मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
पवन तिमिल्सिना काठमाडाैं
२o८२ भदौ ३ मंगलबार o७:५o:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे ६ अर्ब लगानी रहेको आइएमएफमा थप तीन अर्बको सेयर किन्दै नेपाल

विश्व बैंक, एडिबी, आइएमएफजस्ता अन्तर्राष्ट्रिय संगठनमा नेपालको सेयर १२ अर्ब २७ करोड नाघ्यो

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार o७:५o:oo
  • मताधिकारसँगै ऋणमाथिको पहुँच बढाउन कोटा बढाइँदै
  • चालू वर्षमा अन्तर्राष्ट्रिय संगठनहरूमा चार अर्ब सेयर लगानी गर्ने लक्ष्य

नेपालले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)मा आफ्नो सेयर हिस्सा ५० प्रतिशतले बढाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयअनुसार आर्थिक वर्ष ०८१/८२ सम्म आइएमएफमा नेपालको सेयर लगानी ६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ छ । आइएमएफमा थप तीन अर्ब सेयर लगानीको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाइएको अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका उपसचिव कमलप्रसाद भट्टराईले जानकारी दिए । उनले भने, ‘आइएमएफले सदस्य राष्ट्रहरूको कोटा बढाउने निर्णय यसअघि नै गरिसकेको छ । अब सम्बन्धित देशले त्यसलाई स्वीकार गर्ने वा नगर्ने भन्ने हुन्छ । नेपालले आइएमएफको सदस्य राष्ट्रको हैसियतमा विस्तारित कर्जा सुविधा (इसिएफ)अन्तर्गत ऋण सुविधा लिइरहेको छ । भविष्यमा विदेशी मुद्राको संकट आउन नदिन र संगठनमा आफ्नो मताधिकार कायम राख्न पनि लगानी गर्नुपर्ने हुन्छ ।’

सन् २०२३ मै आइएमएफको बोर्ड अफ गभर्नर्सले कोटाको १६औँ पुनरावलोकन गर्दै सदस्य राष्ट्रहरूको कोटामा (सेयर) ५० प्रतिशतले बढाउने निर्णय गरेको थियो । आइएमएफमा हाल नेपालको कोटा १५ करोड ६९ लाख एसडिआर छ । यो कुल कोटाको ०.०३ प्रतिशत हो । कोटाका आधारमा नेपालसँग अहिले तीन हजार २१ मत छ । यो मत कुल मत संख्याको ०.०६ प्रतिशत हो । संयुक्त राज्य अमेरिकाको आइएमएफ कोटा ८२ हजार नौ सय ९४ दशमलव २ एसडिआर छ । यो कुल कोटामध्ये १७.४२ प्रतिशत हो । अमेरिकासँग आठ लाख ३१ हजार तीन सय ९४ मत छ । यो कुल मतको १६.४९ प्रतिशत हो । भारतसँग आइएमएफ कोटा १३ हजार एक सय १४ दशमलव ४ एसडिआर छ । यो कुल कोटाको २.७४ प्रतिशत हो । भारतसँग एक लाख ३२ हजार पाँच सय ९६ (२.६३ प्रतिशत) मताधिकार छ ।

आइएमएफका सदस्य राष्ट्रहरूको बिचमा अन्तर्राष्ट्रिय भुक्तानी सजिलो बनाउन, ऋण तथा विदेशी मुद्रा सञ्चिति मजबुत बनाउन प्रयोग हुने अन्तर्राष्ट्रिय रिजर्भ मुद्रा हो । यो विश्वका पाँच ठुला मुद्राको सिंगो टोकरी हो । अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र पाउन्ड स्टर्लिङको औसतलाई गणना गरी एसडिआरको मूल्य निर्धारण गरिन्छ, त्यसैले यो स्थिर हुन्छ ।

आइएमएफको कोटाको २५ प्रतिशत हिस्सा एसडिआरको मूल्यमा आइएमएफको खातामा जम्मा गरिन्छ भने ७५ प्रतिशत नेपाली मुद्रामा नेपाल राष्ट्र बैंकले आइएमएफले प्रयोग गर्न मिल्ने गरी सञ्चित खातामा राख्छ ।

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपाललाई विस्तारित कर्जा सुविधा (इसिएफ)अन्तर्गत छैटौँ समीक्षामार्फत चार करोड २७ लाख ऋण दिने निर्णय गरिसकेको छ । यो पाएपछि नेपालले इसिएफअन्तर्गत प्राप्त गरेको कुल रकम ३३ करोड १८ लाख डलरबराबर हुनेछ ।

