मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार o५:५९:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मधेश प्रदेश विपत् संकटग्रस्त क्षेत्र घोषणा : रोपाइँका लागि मात्रै होइन, पिउनेपानी पनि अभाव

Read Time : > 3 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार o५:५९:oo

मध्यबर्खामै मधेशमा चरम खडेरी देखापरेपछि सरकारले बुधबार आठवटै जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । देशभर पर्याप्त पानी नपरेका वेला तराई–मधेशमा अझ कम पानी परेकाले रोपाइँका लागि मात्रै होइन, पिउनेपानीकै अभाव निम्तिएको छ । 

पानी नपर्दा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका– २ का किसान रामकुमार मण्डलले अझै धान रोपाइँ गर्न पाएका छैनन् । ‘नहरको सिँचाइ छैन, अकासे पानीको भरमा धान लगाउँदै आएका छौँ । पानी पर्छ होला भनेर कुर्दाकुर्दै साउनको पहिलो साता कटिसक्यो, डेढ बिघा खेत बाँझै छ,’ उनले सुनाए ।

महोत्तरीको जलेश्वर नरपालिका– ३ मलिवाराका तेजनारायण मण्डलले पनि खेती गर्दै आएको एक बिघा खेत बाँझै रहेको बताए । ‘साहुसँग बटैया (लिज)मा लिएर खेती गरिरहेको छु । पानी नपर्दा रोपाइँ गर्न सकेको छैन । केही खेतमा दमकलले पानी हालेर धान रोपे, बाँकी एक बिघाजति अझै बाँझै छ ।’

कतिपय किसानले बोरिङको पानीले रोपाइँ गरेको धानखेतमा पनि धाँजा फाटेको छ । पर्सा पोखरियाका किसान धर्मेन्द्र चौरसियाले भने, ‘धान सुक्न थालेको छ, आकासेपानी परेको भए सजिलो हुन्छ । बोरिङबाट सिँचाइ गरे केही दिनमै सुकिहाल्छ,’ उनले भने । 

मधेशमा हिउँद र गर्मीयाममा पर्याप्त पानी नपरेका वेला बर्खा सुक्खा बनेपछि संकट निम्तिएको हो । अनावृष्टिका कारण भूमिगत जलस्रोतको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्दा खानेपानीको चरम अभाव छ । नदीखोलामा पनि पर्याप्त पानी नहुँदा नहर भएका ठाउँमा पनि सिँचाइ हुन सकेको छैन । 

बाँकेमा पनि अधिकांश खेत बाँझो छ भने रोपेको खेतमा पनि धाँजा फाटेको छ । डुडुवा गाउँपालिका– ४ का शालिकराम यादवले अझै धान रोप्न नसकेको गुनासो गरे । ‘धान रोप्न अझै बाँकी छ । पानी नपाउँदा रोपेको धान खेतमा धाँजा परेको छ । खेतको ब्याड सुक्दै गएको छ,’ उनले भने । डुडुवा– ४ कै मुन्डापुर्वाका पुत्तन बागवानको धान खेतमा पनि धाँजा परेको छ । रोपेको धान खेतमा धाँजा परेपछि उनले आधा खेतमा रोपाइँ नै गर्न पाएका छैनन् । 

बोरिङको सहायतामा गरिएको धान रोपाइँ पनि सुक्न थालेको छ । रोपाइँ गरेको धान खेतमा धाँजा फाटेको नरैनापुर गाउँपालिका– ६ गंगापुरका विक्रम यादवले बताए ।  ‘जसोतसो गरी धान रोप्यौँ, तर पानी नपाएर रोपेको धान सुक्न थालेको छ,’ उनले भने । मोटर र बोरिङको सहायतामा रापेको धानखेतमा धाँजा परेको खजुरा गाउँपालिका– २ बलइपुरका भीम ओलीले बताए । ‘रोपेको धान बढ्नुको साटो सुक्दै गएको छ, खेतमा जाने हो भने विरक्त लाग्छ,’ उनले भने ।

