
नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रयोजक पाएको छ। आइतबार क्यानले सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिजसँग तीन वर्षको लागि सम्झौता गरेको हो।
सम्झौता वार्षिक २.३६ करोड रुपैयाँको भएको क्यानले बताएको छ। तीन वर्षका लागि करिब ७ करोडको सम्झौता भएको हो।
यसअघि क्यानले जर्सी प्रायोजनको टेन्डरमा न्यूनतम मूल्य २ करोड रुपैयाँ तोकेको थियो। जसबाट नासा सेक्युरिटीज छानिएको क्यानले जनाएको छ। नेपाली टिमले अस्ट्रेलियामा हुने टी–२० प्रतियोगिताबाट यही जर्सी लगाउनेछ।
अस्ट्रेलिया जाने टोलीको आजै बिदाई भएको छ। अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको क्यानले जनाएको छ।
सिरिजको लागि एक खेलाडी परिवर्तन गरिएको पनि क्यानले जनाएको छ। स्पिनर ललित राजवंशीको ठाउँमा साहब आलम खेल्ने छन्। आइतबार नै ललितकी आमाको देहवसानपछि उनले टिमबाट नाम फिर्ता लिएका हुन्।