
लगातारको बर्खाले दाउन्नेमा सडक भासिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भासिँदा नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध हुन पुगेको हो ।
भारी वर्षापछि खुर्सानी खोलानजिक सडक भासिएसँगै सोही ठाउँमा लु.१क ५८२७ नम्बरको ट्रक पनि फसेको छ । दाउन्नेको खुर्सानी खोलानजिकै करिब चार फिट सडक भासिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार सडक अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधनहरूलाई बर्दघाटको टिसिएन चोकमा र पश्चिमतर्फ जाने सवारीसाधनहरू दुम्कीबासमा रोकिएका छन् । सडक खुलाउने प्रयास जारी छ । दिउँसोसम्ममा दुईतर्फी खुलाउने गरी प्रयास भएको सडक आयोजनाले सूचना प्रकाशन गरेर जनाएको छ ।
बुटवल–नारायणगढ सडकखण्डको अधिकांश स्थानमा एकतर्फी सडक कालोपत्र भई यात्रा सहज भए पनि दाउन्नेको १४ किलोमिटर सडकखण्डको पूर्वीखण्ड अझै सकसपूर्ण रहेको छ । खुर्सानी खोलामा पटक–पटक सडक भासिँदा याे सडक अवरुद्ध हुँदै आएको छ । दाउन्नेमा अझै पनि पानी पर्नासाथ बाटो हिलो र चिप्लो भएर उकालोमा सवारीसाधन उक्लनै कठिन हुने गर्दछ ।
नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहे पनि दाउन्नेखण्डको १४ किलोमिटर सडकको काम ढिला हुँदा बारम्बार सडक अवरुद्ध हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दाउन्नेमा सडकखण्ड दुईतर्फी नै बन्द हुन पुगेको जनाउँदै वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
यसैगरी, लगातारको वर्षा पछि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– १० लन्डन ब्रिजदेखि उत्तरतर्फको बस्ती डुबानमा परेको छ । यहाँ करिब दुई सय सय घर डुबानमा परेका छन् । यहाँ पानीको उचित निकास नहुँदा बर्खामा पानी जामेर गाउँ नै डुबानमा पर्ने गर्दछ ।