मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
इजरायली राष्ट्रपति हरजोग र सभामुख ओहानासँग हमासको नियन्त्रणमा रहेका विपिन जोशीका आमा र बहिनीको भेट ।
२o८२ भदौ ३ मंगलबार o८:५२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विपिन जोशीको परिवार बिहीबार फर्किँदै : इजरायलका सेनाप्रमुखदेखि राष्ट्रपतिसँग भेटवार्ता

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार o८:५२:oo

दुई वर्षदेखि हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीको परिवार बिहीबार स्वदेश फर्किने भएका छन् । अघिल्लो सोमबारदेखि इजरायलमा रहेका विपिनका परिवारले राष्ट्रपति आइज्याक हरजोग, सभामुख अमिर ओहाना, विदेशमन्त्री गिदोन साअर, प्रधानमन्त्रीका सल्लाहकार, इजरायली डिफेन्स फोर्सका प्रमुख जनरल रभ अलुफ इयाल जमिरसँग भेटवार्ता गरेका छन् ।

गत मंगलबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका सल्लाहकार, सेनाप्रमुख जमिरसँग भेटेका उनीहरूले आइतबार राष्ट्रपति हरजोग र सभामुख ओहानासँग भेटेका छन् । सोमबार विदेशमन्त्री साअरसँग उनीहरूको भेट भएको हो । २३ असोज ०८० असोज (७ अक्टोबर २०२३)मा हमास समूहको अपहरणपछि प्यालेस्टाइनको गाजामा बन्धक बनाइएको विश्वास गरिएका कञ्चनपुरका विपिनको अवस्था अझै यकिन छैन ।

इजरायल सरकारको व्यवस्थापन र कार्यतालिकामा गएका विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले सबै इजरायली अधिकारीलाई विपिनको छिटो खोजी गरिदिन अनुरोध गरेका छन् । सबै भेटवार्तामा सहभागी नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार राष्ट्रपतिदेखि सेनाप्रमुख सबैले विपिनसहित हमासको बन्धक अवस्थामा रहेका सबैजनाको मुक्तिका लागि इजरायल र विश्व समुदाय नै प्रयत्नशील रहेको बताएका छन् । उनीहरूले परिवारलाई सहानुभूतिसमेत व्यक्त गरेका छन् ।

परिवारका सदस्यले विपिन अपहरणमा परेको किबुज आलिमुमको पनि भ्रमण गरेका थिए । परिवारको भ्रमणलाई इजरायलको विदेश मन्त्रालयस्थित एसिया प्यासिफिक डिभिजनअन्तर्गत दक्षिण एसिया हेर्ने अधिकारीले समन्वय गरेका छन् । भ्रमणको व्यवस्थापन र समन्वय इजरायल सरकारले गरेको छ । इजरायलले अमेरिकासँगको समन्वयमा उनीहरूलाई संयुक्त राष्ट्रसंघको आसन्न महासभामा पनि लैजाने तयारी गरेको छ, तर यसबारेमा नेपाल सरकारसँग इजरायलले समन्वय गरेको छैन ।

‘अमेरिकाले परिवारलाई भिसा पनि दिइसकेको जानकारी पाएका छौँ, तर नेपाल सरकारसँग उनीहरूको सम्भावित भ्रमणका बारेमा अहिलेसम्म समन्वय भएको छैन,’ प्रधानमन्त्री केपी ओली निकटस्थ स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘इजरायल जाने हदसम्म त ठिकै छ, तर राष्ट्रसंघमा इजरायलको रुचिअनुसार विपिनका परिवारलाई लैजाने विषय स्वाभाविक लागेको छैन ।’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल सरकारको समन्वयमा विपिनको परिवारको इजरायल भ्रमण भएको जानकारी दिए ।

नेपाली राजदूत पण्डितले इजरायली राष्ट्रपतिसमक्ष परिवारजनले विपिनको शीघ्र रिहाइका लागि पहलका लागि अनुरोध गरेको बताए । इजरायलको राजधानी जेरुसेलममा राष्ट्रपतिपछि इजरायली संसद्का सभामुखसँगको भेटमा पनि परिवारजनले त्यही आग्रह गरेको थियो ।

‘एक असल मित्रवत् सम्बन्ध भएको देशको एक नागरिक विपिन आफ्नै नागरिकजस्तो हामीलाई लागेको छ । विपिनको रिहाइका लागि म र मेरो सरकारबाट हरदम कोसिस भइरहेको छ,’ राष्ट्रपतिलाई उद्धृत गर्दै नेपाली दूतावासले भनेको छ, ‘नेपाल सरकारबाट पनि यस सम्बन्धमा सम्बन्धित अरब देशहरूसँग पुन: वार्ता हुन सके विपिनको रिहाइमा थप बल पुग्ने थियो ।’ इजरायलका सभामुखले हालै नेपालका समकक्षीसँग जेनेभामा भएको भेटमा विपिनको रिहाइका सम्बन्धमा छलफल भएको स्मरण गरेका थिए ।

हमासको हमलामा दुई वर्षअघि १० नेपालीले ज्यान गुमाएका थिए भने विपिनलाई हमास समूहले अपहरण गरेर एक हजार मिटर दक्षिणतिर हमास नियन्त्रित गाजापट्टी लगेका थिए । उनी अझै हमास समूहको कब्जामा रहेको इजरायली अधिकारीहरूको विश्वास छ । तर, अपहरणपछिको अवस्थाबारे इजरायल सरकार जानकार छैन भने हमास समूहले पनि केही सार्वजनिक गरेको छैन ।

के भन्छन् प्रधानमन्त्री र परराष्ट्रमन्त्री ? 

प्रधानमन्त्री केपी ओलीले इजरायलमा हमास समूहले बन्धक बनाएका विपिनको शीघ्र रिहाइको पहल नेपालको जिम्मेवारी भएको बताएका छन् । ओलीले इजरायलका राष्ट्रपतिसँग परिवारजनको भेटपछि सामाजिक सञ्जालमा विपिनको पहलका लागि गरेको प्रयास उल्लेख गरेका छन् ।

‘मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत ७ चैत र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत २८ फागुनमा मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ । सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हरसम्भव पहलमा जुटिरहेको छ,’ ओलीले भनेका छन् । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको पनि उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पनि हमास समूहको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि परराष्ट्रले अधिकतम कूटनीतिक पहल जारी राखेको बताएकी छिन् । उनले परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि यो मुद्दालाई प्राथमिकतामा राखेर काम सुरु गरेको र एक वर्षयता सबै अन्तर्राष्ट्रिय मञ्चमा विपिनको रिहाइका लागि विशेष आग्रह गर्दै आएको उल्लेख गरेकी छिन् ।

परराष्ट्रमन्त्री राणाले यो मुद्दालाई प्राथमिकतामा राखेर हरसम्भव प्रयास गरिरहेको सामाजिक सञ्जालमा उल्लेख गरेकी छिन् । विपिनका परिवारजन परराष्ट्र मन्त्रालयको परामर्शमा र इजरायल सरकारको सहयोगमा इजरायल पुगेको उनको भनाइ छ ।