
ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले घरेलु लिगमा करिअरकै ठुलो हार व्यहोरेका छन् । ब्राजिलियन सिरी ‘ए’ लिगमा नेमार आबद्ध सान्तोसले आइतबार राति भास्को दा गामासँग प्रतिस्पर्धा गरेको थियो । सान्तोस आफ्नै घरेलु मैदानमै ६–० ले पराजित भयो । भास्कोले ६ खेलपछि लिगमा पहिलो जित निकालेको हो । १७ वर्षपछि भास्कोले लिगमा पहिलोपटक पूर्वविजेतामाथि ६ गोलअन्तरले जित निकाल्यो ।
फराकिलो हार व्यहोरेपछि नेमार आँसु झार्दै मैदानबाट बाहिरिए । सान्तोसले घरेलु मैदानमा ६ गोलको अन्तरमा पराजित भएको पहिलोपटक हो । आठपटकको विजेता सान्तोस रेलिगेसन जोनभन्दा दुई अंकले पछाडि छ । अनपेक्षित नतिजा व्यहोरेपछि सान्तोसले प्रशिक्षक सेबेर जाभियरलाई तत्कालै बर्खास्त गरेको छ । भास्कोलाई जित दिलाउन लिभरपुलका पूर्वखेलाडी फिलिपे काउन्टिन्होले दुई गोल गरेका थिए ।
नेमारले सान्तोसबाट एक गोल पनि फर्काउन नसक्दा लाज लागेको प्रतिक्रिया दिएका छन् । ‘यो नतिजा सर्मनाक हो,’ नेमारले भने, ‘म मात्र नभएर सम्पूर्ण खेलाडी नै निराश बनेका छन् । हामी जुन किसिमले पराजित भयौँ । त्यसको अवसर समर्थकमाथि परेको छ ।’ सान्तोसको अप्रत्याशित हारपछि समर्थकहरूले रंगशालामै उपद्रो गरेका थिए । ‘सुरक्षित रुममा हामी मैदानबाट बाहिरियौँ, तर समर्थकहरूको रिस शान्त भएको थिएन,’ नेमारले भने, ‘जब आफूले समर्थन गरेको टोलीले खराब प्रदर्शन गर्छ भने समर्थकहरू रिसाउनु स्वाभाविक हो ।’
हारपछि समर्थक बने उग्र
सान्तोसको घरेलु रंगशालामा कम्तीमा ५० हजार दर्शक थिए । स्टार खेलाडीले भरिएको सान्तोसले चिरपरिचित प्रतिद्वन्द्वी भास्कोलाई पाखा लगाउने समर्थकले आशा गरेका थिए । तर, भास्कोले पूरै खेल अवधिमा विपक्षीलाई चल्न अवसरसमेत दिए । प्राप्त अवसरमा भास्कोका खेलाडीले गोल गर्दै गए । सान्तोसले अन्तिम नतिजाका रूपमा ६–० को हार सामना गरेपछि समर्थकले खेलाडीलाई गालीगलौज गरेका थिए । यद्यपि, उनीहरूले रंगशालामा तोडफोड भने गरेनन् । नेमार पनि समर्थकको व्यवहार न्यायोचित भएको मान्छन् ।
‘तर, यदि उनीहरू गाली र अपमान गर्न चाहन्छन् भने, यो उनीहरूको आफ्नो अधिकार हो । मैदानमा हाम्रो मनोवृत्तिलाई संक्षेपमा भन्नुपर्दा यो भयानक थियो,’ नेमारले भने, ‘सान्तोसबाट यस्तो किसिमको नतिजा कहिले पनि सोचेकै थिएन ।’ नेमारले थपेका छन्, ‘मैले जीवनमा यस्तो कहिल्यै अनुभव गरेको थिइनँ । समर्थक रिसले भरिएको थियो । दुर्भाग्यवश, म हरेक रूपमा भास्कोविरुद्ध असफल भएँ ।’