
नेपाल बार काउन्सिलले दुई अधिवक्तामाथि कारबाही गरेको छ । काउन्सिलले यसको जानकारी सर्वोच्च अदालतलाई समेत दिएको छ ।
काउन्सिलको अनुशासन समितिले गत २० असारमा गरेको निर्णयको जानकारी ६ साउनमा सर्वोच्चलाई दिएको हो । सूचनाअनुसार अधिवक्ता ललितबहादुर केसीलाई नसिहतको सजाय दिएको छ । उनको प्रमाणपत्र नं. ११६०३ हो ।
यसैगरी, अधिवक्ता खगेन्द्र बोहराको हकमा भने प्रमाणपत्र निलम्बनको सजाय भएको छ । एक वर्षका लागि प्रमाणपत्र नं. ४३५८ लाई वकालत गर्न नपाउने गरी उक्त अवधिका लागि प्रमाणपत्र निलम्बनको सजाय गरिएको हो ।
आचारसंहिताविपरीतका कार्य गरेमा काउन्सिलले कानुन व्यवसायीमाथि कारबाही गर्न सक्छ । काउन्सिलको अनुशासन समितिमा महान्यायाधिवक्ता रमेश बडाल अध्यक्ष छन् भने सदस्यमा उपेन्द्रकेशरी न्यौपाने र चण्डेश्वर श्रेष्ठ छन् ।