
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । छोटो समयमै यति धेरै मिर्गाैला प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको हो ।
अस्पतालले असार महिनामा मात्रै ३० जनाको मिर्गौला प्रत्यारोपण गरी नयाँ रेकर्ड राखेको अस्पतालका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । उनका अनुसार एक महिनामै यति धेरै संख्यामा मिर्गौला प्रत्यारोपण गर्नु निकै चुनौतीपूर्ण र बिरलै मानिन्छ । ‘हामीले छोटो समयमै धेरैजनाको मिर्गौला प्रत्यारोपण गरेका छौँ, अझ सबै स्रोतसाधन हुने हो भने वार्षिक पाँच सय हाराहारीको प्रत्यारोपण गर्न सकिन्छ, त्यसका लागि पूर्वाधार र अन्य व्यवस्थापन चुस्त हुनुपर्छ,’ डा. श्रेष्ठले भने, ‘केन्द्रको आफ्नै भवन छैन, अंग फेल भएका गरिब नेपालीको ज्यान बचाउन उपयुक्त भवन माग गर्दै आएका छौँ । केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन पनि सकारकारको ध्यानाकर्षण गर्दै आएका छौँ ।’
उनका अनुसार आर्थिक वर्ष ०८१/८२ मा मात्र केन्द्रले १८६ जनाको मिर्गौला र आठजनाको कलेजो प्रत्यारोपण गरेको छ । केन्द्रकै नेतृत्वमा उपत्यकाबाहिर पनि प्रत्यारोपण भएको थियो । प्रादेशिक अस्पताल सुर्खेतमा तीन, पोखरामा तीन र भेरी अस्पतालमा दुईजनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । गत आर्थिक वर्षमा एकजना मस्तिष्क मृत व्यक्तिबाट प्राप्त एउटा मिर्गौला र कलेजो एकै व्यक्तिमा सफलताका साथ प्रत्यारोपणसमेत गरिएको थियो । यस्तो जटिल किसिमको प्रत्यारोपण नेपालमा पहिलोपटक गरिएको हो ।
केन्द्रले गत वर्ष मिर्गौला प्रत्यारोपणमा गर्ने बिरामीहरूको उमेर समूह १४ देखि ७१ वर्षसम्मका थिए । जसमा १५५ जना (झन्डै ८० प्रतिशत) ग्रहणकर्ताको उमेर समूह २० देखि ४९ वर्ष थियो । मिर्गौला ग्रहणकर्तामध्ये १३६ जना पुरुष (७३ प्रतिशत) र ५० जना महिला (२७ प्रतिशत) छन् । अंगदातामा १३० जना महिला (७० प्रतिशत) र ५५ जना पुरुष (३० प्रतिशत) छन् ।
गत आर्थिक वर्षमा प्रदेशअनुसार प्रत्यारोपणको अवस्था हेर्दा देशको सातै प्रदेशबाट केन्द्रमा उपचार गर्न आएका बिरामीमध्ये बागमतीबाट सबैभन्दा धेरै ३२%, कोशीबाट २७%, लुम्बिनीबाट ११%, गण्डकीबाट १३%, मधेशबाट १०%, सुदूरपश्चिमबाट २% र कर्णालीबाट ५% बिरामी आएका थिए ।
मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठ, श्रेष्ठको नेतृत्वमा केन्द्र स्थापनाको १३ वर्षमा एक हजार ४७१ जनाको मिर्गौला र ३४ जनाको कलेजो प्रत्यारोपण भइसकेको छ ।
पाँच सय शय्या क्षमताको अस्पताल योजना अलपत्र
हाल सरकारको सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने योजनाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको यस केन्द्रले चारवटा प्रदेशमा प्रत्यारोपण सेवा सुरु गरिसकेको छ । जसमा बागमती, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेश छन् । बाँकी तीन प्रदेशमा पनि निकटभविष्यमा प्रत्यारोपण गर्ने योजना केन्द्रले अघि सारेको छ । तर, प्रत्यारोपणका लागि आवश्क विशेषज्ञ जनशक्ति तालिम दिनका लागि केन्द्रलाई प्रत्यारोपण स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने नेपाल सरकारको घोषणा कार्यान्वयनमा भएको छैन ।
यस्तै, उपयुक्त जग्गा प्राप्त नहुँदा केन्द्र स्वयंले पाँच सय शय्या क्षमताको भवन बनाउने योजना अलपत्र परेको छ । केन्द्रले भक्तपुर इँटा–टायल कारखाना रहेको जग्गा, सल्लाघारीमा रहेको नेपाल ट्रस्टको जग्गा तथा चाँगुनारायण नगरपालिका वडा नम्बर ८ सुडालस्थित जग्गामध्ये कुनै एक ठाउँको जग्गाप्राप्तिका लागि गरेको पहल साकार हुन नसकेको केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । उनका अनुसार उपयुक्त जग्गा उपलब्ध भए केन्द्रले आफ्नै स्रोत–साधनबाट भवन बनाई बर्सेनि पाँच सयजनासम्मको मिर्गौला प्रत्यारोपण र कम्तीमा ५० जनाको कलेजो प्रत्यारोपण गर्न सक्नेछ । केन्द्रको आफ्नै भवन नभएको, भक्तपुर अस्पतालको उपलब्ध भवन साँघुरो भएको र कर्मचारीहरूको न्यूनतम पारिश्रमिकका बाबजुद केन्द्रले देशको दुईतिहाइ प्रत्यारोपण गर्ने गरेको छ ।