
मकवानपुरको मनहरी गाउँपालिकाले किसानहरूको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बाली बिमा कार्यक्रम सुरु गरेको छ। बुधबार मनहरी गाउँपालिका वडा नम्बर ७ स्थित सेतेलाल जिम्बाको १९ कट्ठा खेतमा लगाइएको धानबालीको बिमा गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरिएको हो।
गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरलगायतको उपस्थितिमा बाली बिमा कार्य प्रारम्भ गरिएको हो। अहिले धानबालीको सिजन भएकाले पहिलो चरणमा धानबालीको बिमा गरिएको र आगामी दिनमा सिजनअनुसार अन्य अन्नबाली तथा तरकारी बालीको समेत बिमा गरिने अध्यक्ष कालाखेतीले जानकारी दिए।
उनका अनुसार किसानहरू किरा, रोग तथा प्राकृतिक प्रकोपका कारण अन्न उत्पादनमा घाटा भोग्न बाध्य भएकाले त्यस्तो अवस्थाबाट जोगाउन बाली बिमा कार्यक्रम सञ्चालन गरिएको हो। यस वर्षदेखि सुरु गरिएको बिमा कार्यक्रममार्फत किसानलाई हुने हानी नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराइनेछ।
कार्यक्रम कार्यान्वयनका लागि मनहरी गाउँपालिकाले शिखर इन्स्युरेन्ससँग सम्झौता गरेको छ। धानबाली बिमा गर्न इच्छुक किसानका लागि एक साताअघि नै सूचना जारी गरिएको थियो। बिमा आवेदन गाउँपालिकाका सबै वडा कार्यालयमार्फत लिइने व्यवस्था गरिएको छ। बाली बिमा गर्दा कुल बिमांक रकमको ८० प्रतिशत संघीय सरकारले अनुदानस्वरूप दिनेछ भने बाँकी २० प्रतिशत किसानले आफैँ व्यहोर्नुपर्नेछ। तर, विपन्न किसानका लागि उक्त २० प्रतिशत पनि गाउँपालिकाले नै व्यहोर्ने व्यवस्था गरिएको अध्यक्ष कालाखेतीले जानकारी दिए।
गाउँपालिका उपाध्यक्ष सीता पुलामीमगरले बाली बिमा कार्यक्रमले किसानलाई राहत दिने विश्वास व्यक्त गरिन्। ‘बालीमा रोग, किरा र वन्यजन्तुबाट हुने क्षतिबाट अब किसानले क्षतिपूर्ति पाउनेछन्,’ उनले भनिन्, ‘यो कार्यक्रमले किसानको मनोबल बढाउनेछ। आगामी दिनमा अन्य बाली र तरकारी बिमालाई पनि विस्तार गरिनेछ।’