
धान उत्पादनको दृष्टिकोणले उर्वर मानिने बर्दियामा ५८.७५ प्रतिशत धान रोपाइँको काम सकिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका अनुसार हालसम्म बर्दियामा ५८.७५ प्रतिशत धान रोप्ने काम सकिएको छ भने अझै ४१.२५ प्रतिशत धान रोपाइँको काम बाँकी रहेको छ । धान खाद्यान्न बाली भएकाले पनि उहाँका अधिकांशले किसानले धानखेती गर्दै आएको छ ।
यहाँ ५० हजार १ सय ५० हेक्टरमा धानखेती हुने गरेको छ । जसमध्ये २९ हजार ४ सय ३३ हेक्टरमा धान खेती भइसकेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । उनले भने, ‘बर्दियामा प्रतिहेक्टर ४.७ मेट्रिकटनको धान उत्पादन हुन्छ । धान उत्पादन दृष्टिकोणले बर्दिया उपयुक्त मानिन्छ । अहिलेससम्म राजापुर ७० प्रतिशत, गेरुवा ६५ प्रतिशत ,बाँसगढी ६० प्रतिशत, ठाकुरबाबा ६० प्रतिशत, बढैयाताल ५५ प्रतिशत, मधुवन ६० प्रतिशत, बारबर्दिया ६० प्रतिशत र गुलरिया ६० प्रतिशत जग्गामा धान रोप्ने काम भइसकेको छ ।’
मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेअनुसार वर्षा नभएकाले धान रोप्नका लागि पानी अभाव भएको हुँदा पनि धान रोप्ने काम नसकिएको प्रमुख ढकालले बताए । ‘कतिपय ठाउँमा खेत रोप्ने मानिस नपाएको पनि धान रोपाइँको काम ढिलो भएको छ,’ उनले भने ।
गेरुवा गाउँपालिका– ४ का किसान सीताराम थारूले यस वर्ष धान रोप्न मान्छे नपाएको बताए । उनले भने, ‘एकतिर मान्छे नपाउने समस्या छ । अर्काेतिर सरकारले आवश्यकता अनुसार मल नपठाउँदा समस्या भएको छ । खेतमा मल नहाल्दा उत्पादन कम हुन्छ । त्यसकारण सरकारले ठुल्ठुला गफ दिनेभन्दा पनि समयमै मलको व्यवस्थापन गरिदिनुपर्छ ।’
श्रमसँग श्रम साटासाट गर्ने अर्मपर्म प्रथा हराउँदै
असार महिना लाग्नेबित्तिकै किसानलाई रोपाइँको चटारो हुन्छ । मानो रोपेर मुरी फलाउने समयमा किसान रोपाइँमै व्यस्त छन् । तर, पहिले–पहिलेजस्तो धान रोपाइँ गर्न अर्मपर्म जाने चलन भने हराउँदै गएको छ ।
नेपाली बृहत् शब्दकोशका अनुसार पर्मको अर्थ हो– आफू–आफूमा आलोपालो गरी एकले अर्काको काम गरिदिने चलन । यो परम्पराको इतिहास दुई सय वर्ष पुरानो भएको मानिन्छ । बिस्तारै समय फेरिँदै जाँदा कृषिक्षेत्रमा आधुनिकता भित्रिएको छ र त्यसले खेती गर्ने पद्धतिमा पनि परिवर्तन ल्याएको छ । त्यही परिवर्तनका कारण परम्परागत रूपमा चल्दै आएको अर्मपर्म प्रथा हराउँदै गएको छ । कतिसम्म भने अहिलेका युवा पुस्तालाई पर्म प्रथाबारे थाहा नै छैन । पहाडमा अझै पनि राँगा गोरूले खेतबारी जोत्ने भए पनि तराईमा भने यस्तो दृश्य देख्न मुस्किल पर्छ । तराईमा आजकाल ट्र्याक्टर, पावर टेलरले जोतिन्छ । धान रोप्नेदेखि लिएर धान काट्नेसम्मको काम मेसिनले नै गर्छ ।
गुलरिया नगरपालिका– ४ की हुमकुमारी लम्सालले पर्म प्रथामा सामूहिक भावना जोडिएर धान र कोदो रोप्दा, गोड्दा र काट्ने वेलामा आलोपालो गर्दै एक–अर्कालाई सहयोग गर्दै खेतीपाती गर्ने गरिएको बताइन् । उनले विगत सम्झँदै भनिन्, ‘पहिला गाउँघरमा पैसा दिएर काम गर्ने चलन बसिसकेको थिएन । त्यही भएर छरछिमेकी खेतबारीमा पालोपालो काम गर्ने गरिन्थ्यो । जसलाई हामी पर्म भन्थ्यौँ ।’ उनका अनुसार पर्म प्रथामा विशेष गरी श्रम आदान–प्रदान जोडिएको हुन्थ्यो । पर्म गर्न जाँदा गीत गाउँदै रमाइलो गर्दै धान, कोदो रोप्नेदेखि लिएर काट्नेसम्मको काम हुन्थ्यो ।
अहिले भने यो चलन हराउँदै जान थालेको छ । ‘कहीँकतै पर्म जाने चलन छ भन्ने सुनेकी छु,’ उनले भनिन्, ‘अहिले पर्म जाने चलनका के कुरा गर्नु धान रोप्नका लागि रोपार पाउनसमेत मुस्किल भएको छ । खेत जोत्नका लागि ट्र्याक्टर, पावर टेलर भएको भए पनि खेत रोप्नका लागि रोपार पाउन मुस्किल छ ।’
बबई बहुमुखी क्याम्पसका समाजशास्त्रका उपप्राध्यापक प्रेमप्रसाद अधिकारीले पशुपालन र कृषियुगमा वस्तुको विनिमय प्रणालीबाट आवश्यकता पूरा गर्ने क्रम सुरु भएको बताए । उनले भने, ‘क्रमश: बढ्दै गएको पशु हेरचाह र कृषि उत्पादनका लागि आलोपालो वा अर्मपर्म गर्नुपर्ने अवस्था आयो । त्यसलाई पूरा गर्नका लागि परिवार–परिवारबिचमा तथा परिवार र समुदायका अन्य सदस्यका बिचमा आपसी सम्झदारीबाट कामको आवश्यकता र समयअनुसार प्राथमिकता निर्धारण गरी पर्र्म जाने चलन सुरु भएको हो ।’
पहिला–पहिला श्रमसँग श्रम साटासाट गर्ने चलन थियो, जसलाई पर्म भन्ने गरिन्थ्यो । तर, अहिले श्रमसँग साटासाट हुँदैन । श्रम गरेबापत पैसा लिने भएकाले पनि पर्म प्रथा हराउँदै गएको उपप्राध्यापक अधिकारीले बताए ।