मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ७ बुधबार
  • Wednesday, 23 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण ७ बुधबार १८:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एक लाख घुसमा ‘रंगेहात पक्राउ’ हुनबाट जब वन अधिकृत उम्किए...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण ७ बुधबार १८:२२:oo

एक लाख घुसमा रंगेहात पक्राउ हुनबाट एक वन अधिकृत उम्किन सफल भएका छन्। गत ५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले कैलालीको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई रंगेहात पक्राउ गरेको थियो। कार्यालयकै अर्का वन अधिकृत लोकराज दाहाल भने रंगेहात पक्राउबाट उम्किन सफल भएका पाइएको छ।

कैलालीको चुरे गाउँपालिका– ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको कञ्चनपुर कार्यालय टोलीले यादवलाई सात लाख ३१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको थियो।

रंगेहात पक्राउमा अख्तियारले पूर्णशंकरलाई नै केन्द्रित गरेको थियो। र, लक्ष्यअनुसार नै उनी रकमसहित पक्राउ परे। उनलाई सेवाग्राहीकै रकम प्रयोग गरेर पक्राउ गरियो। उनीमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

यही घटनामा वन अधिकृत दाहाल भने रंगेहात पक्राउबाट जोगिन सफल भएको पाइएको छ। वन अधिकृत दाहालले पनि एक लाख रुपैयाँ लिने भनेर रेकर्ड गरिएको अडियो पनि अख्तियारमा उजुरीका रूपमा पुगेको थियो। ‘अडियोमा दाहालले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिने संवाद छ,’ अख्तियार स्रोत भन्छ, ‘तर, यसको सूचना अलि ढिलो आएको र पूर्णशंकरलाई पक्राउको तयारीका क्रममा उनी भागिसकेकाले उम्किन सफल भएको देखिन्छ।’

अख्तियारका अधिकारीहरूका अनुसार यादवलाई रंगेहात पक्राउ गर्दा वन कार्यालयमा कर्मचारीको भागाभाग भएको थियो। यही मेसोमा वन अधिकृत पनि उम्किए। यद्यपि, उनले सेवाग्राहीसँग एक लाख रुपैयाँ लिए/नलिएको यकिन भइसकेको छैन। रंगेहात पक्राउ हुनबाट उम्किए पनि अख्तियारले उनलाई छानबिनमा भने तान्ने तयारी गरेको छ। ‘विस्तृत अनुसन्धानमा उनी पनि तानिन्छन्,’ स्रोतले भन्यो।