१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७६ असार ६ शुक्रबार ०७:०१:००
Read Time : > 1 मिनेट
विश्व

१४ वर्षपछि चिनियाँ  राष्ट्रपतिको उत्तर कोरिया भ्रमण

Read Time : > 1 मिनेट
२०७६ असार ६ शुक्रबार ०७:०१:००

चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका छन् । दुईदिने उत्तर कोरिया भ्रमणका क्रममा बिहीबार प्योङयाङ पुगेका सीले किमसँग भेट गरेका हुन् । चीनका राष्ट्रपति र किमबीचको यो पाँचौँ भेटवार्ता हो भने राष्ट्रपति सीको पहिलो उत्तर कोरिया भ्रमण हो । उत्तर कोरिया भ्रमणका क्रममा राष्ट्रपति सीले उत्तर कोरियाको आणविक कार्यक्रम र आर्थिक विषयका बारेमा छलफल गर्नेछन् । चीन उत्तर कोरियाको मुख्य व्यापार साझेदार राष्ट्र हो । जापानमा जी २० को सम्मेलन हुनुभन्दा एक साताअघि सीले उत्तर कोरियाको भ्रमण गरेका छन् । जी २० सम्मेलनका अवसरमा सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । हनोईमा ट्रम्प र किमबीचको दोस्रो शिखर वार्तापछि सीले पहिलोपटक किमलाई भेटेका हुन् । फेब्रुअरीमा सम्पन्न सो वार्ता विनानिष्कर्ष टुंगिएको थियो । ट्रम्पसँग वार्ता गर्नुअघि किमले चीनका राष्ट्रपतिसँग भेट गरेका थिए ।

के चाहन्छ चीन ?
उत्तर कोरियामा स्थिरता र प्योङयाङसँगको आर्थिक सहकार्य चीनको मुख्य एजेन्डा रहेको छ ।  उत्तर कोरियाको आणविक कार्यक्रमबारे हुने वार्तामा आफू महत्वपूर्ण पक्ष भएको सुनिश्चिततासमेत उसले गर्दै आएको छ । कम्युनिस्ट शासन भएका दुवै देश पुराना मित्रराष्ट्र हुन् । तर, प्योङयाङको आणविक महत्वाकांक्षालाई बेइजिङले आलोचना गरेसँगै दुई देशबीचको सम्बन्ध केही बिग्रिएको छ । सी भ्रमणका अवसरमा परियोजनामा सहकार्य गर्ने विषयमा दुई देशबीच सम्झौता हुने चाइना डेलीले जनाएको छ ।  त्यस्तै, उत्तर कोरियाको रोदोङ सिनमुनले राष्ट्रपति सीले आणविक वार्तालाई सहयोग गरेको उल्लेख गर्दै अगाडि लेखेको छ, ‘कोरियाली प्रायद्वीपको समस्या समाधान गर्न चीनले उत्तर कोरियालाई उचित मार्गनिर्देश गरेको छ ।’

 किन गरे सीले भ्रमण ?
राष्ट्रपति सी पछिल्लो १४ वर्षमा पहिलोपटक उत्तर कोरियाको भ्रमण गर्ने पहिलो चिनियाँ नेता हुन् । तसर्थ सीको भ्रमण उत्तर कोरियाली नेताका लागि रणनीतिक, आर्थिक, व्यापारिकलगायत दृष्टिकोणबाट महत्वपूर्ण छ ।  दुई नेताबीच उत्तर कोरियाको अवरुद्ध आणविक वार्ताबारे छलफल हुनेछ । ट्रम्पसँग सम्पन्न हनोई शिखर वार्ता विफल हुनुको कारणबारे दुई नेताले समीक्षा गर्ने बताइएको छ । राष्ट्रपति सीले उत्तर कोरिया र अमेरिकाबीचको सम्भावित वार्ताबारे किमको धारणा बुझ्ने र जी २० बैठकका अवसरमा ट्रम्पलाई जानकारी गराउन सक्ने विज्ञहरूले बताएका छन् । दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकी पारेर चिनियाँ राष्ट्रपति उत्तर कोरिया आएकाले उनको भ्रमणलाई निकै अनौठो मान्न नपर्ने बिबिसीले टिप्पणी गरेको छ । जी २० सम्मेलनपूर्व भएको भ्रमणले केही सांकेतिक महत्व राख्ने विज्ञहरूको भनाइ छ ।

के चाहन्छ उत्तर कोरिया ?
चीनका राष्ट्रपति सीको भ्रमणबाट किम चीनको सहयोग उत्तर कोरियामा अझै जारी छ भन्ने सन्देश विश्व समुदायलाई दिन सफल भएका छन् । अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण उत्तर कोरियाको अर्थतन्त्रमा मन्दी छाएको छ । बारम्बारको आणविक गतिविधि र क्षेप्यास्त्र परीक्षणका कारण राष्ट्रसंघको अगुवाइमा अन्तर्राष्ट्रिय समुदायले उसमाथि प्रतिबन्ध लगाउँदै आएको छ । तर, चीन उत्तर कोरियाको ठूलो व्यापार साझेदार राष्ट्र हो । उत्तरमाथि लागेको प्रतिबन्धलाई समर्थन गरेको चीनले प्योङयाङले आणविक मोह त्यागेमा त्यस्ता प्रतिबन्ध हटाउन सकिने बताउँदै आएको छ ।

उत्तर कोरियाको उत्पादनको मुख्य गन्तव्य चीन हो । ‘खनिज, माछा, टेक्सटाइललगायत उत्तर कोरियाका सामग्री निर्यातका लागि चीन मुख्य गन्तव्य हो,’ उत्तर कोरिया विश्लेषक पिटर वार्ड भन्छन् । 

बेइजिङले पनि प्राचीनकालदेखि नै उत्तर कोरियाका औद्योगिक उत्पादन र घरपरिवारमा प्रयोग हुने सामग्री निर्यात गर्दै आएको छ । तर, प्रतिबन्धले दुई देशबीचको आयात–निर्यात प्रभावित भएको छ । ‘चीन र उत्तर कोरियाबीच आयात–निर्यात हुने सामग्रीमाथि राष्ट्रसंघले प्रतिबन्ध हटाइदेओस् भन्ने चीन चाहन्छ,’ वार्ड भन्छन् । तसर्थ चीनको अगुवाइमा आफूमाथि लाग्दै आएको अन्तर्राष्ट्रिय प्रतिबन्ध तत्काल हटोस् भन्ने उत्तर कोरिया चाहन्छ ।