मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३ मंगलबार
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३ मंगलबार ११:५२:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टेलिकमले गण्डकी र लुम्बिनीमा फाइबर बिछ्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३ मंगलबार ११:५२:oo
  • मध्यपहाडी लोकमार्गमा एक हजार नौ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याइने, दुई प्रदेशका एक सय ९४ स्थानीय पालिकामा उच्च क्षमताको सूचना महामार्ग निर्माण हुने

सरकारले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबरको नेटवर्क बनाउने जिम्मा नेपाल टेलिकमलाई दिएको छ । सरकारी स्वामित्वको टेलिकमले कोषको रकम परिचालन गरेर दुई प्रदेशमा एक हजार नौ सय किलोमिटर लम्बाइको अप्टिकल फाइबर नेटवर्क निर्माण गर्ने भएको हो ।

सरकारको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले गण्डकी र लुम्बिनीमा अप्टिकल फाइबर बिछ्याउने आयोजनाको जिम्मा टेलिकमलाई दिएको हो । कोष परिचालन गरी गण्डकी र लुम्बिनी प्रदेशमा अप्टिकल फाइबर नेटवर्कमार्फत सूचना महामार्ग निर्माणका लागि प्राधिकरण र नेपाल टेलिकमबिच गत शुक्रबार नै समझदारी भएको हो ।

‘दूरसञ्चार ऐन, २०५३ को दफा २० बमोजिम नेपाल सरकारको निर्देशनअनुसार प्राधिकरण र नेपाल टेलिकमबिच कोष (आरटिडिएफ) परिचालन गरी गण्डकी प्रदेश र लुम्बिनी प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग तथा उत्तर–दक्षिण राजमार्गमा अप्टिकल फाइबर नेटवर्कमार्फत सूचना महामार्ग निर्माण तथा सञ्चालन गर्ने आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङको उपस्थितिमा प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारी र नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सबिना मास्के प्रधानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार ९० दिनभित्र टेलिकमले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) प्राधिकरणसमक्ष पेस गर्नुपर्नेछ । त्यस्तै, एक सय २० दिनभित्र आयोजना कार्यान्वयनका लागि प्राधिकरण र टेलिकमबिच सम्झौता गरिनेछ ।