नेपालगन्ज उपमहानगरपालिका, बैजनाथ, कोहलपुर, जानकी र राप्तीसोनारी गाउँपालिकाका किसानले रोपेको धानखेतमा समेत धाँजा परेको किसानले गुनासो गरेका छन् । धानखेत हरियो हुनुको साटो पहेँलो हुँदै गएको छ,’ बैजनाथ गाउँपालिका– १ च्यामाका रामविलाश चौधरीले भने । 

जल तथा मौसम विज्ञान विभागका अनुसार तराई मधेशका आठ जिल्लामा औसत वर्षाको ५१ प्रतिशत मात्र पानी परेको छ । अर्थात् ४९ प्रतिशत खडेरीको अवस्था छ । मधेशका १२ स्टेसनमध्ये कुनै पनि ठाउँमा पर्याप्त पानी परेको रेकर्ड छैन । १२ स्टेसनको ७ साउनसम्मको तथ्यांक विश्लेषण गर्दा औसत ५९४.९ मिलिमिटरको ५१ प्रतिशत अर्थात् ३०३.३ मिलिमिटर मात्र पानी परेको छ । उदाहरणका लागि जनकपुर विमानस्थल स्टेसनमा ७ साउनसम्म मनसुन अवधिको १९.६ र ७ साउनसम्मकै औसतसँग तुलना गर्दा ३९.८ प्रतिशत मात्र पानी परेको छ । अर्थात् ७ साउनसम्म ५८९.७ मिलिमिटर पानी परेमा सरदर हुनेमा २३४.७ मिलिमिटर मात्र परेको छ, जुन चरम सुक्खा हो । त्यस्तै, सिमरा विमानस्थल स्टेसनमा पनि मनसुन अवधिको २२.४ र ७ साउनसम्मको सरदरको ४८.४ प्रतिशत मात्र पानी परेको छ । ७ साउनसम्म ६९३.८ मिलिमिटर पानी पर्दा औसत मानिनेमा ३३६.१ मिलिमिटर मात्र रेकर्ड भएको छ । 

विभागका प्रवक्ता विभूति पोखरेलले तुलनात्मक रूपमा मधेशमा कम पानी पर्ने पूर्वानुमान रहे पनि यतिधेरै सुक्खाको अवस्थाको भने आकलन नरहेको बताइन् । ‘साउनमा पनि बर्खेझरी पर्न सकेको छैन । वर्षा गराउने मनसुनी प्रणाली नै सक्रिय नहुँदा तराई–मधेशमा पानी नपरेको हो । पहाडी क्षेत्रमा स्थानीय र पश्चिममा पश्चिमी वायुले साथ दिएकाले केही राहत भएको हो,’ उनले भनिन्, ‘तर, बर्खाको जस्तो पानी देशभर नै पर्न सकेको छैन ।’ 

हुन त विभागले पनि वैशाखमा मनसुनी आकलन जारी गर्दै मधेशमा सरदर हाराहारी मात्र वर्षा हुने बताएको थियो । तर, सामुद्रिक र मनसुनी गतिविधि नियाल्दा कोशी र मधेशमा यसअघिका पूर्वानुमान संशोधन गर्दै विभागले गत असारमा नयाँ प्रक्षेपण जारी गरेर मधेशमा सरदरभन्दा कम र कोशीका दक्षिणी क्षेत्रमा सरदर हाराहारी मात्र वर्षा हुने बताएको थियो । 

