
नेपाल मेगा कलेज बबरमहलमा अध्ययनरत तुलसा ढकालले ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट ‘बिबिएम’ प्रथम सेमेस्टरमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएकी छिन् । उनले ‘बिबिएम’ प्रथम सेमेस्टरमा ३.९८ जिपिए प्राप्त गरी सर्वोत्कृष्ट नतिजा हासिल गरेकी हुन् ।
त्रिभुवन विश्वविद्यालय बिबिएम प्रथम सेमेस्टरमा तुलसाको भन्दा धेरै अंक कसैको पनि नभएकाले उनी नै यस सेमेस्टरमा त्रिवि प्रथम भएको कलेजका अध्यक्ष गोपाल खनालले बताए ।
शैक्षिक जगतमा नेपाल मेगा कलेज छोटो समयमा नै शैक्षिक गुणस्तर उकास्न र शैक्षिक प्रतिस्पर्धामा आफूलाई सर्वोत्कृष्ट स्थानमा पुर्याउन सफल भएको बताउँदै अध्यक्ष खनालले भने, ‘यो सफलता विद्यार्थी र शिक्षकको निरन्तर मिहिनेत र लगावको प्रतिफल हो ।’
यस कलेजमा त्रिविसँग सम्बन्धन प्राप्त विषयहरूको पठनपाठन हुन्छ । यहाँ बिबिएम, बिएसडब्लू, बिसिए, एमबिएस, बिबिएस लगायतका विषयकाे पठनपाठन हुँदै आएको छ।
यस कलेजमातहतमा सञ्चालित नेपाल मेगा स्कुल तथा प्लस टु स्तरको नतिजासमेत सर्वोत्कृष्ट छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा समेत यस कलेजले सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो ।