
विषादीमुक्त बाली उत्पादन गर्ने उद्देश्यसहित सल्यानका दुई स्थानमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ । प्राकृतिक स्रोतको उचित उपयोग गर्दै वातावरणमैत्री कृषि प्रणालीको प्रवद्र्धन गर्न जिल्लाको वनगाड कुपिन्डे नगरपालिका र कुमाख गाउँपालिकामा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको हो । वन क्षेत्रबाट संकलित पातपतिंगर, स्याउला, झारपातजस्ता कुहिने जैविक वस्तुलाई मेसिनको प्रयोगमार्फत प्रशोधन गरेर गोबरविना नै जैविक मल उत्पादन गर्न सम्भवत: जिल्लामै पहिलोपटक यो प्रयास गरिएको हो । वनगाड कुपिन्डे– ६ शान्ति सामुदायिक वन समूह र कुमाख गाउँपालिका– २ मा रहेको जयमालिका सामुदायिक वन समूहमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको छ ।
कुमाखको जयमालिका सामुदायिक वन समूहमा आयोजनाको १७ लाख ५० हजार र जनश्रमदान ६२ हजार पाँच सय गरेर १८ लाख १२ हजार लागतमा जैविक मल प्रशोधन केन्द्र स्थापना गरिएको समितिका अध्यक्ष खिमबहादुर बुढाले जानकारी दिए । उनले भने, ‘मल उत्पादनका लागि हालसम्म १५ क्विन्टल स्याउला संकलन भइसकेको छ, तर विद्युत् भोल्टेज कम भएकाले मेसिन सञ्चालन हुन सकेको छैन । दुईवटा मोटरसमेत जलिसकेका छन् र विद्युत् प्राधिकरणसँग समस्या समाधानका लागि आग्रह गरेका छौँ ।’
यसैगरी वनगाड कुपिन्डे नगरपालिकाको वडा नम्बर ६ स्थित शान्ति सामुदायिक वन समूहमा पनि १९ लाखभन्दा बढीको लागतमा प्रशोधन केन्द्र स्थापना गरिएको छ । समूहका अध्यक्ष धनबहादुर सिंहले ११ क्विन्टल पातपतिंगर संकलन भइसकेको, तर विद्युत् अभावकै कारण मल उत्पादन गर्न नसकिएको बताए ।
दुवै स्थानमा प्रशोधन केन्द्रका लागि टहरा निर्माण गरिएको छ । जैविक मल प्रशोधनका लागि आवश्यक यन्त्र उपकरणहरू जडान गरिएका छन् । ती उपकरणहरूमा स्याउला टुक्र्याउने मेसिन, मल छानेर ग्रेडिङ गर्ने मेसिन, प्याकेजिङ मेसिन, नाम प्रिन्ट गर्ने मेसिन, मल कुवाउने ड्रम आदि छन् । मल प्रशोधनको क्रममा सूक्ष्म जीवयुक्त झोल प्रयोग गरिने र यसले जैविक पदार्थलाई छिटो कुहाएर मलमा रूपान्तरण गर्ने वन समूहहरूले जनाएका छन् ।
पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन कार्यक्रमअन्तर्गत सञ्चालित ‘समूहको आयआर्जन वृद्धि कार्यक्रम’मार्फत प्रशोधन केन्द्र स्थापना गरिएको हो । वन क्षेत्रमा हरेक वर्ष लाग्ने डढेलोको समस्या न्यूनीकरण गर्न पनि यो कार्यक्रमले टेवा पुर्याउने पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना कार्यक्रमका जिल्ला सयोजक डा. दिगम्बर सिंह दाहालले बताए । डढेलो लाग्नुअगाडि नै पातपतिंगर संकलन गरेर मल उत्पादनमा प्रयोग गर्ने रणनीति बनाइएको छ । यसले आगामी वर्षमा वन डढेलोबाट जोगाउनुका साथै उत्पादनशील मलमार्फत कृषिमा सकारात्मक असर पार्ने दाहालको अपेक्षा छ ।
कृषिमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति घट्दै गएको अवस्थामा जैविक मल उत्पादनले माटोलाई पुन: जीवन्त बनाउने र उत्पादन प्रणालीलाई दिगो बनाउने विश्वास गरिएको उनले बताए । उनले भने, ‘स्थानीय स्रोतसाधनको उपयोग गर्दै किसान समूहलाई गुणस्तरीय मल उपलब्ध गराउने र विषादीमुक्त तथा सुरक्षित बाली उत्पादनमा सहयोग गर्ने यो कार्यक्रमको उद्देश्य हो ।’