मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
Invalid date format ११:५७:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

एक अर्ब ६९ करोडमा बनाइएको भ्युटावरको मासिक आम्दानी ६ लाख ७९ हजार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:५७:oo

दमकमा निर्माण गरिएको भ्युटावरलाई बिजनेस कम्प्लेक्स नाम दिएर व्यापारिक केन्द्र बनाउने घोषणा गरिए पनि सञ्चालनमा आएको नौ महिना बित्दा पनि अवलोकन केन्द्रका रूपमा सीमित भएको छ । गत २३ मंसिरमा प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्दै भ्युटावरले ठुला–ठुला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीलाई आकर्षित गर्नुका साथै देशकै महत्वपूर्ण व्यापारिक केन्द्र बन्ने दाबी गरेका थिए । तर, राज्य कोषबाट एक अर्ब ६९ करोड खर्चिएर बनाएको भ्युटावरले एक महिनामा ६ लाख ७९ हजार मात्रै आम्दानी गरेको छ । व्यापारिक कम्प्लेक्स भने पनि अवलोकन केन्द्रका रूपमा मात्र प्रयोग भएको भ्युटावरमा साउनमा ६ हजार सात सय १३ जनाले अवलोकन गरेका छन् ।

३१ वैशाखको मन्त्रिपरिषद् बैठकले दमक भ्युटावरलाई शुल्क लिएर अवलोकन गर्न पाइने स्वीकृति दिएसँगै १ साउनबाट सर्वसाधारणले अवलोकन गर्न पाएका छन् । प्रतिव्यक्ति एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको अवलोकनकर्ताको सवारीसाधनका लागि भने छुट्टै शुल्क लाग्ने निर्णय भएको थियो ।

एक महिनामा ६ हजार सात सय १३ जनाबाट पार्किङ र अवलोकन शुल्कबापत ६ लाख ७९ हजार दुई सय रुपैयाँ संकलन भएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख रमेश थिङले जानकारी दिए । तर, भ्युटावरबाट उठेको शुल्कले सञ्चालन खर्च मात्र धान्ने देखिएको छ । भ्युटावर सञ्चालनका लागि १२ जना कर्मचारी राखिएको सघन सहरी झापा प्रमुख थिङले जानकारी दिए । त्यसका लागि मासिक तीन लाख ३७ हजार खर्च हुन्छ । यस्तै, बिजुलीबापत मासिक दुई लाख ५० हजार खर्च हुने अनुमान गरिएको उनले बताए । सर्वसाधारणका लागि खुला नगर्दा पनि एक लाख हाराहारी बिजुलीको बिल आउँथ्यो । ‘यो एक महिनामा बिजुलीको बिल आएको छैन,’ थिङले भने, ‘तर, दुई लाख ५० हजार हाराहारी बिल आउने अनुमान गरेका छौँ । अहिलेको खर्च कर्मचारी र बिजुलीमा हो ।’ यहाँबाट उठेको शुल्क सीधै भ्युटावर सञ्चालनका लागि खर्च गर्न पाइँदैन । रकम सीधै सरकारको राजस्व खातामा जाने सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख थिङले बताए । ‘यहाँबाट उठेको रकम सीधै राजस्व खातामा दाखिला हुन्छ । यो भ्युटावर सञ्चालनका लागि प्रयोग गर्न पाइँदैन । सरकारले भ्युटावर सञ्चालनका लागि बजेट विनियोजन गर्ने भनेको छ । तर, अहिलेसम्म विनियोजन भएको छैन । हामीले एक महिनाको तलब कर्मचारीलाई दिएका पनि छैनौँ । अब दश दिनभित्र विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन समितिलाई हस्तान्तरण गर्छौँ । उसैले कर्मचारीको तलब र बिजुलीको बिल तिर्छ,’ उनले भने, ‘यदि समितिलाई हस्तान्तरण नगर्ने हो भने हामीले कार्यालयबाट भ्युटावर सञ्चालन गर्नुपर्छ । त्यो सम्भव हुँदैन । हामीले हात उठाउनुपर्ने अवस्था हुन्छ । हामीले कहाँबाट व्यवस्थापन गर्नु ? तसर्थ, हामी समितिलाई बुझाउन आतुर छौँ ।’

गत मंसिरमा निर्माण कम्पनीले भ्युटावर हस्तान्तरण गरेयता नै भ्युटावरको खर्च सघन सहरी तथा भवन निर्माण कार्यालयले गर्दै आएको उनले बताए । मंसिरदेखि असार मसान्तसम्म मासिक करिब दुई लाख खर्च हुँदै आएको उनको भनाइ छ । त्यसवेला भ्युटावर रेखदेखका लागि तीनजना मात्र कर्मचारी थिए । ‘सात महिनासम्म हामीले कार्यालय (सघन सहरी)को खर्चले नै भ्युटावरको खर्च धान्यौँ,’ उनले भने ।

सहरी विकास मन्त्रालयका प्रवक्ता नारायण मैनालीले भदौभित्रमा सघन सहरी तथा भवन निर्माण आयोजना झापाबाट विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन समितिलाई भ्युटावर हस्तान्तरण भइनसकेको बताए ।

उनले भदौ महिनाभित्र हस्तान्तरण हुने र त्यसपछि भ्युटावर समितिले नै सञ्चालन गर्ने जानकारी दिए । हस्तान्तरण नभएसम्मका लागि सञ्चालन खर्च सघन सहरी तथा भवन निर्माण आयोजना झापाले नै व्यहोर्नुपर्ने बताए । भ्युटावर निजी क्षेत्रलाई लिजमा सञ्चालनमा दिने गरी तयारी भइरहेको उनले बताए । ‘हामी (सहरी विकास मन्त्रालय) लिजमा दिन नियमावली बनाइरहेका छौँ,’ मैनालीले भने, ‘नियमावली अर्थ र कानुन मन्त्रालयमा पठाउँछौँ । स्वीकृत भएर आएपछि लिजमा दिनका लागि प्रक्रिया अघि बढाउँछौँ ।’