
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएको सुस्ततासँगै यस क्षेत्रका पर्यटन व्यावायीहरू चिन्तित बन्न थालेका छन् । लुम्बिनीसहितका पर्यटन क्षेत्र फस्टाउने आशमा व्यवसायीहरूले लगानी गरेको एक अर्बभन्दा बढी रकम विमानस्थल नियमित नहुँदा जोखिममा परेको हो ।
माघ ०७१ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सिलान्यास गरेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पुस ०७४ भित्र सम्पन्न भैसक्नु पर्ने थियो । भुकम्प, मधेश आन्दोलन, कोरोना महामारी आदिका कारण पाँच वर्ष ढिला हुँदै जेठ ०७९ सम्पन्न भएको थियो । विमानस्थलको उद्घाटन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए ।
०७१ देखि ०७९ सम्म आठ वर्षको लामो अवधिमा यस क्षेत्रका पर्यटन व्यावसायीहरूले जसोतसो धकल्दै आएका थिए । विमानस्थल सञ्चालनमा आएपछि आठ वर्षमा भोगेका पीडा समाधान हुने आशमा व्यवसायीहरू थिए । विमानस्थल उद्घाटनलगत्तै पर्यटन व्यावसयी उत्साहित भएका थिए । तर व्यावसायीहरूको उत्साह धेरै समय टिक्न सकेन । मुलुकमा देखिएको आर्थिक मन्दी र विमानस्थल नियमित सञ्चालन हुन नसकेपछि अहिले यस क्षेत्रका पर्यटन व्यावसायी निरास बनेका छन् ।
विमानस्थल उद्घाटनपछि दुई वर्षमा ऋणको किस्ता तिन नसक्दा १५ भन्दा बढी व्यावसायीको धितो लिलामी, दुई अर्बभन्दा बढी लगानी डुबिसकेको र एक खर्बभन्दा बढी लगानी उच्च जोखिममा रहेको व्यवसायीहरूले बताएका छन् ।
नियमित किस्ता तिर्न नसक्दा रूपन्देहीको भैरहवा र लुम्बिनी क्षेत्रमा रहेका १५ भन्दा बढी व्यवसायीको चारदेखि २५ करोड रूपैयाँसम्म लगानी रहेको होटलहरू अहिले लिलामी भएका छन् । जसका कारण पर्यटन व्यावसायीको दुई अर्बको लगानी डुबिसकेको छ । ‘एक खर्ब लगानी भएका होटलहरू अहिले उच्च जोखिममा छन्,’ सिद्धार्थ होटल एशोसिएसन (सान)का अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले भने । गौतमबुद्ध अन्तराष्टिय विमानस्थललाई आधार मानेर निर्माण गरिएका र निमार्णधीन करिब एक खर्ब बराबरको होटलको लगानी उच्च जोखिममा रहेको श्रेष्ठले बताए । यो अवस्था अझै एक बर्ष रहे अधिकांश होटल किस्ता तिर्न नसकेर बैंकले सकार्ने अवस्थामा पुग्ने श्रेष्ठले बताए । उनले भने, ‘व्यवसायीहरू टाट पल्टिसकेको अवस्था छ । इज्जत छोप्नका लागी मात्र जसोतसो ऋण खोजेर बैंकमा किस्ता राख्न बाध्य छन् ।’
रूपन्देहीमा पर्यटकस्तरीय होटल १४६ वटा छन् । १२ वटा होटलहरू बन्दै गरेका छन् । एक खर्बको लगानी पूर्ण जोखिममा छ । ९५ प्रतिशत व्यासायीले बंैकबाट ऋण लिएर काम गरेका छन् ।
१७ फागुन ०२३ मा तत्कालीन युवराज विरेन्द्र वीरविक्रम शाहबाट उद्घाटन भएको भैरहवा विमानघाट ५६ वर्षपछि अन्तराष्ट्रिय विमानस्थलका रूपमा परिणत भयो । तत्कालीन समयमा श्री ५ को सरकार र भारतीय सहयोग मिसनद्धारा संयुक्त रूपमा भारतीय सहायता कार्यक्रम अन्तर्गत निर्माण भएको विमानघाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका रूपमा परिणत भएको हो ।
०७१ माघ तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सिलान्यास गरेको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल ०७४ पुस मसान्तभित्र सम्पन्न भैसक्नुपर्ने थियो । ०७४ पुसमा सम्पन्न हुनु पर्ने विमानस्थल ०७९ मा सम्पन्न भएको छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाको रूपमा मानिएको छ । तर विमानस्थल उद्घाटन भएको दुई बर्षबितसक्तदा पनि नियमित उडान हुन नसक्दा पर्यटन व्यावसायी चिन्तित बनेका छन् ।