मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’
२०७९ चैत ९ बिहीबार ०७:१५:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

फेरि ठूलो दल बन्न सक्ला त माओवादी ?

आचरण र कार्यशैली उही तथा बाइसे र चौबीसे राजारजौटाको प्रवृत्ति कायम राखेर नाम र चुनाव चिह्न जे–जे फेरे पनि पार्टीमा गुणात्मक परिवर्तन सम्भव छैन

Read Time : > 4 मिनेट
डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’
२०७९ चैत ९ बिहीबार ०७:१५:००

माओवादी पार्टी र यसले स्थापित गरेका एजेन्डाविरुद्ध आज चौतर्फी हमला भइरहेको छ । यस्तो आक्रमण हुनुका पछाडि हाम्रो भूमिका कति जिम्मेवार छ तथा पार्टी र उसका एजेन्डा मन नपर्नु कति जिम्मेवार छ ? हाम्रो भूमिका भन्नाले हाम्रा गतिविधि, हाम्रो कार्यशैली, हाम्रो आचरण र हाम्रो जनसम्बन्ध के कस्तो छ भन्ने कोणबाट हेरिनु जरुरी छ ।

पार्टी भनेको जनस्तरबाट गठित राजनीतिक सहकारी हो । जनता, नेता र कार्यकर्ताको सामूहिक गठबन्धन नै पार्टी हो । त्यसैले, पार्टीमा लगानी भएको हैसियतले पार्टीमाथिको स्वामित्व र सम्पत्तिमाथिको विशेष अधिकार पनि जनता, नेता र कार्यकर्ताको सामूहिक निर्णय प्रणालीबाट पार्टीलाई सुम्पिएको हुन्छ । यसो गर्दा नेतृत्व जनता र कार्यकर्ताप्रति उत्तरदायी बन्न पुग्छ र नेतृत्व व्यक्तिवादी र निरंकुश बन्न पाउँदैन ।

अझ कम्युनिस्ट पार्टी सञ्चालनका आफ्ना केही मूल्य–मान्यता हुन्छन् । कम्युनिस्ट पार्टीले आफ्ना ती विचार, मूल्य–मान्यता, विधि र प्रक्रियामा टेकेर नै लाखौँ जनताको नेतृत्व तथा परिचालन गरेको हुन्छ । कुनै कारणले प्रक्रिया वा प्रणाली खल्बलियो अथवा व्यक्तिगत सनकका भरमा निर्णय लिने विधि अपनाउन थालियो भने पार्टीभित्र बेथितिको जग बस्न थाल्छ र पार्टी बिस्तारै स्खलन हुन् थाल्छ । योबाहेक पार्टी कमजोर हुनुमा अरू थुप्रै कारणले पनि काम गरेका हुन्छन् । हामी यहाँ त्यस्ता केही विशिष्ट कारणको मात्र चर्चा गर्नेछौँ । 

राजनीतिक र वैचारिक पक्ष :  माओवादी शान्तिप्रक्रियामा आएको १६ वर्ष भइसकेको छ । राजनीतिक र वैचारिक रूपले रुकुमको चुनबाङ बैठकले लिएका निर्णय नै अहिले पनि माओवादीको मूल कार्यदिशा हो । बितेका सोह्र वर्षमा माओवादीले दुइटा महाधिवेशन सम्पन्न गरिसकेको छ । हेटौंडा महाधिवेशनको उत्पादन कार्यदिशा र गत वर्ष काठमाडौंमा सम्पन्न महाधिवेशनको समाजवादी कार्यदिशासम्म आउँदा विचार राजनीतिको निखारपनमा अलमल देखिन्छ ।