आइएमएफमा कोटा बढाउँदा के हुन्छ ?
आइएमएफको कोटा भनेको कुनै पनि संगठनको सदस्यता शुल्क वा सेयर लगानीबराबर नै हो । सदस्य राष्ट्रले आइएमएफलाई दिनुपर्ने अधिकतम आर्थिक योगदान कोटाले निर्धारण गर्छ । त्यस्तै, आइएमएफको निर्णय प्रक्रियामा सदस्य राष्ट्रको भोटिङ शक्ति कोटामाथि नै निर्भर हुन्छ । आइएमएफमा एक लाख एसडिआरबराबर एउटा मत हुन्छ ।

सदस्य राष्ट्रले आइएमएफबाट सामान्य अवस्थामा लिन सक्ने ऋणको अधिकतम सीमा पनि कोटाले निर्धारण गर्छ । कुनै पनि देशले आइएमएफ कोटाको एक वर्षमा दुई सय प्रतिशतसम्म ऋण लिन पाउँछ । एक वर्षभन्दा बढी समयका लागि यो सीमा ६ सय प्रतिशतसम्म हुन्छ ।

अन्तर्राष्ट्रिय संगठनहरूमा नेपालको सेयर लगानी १२ अर्ब २७ करोड नाघ्यो
विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंक (एडिबी)जस्ता अन्तर्राष्ट्रिय संगठनमा नेपालले आर्थिक वर्ष ०८१/८२ सम्ममा १२ अर्ब २७ करोड ६१ लाख ८६ हजार ३४ रुपैयाँबराबर सेयर लगानी गरिसकेको छ । अघिल्लो आर्थिक वर्ष ०८०/८१ मा यी संगठनहरूमा नेपालको सेयर लगानी ११ अर्ब ७३ करोड ७८ लाख १३ हजार ३१ रुपैयाँ थियो । एक वर्षमा नेपालले यी संगठनमा ५३ करोड ८३ लाख ७३ हजार दुई रुपैयाँबराबर सेयर लगानी गरिसकेको छ ।

आव ०८१/८२ मा विश्व बैंकमा नेपालले १९ करोड सात लाख ६७ हजार नौ सय ८० रुपैयाँबराबर सेयर लगानी गरेको थियो । विश्व बैंकमा हालसम्म नेपालको ४१ करोड ५८ लाख १३ हजार आठ सय २७ रुपैयाँ सेयर लगानी छ । त्यस्तै, एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)मा आव ०८१/८२ मा नेपालले २२ करोडको लगानी गरेको छ । हालसम्म यो संगठनमा नेपालको एक अर्ब ९२ करोड ४८ लाख २१ हजार ६ सय ८० रुपैयाँ लगानी भइसकेको छ ।

दक्षिण एसियाली राष्ट्रहरूको संगठन सार्क विकास कोषमा नेपालले गत आवमा १२ करोड ७६ लाख पाँच हजार २२ रुपैयाँ लगानी गरेको थियो । हालसम्म यो कोषमा नेपालको दुई अर्ब ६८ करोड ८३ लाख ८९ हजार पाँच सय ३४ रुपैयाँ सेयर लगानी छ । अन्तर्राष्ट्रिय पुनर्निर्माण एवं विकास बैंक (आइबिआरडी)मा हालसम्म नेपालले २३ करोड २९ लाख रुपैयाँ सेयर लगानी गरेको छ । एसियाली विकास बैंक एडिबीमा नेपालको ४२ करोड ६६ लाख ४५ हजार चार सय ७३ रुपैयाँ सेयर लगानी छ ।

यो वर्षमा सरकारले चार अर्बको सेयर लगानी गर्ने
चालू आर्थिक वर्ष ०८२/८३ मा सरकारले अन्तर्राष्ट्रिय संगठनहरूमा चार अर्ब रुपैयाँ सेयर लगानी गर्ने लक्ष्य लिएको छ, जसमा आइएमएफकै लागि तीन अर्ब छुट्याइएको छ । यो वर्ष विश्व बैंक समूहमा नेपालले ४० करोड रुपैयाँ सेयर लगानी गर्नेछ । त्यस्तै, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)मा सरकारले ३१ करोडको सेयर लगानी गर्ने उल्लेख छ । वैदेशिक सरकार वा संघ–संस्थामा सेयर लगानीका लागि २९ करोड रुपैयाँ विनियोजित छ ।