खानेपानी चरम अभाव, दमकलबाट बाँडिन्छ पानी
पानी नपर्दा चापाकलसमेत सुकेपछि मधेशका जिल्लामा खानेपानीको चरम अभाव छ । मधेश प्रदेश सरकार, पालिका र सुरक्षाकर्मीले दमकल, ट्यांकरबाट खानेपानी बाँडिरहेका छन् । खानेपानी संस्थान वीरगन्ज शाखाले दैनिक ८० लाख लिटर पानी वितरण गरिरहेको भए पनि वीरगन्जमा अझै अभाव छ । शाखा प्रमुख प्रवीनकुमार साहले चापाकल सुकेपछि वीरगन्जमा नयाँ धारा जडानका लागि निवेदन दिनेको संख्या बढेको र दैनिक ३० देखि ३५ धारा जडान भइरहेको बताए । त्यस्तै, सप्तरीको राजगढ गाउँपालिका, अग्निसाइर कृष्णासवरन गाउँपालिका, विष्णुपुर गाउँपालिका र सुरुंगा नगरपालिकामा खानेपानी वितरण भइरहेको छ । संघ सरकारले डिप बोरिङ जडान, पाइपलाइन चुहावट नियन्त्रण तथा धारा जडान प्रक्रियालाई सहज बनाउन जनशक्ति र स्रोत परिचालन गरेको छ । 

मधेशमा आधा पनि सकिएको छैन रोपाइँ
सबैभन्दा धेरै धान उत्पादन हुने मधेशमा ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ । रोपाइँ प्रभावित हुँदा समग्र उत्पादनमा असर पर्ने पूर्वकृषिसचिव डा. योगेन्द्र कार्कीले बताए । ‘असार सकिँदा पनि मधेशमा कम रोपाइँ हुनु चिन्ताको विषय हो,’ उनले भने, ‘मनसुनको पर्खाइमा रोपाइँ लम्बिँदा लक्ष्यअनुसार उत्पादन गर्न कठिन हुन्छ ।’ उनले सिँचाइ विस्तार गर्न नसक्दा रोपाइँ गर्न अकासे पानीको भर पर्नुपरेको बताए । ‘सरकारले सार्वजनिक गर्ने सिँचाइ पूर्वाधार विस्तारसम्बन्धी तथ्यांक नै गलत छ भन्ने कुरा मधेश र कोशीमा भइरहेको न्यून रोपाइँको विवरणले देखाउँछ,’ उनले भने, ‘अहिले पनि देशभर बाह्रै महिना हुन सक्ने सिँचाइ पूर्वाधार ३५ प्रतिशतभन्दा तल छ भन्ने लाग्छ ।’ मधेशमा सबैभन्दा बढी तीन लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुने कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुमान छ । यसमध्ये हालसम्म एक लाख ७४ हजार ५०८ हेक्टरमा मात्रै रोपाइँ सकिएको छ ।

विपत् संकटग्रस्त घोषणा गरेपछि संसद्मा प्रधानमन्त्रीले भने– मधेशमा खानेपानी र सिँचाइका लागि गर्नुपर्ने काममा सरकारले कुनै कसर बाँकी राख्दैन 
प्रधानमन्त्री केपी ओलीले तराई–मधेशमा खानेपानी र सिँचाइको अभाव हुन नदिने गरी काम गरिने प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफमा ओलीले भने, ‘अहिले पहाडमा वर्षाको बाढीको प्रभाव र तराई–मधेश सुक्खा समस्याले ग्रस्त छ । यी समस्या समाधानका लागि सरकारले आवश्यक कदम चालेको छ । प्राकृतिक विपतग्रस्त घोषणापछि तराई–मधेशमा कुनै सामग्री आवश्यक परेमा वा ‘डिपबोरिङ’ गर्नुपरेमा सहज हुने बताउँदै उनले भने, ‘यसतर्फ सरकार गम्भीर छ । अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ । यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कसुर बाँकी राख्नेछैन ।’

(वीरगन्जमा तिवारी यादव, राजविराजमा सौरभ यादव, जनकपुरधाममा हदिश खुद्दार, बाँकेमा विश्वराज पछल्डङ्ग्या, लहानमा मणिलाल विश्वकर्मा, महोत्तरीमा रञ्जन भण्डारी)