्चालनमा आइसकेको छ । प्रभु केबुलकार नै उक्त सिद्धार्थ केबुलकारको मुख्य लगानीकर्ता कम्पनी हो ।
त्यस्तै, प्रभु केबुलकारकै लगानीमा बाजुरा, बडिमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा केबुलकार निर्माण गरी सञ्चालन गर्ने तयारीसमेत रहेको कम्पनीले जनाएको छ ।
केबुलकार परियोजना निर्माणमा क्रियाशील यस कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ भने यो कम्पनी ऋणमुक्त कम्पनी रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित कम्पनी हो । कम्पनीले आइपिओबाट आउने सम्पूर्ण रकम इच्छाकामना केबुलकार र बडिमालिका केबुलकार निर्माणमा खर्च गर्ने जनाएको छ ।