
सिराहाको गोलबजार नगरपालिका– ८, चोहर्वास्थित जनता नमुना माविका शिक्षक ५३ वर्षीय हरि श्रेष्ठविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ।
छात्रामाथि यौन दुर्व्यवहार गरेको विषयमा विद्यालय प्रशासन र प्रहरीले सुनुवाइ नगरेको भन्दै आफन्त र स्थानीय बासिन्दाले तोडफोड गरेपछि आरोपी शिक्षकविरुद्ध मुद्दा चलाइएको हो।
चोहर्वा नै घर भएका प्रावि प्रथम तहमा कार्यरत श्रेष्ठविरुद्ध बाल यौन दुरुपयोगसम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि सिराहा जिल्ला अदालतबाट पहिलोपटक लिएको तीन दिनको म्याद बुधबार सकिएपछि बिहीबार पुनः अदालत लगिने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आरोपी श्रेष्ठलाई बिहीबार पुनः दोस्रो दिनको म्याद लिएर अनुसन्धान छिटो सिध्याएपछि अदालतमा मुद्दा लगिनेछ।
बालिकामाथि आरोपी श्रेष्ठले गर्दै आएको यौन दुर्व्यवहारको घटनाबारे स्थानीय राजनीतिक नेतृत्वको दबाबमा विद्यालय र प्रहरीले बेवास्ता गरेको भन्दै सोमबार आक्रोशित आफन्त र स्थानीयले तोडफोड गरेका थिए। त्यस क्रममा विद्यालयको प्रशासनिक भवनको दोस्रो र तेस्रो तलामा रहेको कार्यालयको झ्याल, भेन्टिलेसनको सिसा र शौचालयअगाडिको ऐना तोडफोड भएको थियो।
विद्यालयमा तोडफोड भएपछि आरोपी शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्व्यवहारमा परेका पीडित चारजना बालिकालाई दुर्व्यवहारको जाँच, उपचार र मनोपरामर्शका लागि जिल्ला सदरमुकामस्थित ओसिएमसी (एकद्वार संकट व्यवस्थापन केन्द्र) पठाएको थियो।
आरोपी शिक्षक श्रेष्ठ गाउँकै विद्यालयमा सरुवा भएर आउनुअघि पढाएका विद्यालयहरूमा पनि यौन दुर्व्यवहारको घटनामा संलग्न रहेको थाहा पाएको नाम उल्लेख नगर्ने सर्तमा स्थानीय एक युवकले सुनाए। उनका अनुसार चोहर्वामा आएपछि पनि छात्राहरूमाथि गर्दै आएको दुर्व्यवहारको विषयमा विद्यालयका प्रधानाध्यापकसहित शिक्षकहरूलाई जानकारी गराएको भए पनि राजनीतिक दबाबमा बेवास्ता गरिएपछि पीडित छात्राका अभिभावकहरूसहित स्थानीयले विद्यालयमा तोडफोड गरेपछि मात्र प्रहरीले आरोपी शिक्षकलाई नियन्त्रणमा लिन बाध्य भएको हो।