दिमागमा कहिले विद्रोह र मुखमा चुनाव त कहिले चुनाव नै सबथोक ठानेर माओवादी स्वत्व नै गुमाउने गरी संसदीय राजनीतिमा देखिएपछि जनताले अरू पार्टी र माओवादीमा भिन्नता पाउन सकेनन् । हिजो जनयुद्धकालमा विचार राजनीति स्पष्ट थियो र त्यसलाई कार्यान्वयनमा लैजाने अनुशासित फौजी संगठन थियो । त्यहाँ केवल जनयुद्ध सफल पार्ने सामूहिक स्वार्थ थियो तर अहिले व्यक्तिगत लाभका लागि अनेकौँ स्वार्थी विचार विषाक्त रूपमा पार्टीभित्र भाइरसजस्तै फैलिरहेका छन् । जसका कारण पार्टी प्रणाली नै अवरुद्ध छ ।

विचार राजनीति भनेको कार्यदिशा र कार्यक्रमको उचित संयोजन हो । कार्यदिशा छ तर त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छैन । अथवा कार्यक्रम छ तर कार्यदिशा छैन भने पनि दीर्घकालीन रूपमा त्यो पार्टी टिक्दैन, न त त्यस्तो पार्टीले विशाल आकार नै लिन सक्छ । पार्टी ठूलो हुन व्यापक जनसम्बन्ध, जनकार्यशैली, जनउत्तरदायी र पारदर्शी नेता तथा कार्यकर्ताको विशाल जमात आवश्यक हुन्छ । यो पूरा हुन पार्टीसँग सही विचार, पार्टीप्रति जनताको अपार विश्वास र भरोसा कायम हुनुपर्छ । तर, माओवादीमा यहीँनेर कहीँ न कहीँ अलमल देखिन्छ ।

अहिले संसदीय राजनीतिमा माओवादी र एमाले एक–आपसमा जुधिरहेका छन् । अब या त माओवादीले जनताको जनवादको कार्यदिशालाई विकास गरी आजको सामाजिक, राजनीतिक र आर्थिक अन्तरविरोधको समाधान दिनुपर्छ, या त तत्कालीन कार्यक्रमका माध्यमबाट जनाविश्वास हासिल गर्न सक्नुपर्छ । अन्यथा, कुराले मात्र आजको पार्टीको आकारलाई बदल्न सकिँदैन ।

संगठनात्मक कार्यदिशा, कार्यशैली र आचरणको प्रश्न :  ‘राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्छ’ भन्ने माओको भनाइ अनुशासित संगठनात्मक जनाधार भएको सन्दर्भमा सही छ । तर, अहिले हाम्रो पार्टीसँग न त अनुशासित संगठन नै छ, न त व्यवस्थित संगठनात्मक कार्यदिशा र प्रणाली नै छ । यहाँ त अनेक गुट–उपगुट छन्, जसले बाइसे चौबीसे राजा र रजौटाले जस्तै आदेश मात्र जारी गर्छन् । न त उनीहरू जनताको दैनिकीसँग जोडिएका छन्, न त उनीहरूले जनता र कार्यकर्तासँग फोन संवाद नै गर्छन् । उनीहरूमध्ये कतिको त आचरण र कार्यशैली नै घिनलाग्दो छ ।

विचार र संगठनात्मक कार्यदिशाको विकास, कार्यशैली र आचरणमा व्यापक सुधार अनि जनताको समस्यामा बोल्न सक्ने नैतिक तागत भएका नेतृत्वको शृंखला तयार गर्न सक्दा माओवादी फेरि ठूलो पार्टी बन्न असम्भव छैन
 

अनावश्यक लाभका लागि न्यूनतम सीमा र मर्यादा पनि ख्याल गर्दैनन् । समाजमा बदनाम पात्र र प्रवृत्तिको रजगज देखेपछि जनताको पार्टीप्रतिको आशा र भरोसा टुट्दै जानु स्वाभाविक हो । पार्टीभित्र एकथरीले आफुलाई वंशजको उत्तराधिकारी ठान्ने र जे गरेर भए पनि अंश लिन खोज्ने प्रवृत्ति छ ।

