मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३२ बुधबार
  • Wednesday, 16 July, 2025
डोरप्रसाद उपाध्याय
२o८२ असार ३२ बुधबार o७:४३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

पूर्वराष्ट्रपतिको सक्रिय राजनीति आशा कि निराशा ?

पूर्वराष्ट्रपतिको सक्रियता ‘ओलीटिक्स’विरुद्ध जस्तो देखिए पनि त्यसले वाम एकताको ढोका खोल्न भने सक्दैन

Read Time : > 2 मिनेट
डोरप्रसाद उपाध्याय
नयाँ पत्रिका
२o८२ असार ३२ बुधबार o७:४३:oo

यतिखेर पूर्वराष्ट्रपतिको पुन: पार्टी यात्राबारे चर्को बहस चलिरहेको छ । राज्यको सबैभन्दा माथिल्लो मर्यादाक्रममा पहिलो र दोस्रो नम्बरमै रहेकाहरू पुन: पार्टी राजनीतिमा फर्कंदा यसले नयाँ वैचारिक पुस्तालाई आशा थपिदियो कि निराशा ? यो उहाँहरूले दिएको योगदानको कदर हो कि नयाँ पुस्ताको सक्रियता घटाउने अभियान ? यी र यस्ता कैयौँ प्रश्नले जनमानसमा नयाँ कुतूहल जन्माएको छ । 

सर्वप्रथम राजनीतिक दलहरूको वैचारिक धरातल, पृष्ठभूमि, निर्णय प्रक्रिया र परम्परा अनि संस्थागत सोच कस्तो छ भन्नेले धेरै निर्धारण गर्छ । दोस्रो, सरकार र सत्ताको अभ्यासबाट प्राप्त हुने वाञ्छित र अवाञ्छित लाभको स्तर कस्तो छ भन्ने हो । तेस्रो, सरकारमा रहँदा नियतजन्य वा अनजानमा भएका त्रुटि, अपराध वा अनियमितताको जालो छ वा छैन अथवा कुन स्तरको छ भन्ने पनि हुन्छ । अर्कातिर स्वयं राजनीतिमा फर्कन चाहने व्यक्ति ऊ आफ्नो र पारिवारिक पृष्ठभूमि, पदमा रहँदा उसले खेलेको भूमिका वा दिएको योगदान, उसको नाम र बदनाममध्ये के बढी चलेको छ, यो पनि अर्को आधार हो । 

नेपालका संसदीय राजनीतिक दलभित्र डरलाग्दो सामन्तवाद हाबी छ । पार्टीहरू व्यक्तिका क्लबजस्ता छन् । पार्टीभित्र र बाहिर जो कसैले आफ्नो प्रतिस्पर्धी देख्नै चाहँदैन । अर्कातिर आन्तरिक लोकतन्त्रको हवाला दिँदै पार्टीको प्रचलित विधि, विधान र परम्पराबाहिर गएर लोकतन्त्रको अभ्यास गर्न खोज्ने प्रवृत्ति पनि उत्तिकै छ । तर, मूल नेतृत्वबाटै आलोचनात्मक चेत र विचारलाई निस्तेज पार्ने प्रवृत्ति नै मूल समस्या हो । पार्टीभित्र र बाहिर देखिएको अन्तरविरोध हल गर्न केपी ओलीको ‘शासन’ले गरिरहेको पछिल्लो अभ्यास यही हो । पार्टीभित्र प्रतिस्पर्धा देखा पर्‍यो भने उसको हालत के हुन्छ, एमालेका भीम रावललाई हेरे पुग्छ । पार्टीबाहिर कोही देखियो भने के हुन्छ, अहिले रवि लामिछानेलाई हेरे हुन्छ । यद्यपि, भीम रावल वा रविका पनि समस्या र कमजोरी होलान्, तर संसदीय राजनीतिमा सामन्तवादको प्रभाव कति छ भन्ने यी दुई परिघटनाले पुष्टि गरिदिएका छन् । म, मेरो पार्टी, मैले गरेको काम, अर्थात् सबै थोक म नै हुँ भन्ने प्रवृत्ति चरम उत्कर्षमा देखिन्छ । यो प्रवृत्ति पार्टी एकता वा समायोजनमा पनि देखिन्छ । आउने समूह वा व्यक्तिले आत्मसमर्पण गरेन भने ऊ अलपत्र पर्ने खतरा हुन्छ । । यो प्रवृत्तिसामु विचार, निष्ठा, समर्पण सबै निस्तेज बन्छन् । अहिले यो प्रवृत्ति बिस्तारै विचार, निष्ठा र समर्पणको परिचायक बनेको माओवादीमा समेत सर्न थालेको छ । जुन दु:खको कुरा हो । यसले सबै पार्टी उस्तै हुन् भन्ने भाष्य निर्माण गर्न खोजेको छ । 

