
के तपाईं छिमेकीलाई फसाउन र बदनाम गर्न आफ्नै छोराछोरीले पानी पिउने इनारमा विष हाल्न सक्नुहुन्छ ? के छिमेकीप्रतिको घृणा सन्तानप्रतिको मायाभन्दा बलियो हुन्छ ? कर्नाटकमा घटेको एक भयावह घटनापछि यी प्रश्नले मलाई बेचैन पारेका छन् । हिन्दुत्ववादी संगठन श्रीराम सेनेका सदस्यहरूले विद्यालयको इनारमा विष हाल्ने षड्यन्त्र गरेको आरोप लागेको छ ।
यी अभियुक्तको योजना दोष मुसलमान प्रधानाध्यापकको टाउकामा थोपर्नु रहेको थियो । यिनले एक विद्यार्थीलाई पाँच सय रुपैयाँ र चकलेटको लोभ देखाई इनारमा विष हाल्न लगाएका थिए । विष मिसिएको पानी पिएपछि केही विद्यार्थीलाई वाकवाकी भयो र धेरैले अनौठो गन्ध महसुस गरे । त्यसपछि भएको अनुसन्धानमा विषादीको बोतल भेटियो र विष हाल्न लगाइएका बालकले सबै कुरा खुलाए ।
धन्य, कुनै बालबालिकाको ज्यान गएन । तर, के यो तथ्यलाई अभियुक्तको बचाउमा प्रयोग गरिने त होइन ? के कसैले यी हिन्दुत्ववादी कार्यकर्ताले विषको मात्रा बालबालिकाको ज्यान नलिने गरी वा कम क्षति हुने गरी हालेको भनेर तर्क त गर्नेछैनन् ? वा के उनीहरूको अन्तिम लक्ष्य बालहत्या नभएर मुसलमान प्रधानाध्यापकको जीवन र व्यावसायिक जीवन बर्बाद गर्नु मात्र थियो ? अर्को भाषामा भन्ने हो भने, यो एक किसिमले ‘उच्च’ उद्देश्यको काममा कार्यान्वयन मात्रै गलत भयो भनेर कसैले भन्ने त होइन ? आजको राजनीतिक वातावरणमा मुसलमानलाई सताउन नयाँनयाँ उपाय खोज्नुभन्दा ‘धार्मिक’ के हुन सक्छ । हाम्रा महाकाव्यमा पनि भगवान् कृष्णले शत्रुसँग छलकपट गरेका प्रसंग छन् र सम्भवतः हामी यस्ता छललाई ‘महान् लक्ष्य’का नाममा स्विकार्दै, उनीहरूको ‘चातुर्य’को प्रशंसा गर्छौँ ।
के हिन्दु समाज मुसलमानलाई सताउन आफ्नै छोराछोरीलाई पनि बलिको बोको बनाउने गरी विषाक्त भइसकेको हो ?
आरोपित पक्राउ परेका छन् र प्रहरीले यो मामिला गम्भीरतासाथ अघि बढाओस्, प्रमाण संकलन र प्रस्तुत गरून् भनेर हामी आशा गर्छौँ । ताकि यी अभियुक्तले मालेगाँव आतंककारी बम विस्फोटका आरोपितझैँ सजिलै निर्दोष साबित भएर बाहिर निस्किन नपाऊन् । यस्ता घटनामा प्रायः यदि आरोपित हिन्दु भए प्रहरी र अदालतको व्यवहार अचम्मको सहानुभूतीपूर्ण हुन्छ अर्थात्, मानौँ यी मानिस ‘राष्ट्रको सेवा’ गर्दै थिए । तर, अब अर्को सम्भावना सोचौं, बिषले थप गम्भीर क्षति पुर्याएको भए के हुन्थ्यो ?
विषादीको बोतल फेला नपरेको भए वा ती बालकले सबै कुरा नभनेका भए त्यहाँका प्रधानाध्यापकको हालत के हुन्थ्यो ? के यो घटना राष्ट्रिय समाचार बन्ने थिएन ? के टेलिभिजन र पत्र–पत्रिकाले यसलाई ठूलो स्वरमा मुसलमानमाथि दोषारोपण गर्दैनथे ? यी हिन्दुत्ववादी गुन्डाहरूले एक मुसलमान शिक्षकलाई झुटो आरोपमा फसाउने षड्यन्त्र गरेका थिए, तर यो योजना सजिलै मुसलमानविरुद्धको व्यापक घृणा अभियानलाई अझ बढाउने हतियार बन्न सक्थ्यो । भाग्यवश, यो भएन । तर, प्रश्न त अझै उठ्छ नै, किन यो समाचारलाई मिडियाले दबायो ? र, किन हामीमध्ये धेरैले यसबारे वास्तै गरेनौँ ?