अर्का थरीले आफूलाई मोहीजस्तो ठानी शिर निहुराएर बस्नुपर्ने, कोही ज्यालादारी जस्तो गरी नाफाघाटा हेरेर नेता र नेतृत्वसँगको सम्बन्धका आधारमा लाभको पद मागेर खाने पात्र र प्रवृत्ति छ । यस्तो अवस्था रहँदासम्म प्रणालीले सही काम गर्न सक्दैन । विधि, विधान र कार्यसम्पादन मूल्यांकनका आधारमा निर्णय लिने परिपाटी नै संगठनात्मक कार्यदिशाको पहिलो आधार हो । यसमा नटेकेसम्म कार्यदिशामा सुधार गर्न सकिँदैन । पार्टीभित्र न त आन्तरिक मूल्याकन प्रणालीले काम गरेको छ, न त आन्तरिक प्रतिस्पर्धाको प्रणालीले नै ।

कुनै एक विधिभन्दा पनि यी दुईको उचित संयोजन गरेर संगठनात्मक कार्यदिशाको विकास गर्नुपर्छ । सामूहिक जनवादमा आधारित केन्द्रीकृत निर्णय प्रणाली नै संगठनात्मक समस्याको आजको समाधान हो । सामूहिक जनवादमा आधारित केन्द्रीकृत निर्णय प्रणाली भनेको उपल्लो कमिटीले तल्लो कमिटीलाई न्याय र निकास दिनु हो । आफैँ बैठक गर्ने र आफ्नैबारे मात्र निर्णय लिने परम्पराको अन्त्य नगरी यो प्रणालीमा सुधार आउँदैन । त्यसैगरी उपलब्धि जोगाउन साथ खोज्ने तर उपयोग गर्दा आफ्नै मात्र एकाधिकार कायम गर्न खोज्ने परिपाटीले पालो कुरेर बसेका अन्य कमरेडको भावना र आत्मसम्मानमा चोट पुग्ने गरेको छ ।

व्यापक जनाधारसहितको ‘पिरामिड’ आकारको पार्टी बनाउन ऊ जति माथिल्लो पदमा पुग्छ, त्यत्ति नै त्यागी हुनुपर्छ र जति तल हुन्छ उति सुविधा लिनेदिने कार्यविधि अपनाउनुपर्छ । पार्टीका पछिल्ला निर्णय यही चिन्ता र चासोसाथ व्यक्त भइरहेका छन् । तर, यतिले मात्र संगठनात्मक प्रणालीमा सुधार आउने देखिँदैन । यसका लागि नयाँ संकल्प, नैतिक दृढता र नयाँ सोचका आधारमा पार्टी पुनर्संरचना गर्न सक्नुपर्छ ।

आचरण र कार्यशैली उही तथा बाइसे, चौबीसे राजा रजौटाको प्रवृत्ति कायम राखेर नाम र चुनाव चिह्न जे–जे फेरे पनि गुणात्मक परिवर्तन सम्भव छैन । तल्लो तहदेखि नै जनसम्बन्ध सुधार गर्ने र सामाजिक अन्तरविरोध हल गर्न सक्ने जनताको भरोसा र विश्वासको नेतृत्व निर्माण गर्न सकिए मात्र पार्टी विशाल र मजबुत बन्न सक्छ । यसका लागि सबैभन्दा पहिले पार्टी नेतृत्व तथा मन्त्रीहरूको सचिवालय बदनामीको कारखाना बन्न नदिन सम्बन्धित नेतृत्वले विशेष ध्यान दिन जरुरी छ ।

कहिल्यै पालो नआउने लाइनमा बस्न कोही चाहँदैन । व्यक्तिगत सम्बन्ध र पहुँचका आधारमा लाभका पदमा पुग्ने र पार्टीलाई नै बदनाम गराउने पात्र र प्रवृत्तिलाई निस्तेज नगर्दासम्म पार्टीमा विश्वासको जग बलियो हुँदैन । पार्टीलाई जनताको भरपर्दो, विश्वासिलो र जनमैत्री बनाउन हाम्रा आनीबानी, आचरण र कार्यशैलीमा आमूल परिवर्तन गर्ने, जनता र कार्यकर्ताप्रति विनम्र हुन सक्ने, फोन उठाइदिने, कुरा सुनिदिने, समस्याको समाधान गर्न प्रयत्न गर्ने, जनताका व्यावहारिक काममा सघाउने, जनसरोकारका समितिमा बसेर जनपरिचालन गर्न सक्ने नेतृत्व नै विशाल पार्टी निर्माणको आधार हो ।