यो कुरा सबैभन्दा बढी बिग्रिएका, दलाल नोकरशाहीतन्त्रमा रमाउने र राज्यको शक्ति प्रयोग गरेर वा कतिपय घटनामा राज्य आफैँले गरेका अपराधका फेहरिस्तले बेरिएको अहिलेको कुशासनले गर्दै हिँडेको छ । यो प्रवृत्ति आफू बिग्रिएपछि अरूलाई पनि नयाँ बन्न नदिने कुत्सित मनसायबाट प्रेरित छ । कांग्रेस एमालेले चलाएको कारबाहीको डन्डा नेतृत्वको सामन्तवादी सोचको परिणाम हो । यसप्रकारको विकृत राजनीतिमा राज्यका उच्च तहमा पुगेर राज्यकै साझा व्यक्तित्व बनिसकेका सम्माननीयहरू फर्कंदा आशा कति गर्ने ? यो प्रसंगले नेपाली राजनीतिमा सकारात्मक सन्देश प्रवाह गर्न सकेको छैन । विचारको मूल उही, प्रवृत्ति उही, आचरण र कार्यशैली उही, कार्ययोजना र संकल्प उही बोकेर नयाँ पार्टी र आन्दोलन जन्मन सक्दैन । पार्टीभित्रका केही अन्तरविरोध हल गर्न वा अन्तरविरोधलाई साइजमा राख्न त काम देला, तर समग्र समाजवादका लागि नयाँ वैचारिक पुस्ताका लागि सहज ढोका खोल्न सक्दैन । फेरि काम गर्ने तीव्र इच्छाशक्ति देखाएर पार्टी जीवनमा फर्कन खोज्दा पार्टीले पनि बाटो छेक्ने कुरा पनि आउँदैन । त्यसैले यो कुनै कानुनी विषय नभएर स्वयं व्यक्तिको नैतिक प्रश्न मात्र हो भन्ने पनि छन् । नैतिक प्रश्नको जवाफ दिने गरी आफूलाई बदल्दा समाजवाद र गणतन्त्रप्रति न्याय हुनेछ । संविधान र गणतन्त्र रक्षाका लागि सबै दल उस्तै हुन् भन्ने भाष्यमा परिवर्तन ल्याउन माओवादीले नै पहल र नेतृत्व लिन सक्नुपर्छ । परिवर्तनको बाहक र नेतृत्वको हैसियतले माओवादीबाट अझै यो काम सम्भव छ । अन्यथा, आफ्ना सन्तान अमेरिका पढ्न वा बस्न पठाएर यहाँ नेपालमा अमेरिकी साम्राज्यवाद भनेर सडकमा निस्कने अरू संसदीय पार्टी र माओवादीमा फरक हुनेछैन ।

अहिले पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियताका आधारमा बाम एकताको ठुलो ढोका खुलेको भन्ने ठानेर हर्ष मनाउनुको अर्थ छैन । अहिले त्यो सक्रियता ‘ओलीटिक्स’विरुद्ध जस्तो देखिए पनि त्यो सक्रियताले बाम एकताको ढोका खोल्न सक्दैन । आत्मसमर्पण गरी विलय हुने आधार भने बन्न सक्छ । त्यसैले, ओलीको स्कुलिङबाट समाजवाद र गणतन्त्रका लागि ठुलै योगदान हुन सक्छ भन्ने ठान्नु राजनीतिक दिवालियापन मात्र हुनेछ । ओली–विद्या एउटै कम्पनीका दुई फरक उत्पादित वस्तु हुन् । व्यक्तिगत स्वभाव र आनीबानी केही फरक हुन सक्छ । यसमा कोही पनि भ्रमित बन्नु हुँदैन ।

 अहिले ओली–देउवा प्रवृत्तिले राज्यलाई नै अपराधीकरणको दिशातर्फ डोर्‍याइरहेको छ । आज न्यायपालिकाले जनताको विश्वास जित्न सकेको छैन । कार्यपालिका सेटिङको थलो बन्न खोज्दै छ । व्यवस्थापिका आफ्नो स्वत्व गुमाएर ओलीटिक्सको सिकार बनेको छ । विधि–विधान र परम्परा लेनदेनमा खरिद–बिक्री भएका छन् कि भन्ने आशंका बढ्दो छ । आज गणतन्त्रप्रति खतरा छ भने यही प्रवृत्तिबाटै छ । त्यसैले, गणतन्त्र र समाजवादप्रति आशा र विश्वास जगाउन केही नयाँ गर्ने संकल्प गर्नैपर्छ । पुरानै अनुहार बोकेर समाजवादको नयाँ यात्रा सम्भव हुँदैन । पार्टी आन्दोलनको निरन्तरतामा हुने योगदानबाहेक अरू नयाँ केही हुन सक्दैन ।

(उपाध्याय माओवादी केन्द्रीय कार्यालय सचिव हुन्)