यो मौनताले हाम्रो सञ्चारमाध्यमको नैतिक पतन उजागर गर्छ । र, यसले हाम्रो समाजको नैतिक खोक्रोपन पनि देखाउँछ । मिडियाले आफूलाई भारतका जनताप्रति उत्तरदायी ठान्दैनन् । अहिले उनीहरूको भूमिका मुस्लिमविरोधी प्रोपगान्डाको सहायक बन्नु मात्र हो । हिन्दुत्ववादी संगठनको वास्तविक अनुहार उजागर गर्नु मिडियाको चासो रहेन, किनभने उनीहरू आफैं ती संगठनका विस्तारकर्ता बनेका छन् । कोभिड–१९ महामारी सम्झनुहोस् । त्यसवेला मिडियाले तब्लिघी जमात (मुसलमान श्रद्धालुको तीर्थयात्रा)का सदस्यले जानी–जानी भाइरस फैलाइरहेको झुट फैलाएका थिए ।
मुसलमानले तरकारी, खानेकुरामा थुकिरहेका छन् भन्ने आधारविहीन रिपोर्ट बारम्बार फैलाइयो । यी झुटका लागि कोही पनि कारबाहीका भागीदार भएनन् । तर, यसको परिणामस्वरूप हजारौँ मुसलमानले रोजगारी गुमाए, धेरै पक्राउ परे र पछि अदालतले आरोप पूर्ण रूपमा झुटो ठहर गरेपछि मात्र छुटे । तर, यस्तो घृणा फैलाउने कामका लागि कुनै सरकारी अधिकारी या समाचार च्यानलले कुनै परिणाम भोग्नुपरेन । किन ?
हिन्दुत्ववादी मानसिकताका अनुसार मुसलमानविरुद्ध घृणा फैलाउन झुट प्रयोग गर्नु स्वीकार्य छ । हिन्दुत्ववादी संगठनको इतिहास हेर्दा झुटलाई पहिल्यै हतियारका रूपमा परीक्षण गरिएको र यसको पुस्तान्तरण भएको देखिन्छ । तसर्थ, कर्नाटकमा भएको कृत्य पहिलो होइन । हालका वर्षमा मुसलमानलाई फसाउन कर्नाटकमा हिन्दुत्ववादी कार्यकर्ता स्वयंले ‘पाकिस्तान जिन्दावाद’ भनेर नाराबाजी गर्ने वा पाकिस्तानको झन्डा फहराउने घटना घटेका छन् ।
वास्तवमा श्रीराम सेनेले जे गर्यो, त्यस्तै काम राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले पहिले गर्दै आएको थियो । केरलामा दसकौँसम्म आरएसएसमा स्वयंसेवकका रूपमा कार्यरत रहेका सुदिश मिन्नीको अनुभव नै हेरौँ । आफ्नो आत्मकथामा ‘स्वयंसेवकले नै विपत्ति सिर्जना गर्छन् । उनीहरूले नै मन्दिरलाई हरियो रंग छ्याप्ने र मन्दिरको आँगनमा मरेको गाई फ्याँक्ने गरेका छन् । उनीहरू विभिन्न प्रकारका हतियार जम्मा गर्छन् ...’ भनेर लेखेका थिए । फेलिक्स पल र नेहा चौधरीको लेखमा मिन्नी र अन्य चार पूर्वस्वयंसेवकका स्वीकारोक्ति स्पष्ट रूपमा प्रस्तुत छन् । लेखकद्वयको भनाइमा आरएसएसका कार्यकर्ताले हिंसा सिर्जना गर्छन् र त्यसको दोष मुसलमानमाथि थोपर्छन् । यो अपवाद नभई नियोजित र स्थापित उपाय हो ।
तसर्थ, कर्नाटकको घटना डरलाग्दो छ । तर, थप डरलाग्दो के हो भने हाम्रो समाजले यो घटनामा आँखा चिम्लिएको छ । के हिन्दु समाजका यति विषाक्त भइसकेको छ कि मुसलमानलाई प्रताडित गर्न आफ्नै छोराछोरीलाई पनि बलिको बोको बनाउन ऊ तयार भएको हो ? यो सम्भवतः हामी हिन्दुले आफैँलाई सोध्नुपर्ने प्रश्न हो ।
(अपूर्वानन्द दिल्ली विश्वविद्यालयमा हिन्दी अध्यापन गर्छन्) द वायरबाट