ठूलो पार्टी बन्न सम्भव छ :  पार्टी कमजोर हुनुमा मुख्यतः हाम्रो आफ्नै कमजोरी रहेका छन् । तर, यति हुँदाहुँदै पनि माओवादी र यसले उठाएका एजेन्डा मन नपराउनेहरूलाई पनि कम आँक्नु हुँदैन । बाह्य शक्तिको चलखेल, अन्तर्राष्ट्रिय परिस्थिति र पुँजीवादले पैदा गरेको जटिलताले पनि पार्टी खुम्चिनुपरेको हो । अर्कातिर जनयुद्धको राप र तापमा छटपटिएकाहरू शान्तिप्रक्रियादेखि नै माओवादीविरुद्ध कुनै न कुनै रूपमा मोर्चाबन्दीमा थिए । उनीहरू उपयुक्त समय कुरेर बसेका थिए । अहिले यतिवेला माओवादी र यसले हासिल गरेका उपलब्धिमाथि हमला केन्द्रित गरेर आतंक सिर्जना गर्न खोजिरहेका छन् । 

राजनीतिक दाउपेच र बदला लिने कुत्सीत मनसायले राजावादीहरू र आफूलाई कम्युनिस्ट भन्नेहरूसमेत घोषित र अघोषित रूपमा माओवादीविरुद्ध शान्तिसम्झौता बिथोलेर मैदानबाट माओवादीलाई खाली गर्ने रणनीति लिएर ती शक्ति षड्यन्त्रको मैदानमा उत्रेका छन् । यी सबैका बाबजुद पनि इच्छाशक्ति र संकल्प हुने हो भने ठूलो पार्टी बन्न सम्भव छ ।

यसका लागि माओवादीले निर्णय गर्ने तरिका, प्रणाली र क्षमतामा सुधार गर्न हिम्मत गर्नुपर्छ । उत्पादनमा सामूहिकता भएपछि वितरणमा पनि सामूहिक प्रणाली अपनाउने विधि नै समाजवादी विधि हो । अर्थात्, उपलब्धिको प्राप्ति पनि सामूहिक ढंगले भएपछि उपयोग पनि सामूहिक रूपमै गर्ने हुनुपर्छ । निजी सचिवालयलाई जनसम्बन्ध रोक्ने अजंगको पर्खाल होइन, खोलो तर्ने पुलमा रूपान्तरण गर्न सक्नुपर्छ ।

उपहार संस्कृति र व्यक्तिगत लाभ लिनेदिनेमाथि निगरानी, नियन्त्रण र कारबाहीको भागीदार बनाउने विधि अपनाउनुका साथै इमानदार नैतिक र निष्ठावान् कार्यकर्ता र नेतालाई पुरस्कारको मान्यता स्थापित गर्न सक्नुपर्छ । विचार र संगठनात्मक कार्यदिशाको विकास, कार्यशैली र आचरणमा व्यापक सुधार अनि जनताको समस्यामा बोल्न सक्ने नैतिक तागत भएका नेतृत्वको शृंखला तयार गर्न सक्दा ठूलो पार्टी बन्न असम्भव छैन । राजनीतिमा लागेका सबै पात्र खराब छैनन् । तिनको सम्बोधन, राजनीतिमा जनताको जनवादको विकास, जनसम्बन्धमा व्यापक सुधार गर्दै कम्युनिस्टबीच एकता, धु्रवीकरण वा समायोजनको पहलकदमी लिनु उपयुक्त हुन्छ । यसो गरेर मात्र भविष्यमा माओवादी ठूलो पार्टीका रूपमा फेरि अगाडि आउन सक्छ ।

(उपाध्याय माओवादी केन्द्रका कार्यालय सचिव हुन्)