
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् । प्रहरी निरीक्षक भट्टले ट्राफिक व्यवस्थापनमा देखाएको सक्रियता, अनुशासन र कामकारबाहीमा पनि प्रभावकारिता देखिएकाले महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराअन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लाका ट्राफिक कार्यालयहरूबाट प्राप्त मूल्यांकनमा भट्ट उत्कृष्ट ठहरिएको जनाएको छ । प्रहरी निरीक्षक भट्ट ट्राफिक व्यवस्थापन, ह्यान्डलिङ, आकस्मिक परिस्थितिमा चाँडो निर्णय क्षमता, जनसम्पर्क, सहकार्य र प्रभावकारी नेतृत्वद्वारा विशेष पहिचान बनाउन सफल भएको प्रमाणपत्रमा उल्लेख छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा मातहतसमेतमा उत्कृष्ट ट्राफिक व्यवस्थापन सकिएको आर्थिक वर्ष ०८१/८२ मा विगतको आर्थिक वर्षको तुलनामा मधेश प्रदेशअन्तर्गतका आठवटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्ज पर्साले उच्च अंकमा राजस्व संकलन गर्नेमध्ये परेको प्रमाणपत्रमा लेखिएको छ । उनले आफ्ना जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै वीरगन्जको जटिल ट्राफिक व्यवस्थापनलाई सहज बनाउन उल्लेखनीय योगदान पुर्याउँदै आएका छन् ।
साथै उनको योगदानको उच्च मूल्यांकन गर्दै उनलाई नगद एक हजार तीन सय पुरस्कार पनि प्रदान गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराका प्रमुख राजकुमार सिलवालले बताए । उनका अनुसार नेपाल प्रहरीका अनुसार ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गर्ने उद्देश्यले मासिक रूपमा उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिन्छ ।