१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
२o८२ असार २३ सोमबार ११:५७:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

योजना बनेको ३१ वर्षपछि राष्ट्रिय सडक सञ्जालमा जोडियो हुम्ला सदरमुकाम

६ सय ८२ किमि लामो कर्णाली करिडोर भारतीय सीमा रुपैडियादेखि चीनको सिमाना हिल्सासम्म पुग्छ

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार ११:५७:oo

सरकारी योजना बनेको ३१ वर्षपछि हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी एक मात्रै जिल्ला सदरमुकाम हुम्लाको सिमिकोटलाई कर्णाली करिडोरमार्फत सञ्जालमा जोडिएको हो । 

कर्णाली करिडोरको हुम्लाको खार्पुनाथमा अवस्थित चुवा खोलामा ५१.८० मिटर लामो बेलीब्रिजको निर्माण भएपछि हुम्ला सदरमुकाम राष्ट्रिय सञ्जालमा मात्रै होइन, सिंगो कर्णाली प्रदेश नै भारत र चीनसँग पनि जोडिएको छ । सदरमुकाम सिमिकोट यसअघि नै कर्णाली करिडोरमार्फत नै चिनियाँ नाका हिल्सासँग जोडिसकेको थियो । अहिले त्यसको तल्लो खण्डको ट्रयाक खुलेपछि कर्णाली प्रदेश भारतसँग पनि जोडिएको छ । 

६ सय ८२ किमि लामो कर्णाली करिडोर दक्षिणमा छिमेकी मुलुक भारतको सीमा रुपैडियादेखि सुरु भएर उत्तर छिमेकी मुलुक चीनको सीमाना हिल्सासम्म गएर टुंगिनेछ । यो करिडोरले त्रिदेशीय व्यापारीक मार्गका रूपमा विकास गरी मुलुकको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्नेसमेत विश्वास गरिएको छ । कर्णाली करिडोर राष्ट्रिय गौरवको आयोजना हो । 

नेपाली सेनाले निर्माण गरेको उक्त चुवा खोला पुल आइतबार एक कार्यक्रमबिच प्रधानमन्त्री केपी ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संयुक्त रूपमा उद्घाटन गरेका छन् । योसँगै अब हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएको सडक विभागका प्रवक्ता इ. प्रभातकुमार झाले बताए । ‘सिमिकोट यसअघि नै सडक सञ्जालमार्फत चिनियाँ नाकासँग जोडिएको थियो । अहिले चुवा खोलामा पुल बनेसँगै कर्णाली करिडोरको तल्लो खण्ड पनि वारपार खुलेको छ । यसले हुम्ला सदरमुकाम सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडेको मात्रै छैन, सिंगो कर्णाली प्रदेशलाई भारत र चीनसँग पनि जोडेको छ,’ उनले भने, ‘रणनीतिक रूपमा यसको ठुलो महत्व छ ।’

हुम्ला जिल्ला भने मंसिर ०७७ मै राष्ट्रिय सडक सञ्जालमा जोडिएको थियो । हुम्ला जिल्लाको तल्लो क्षेत्रका ताँजाकोट, अदानचुली, सर्केगाड गाउँपालिका मंसिर ०७७ मा राष्ट्रिय सडक सञ्जालमा जोडिएका थिए । यद्यपि, सदरमुकाम भने राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी थियो । अब त्यो लक्ष्य पनि पूरा भएको सडक विभागको भनाइ छ । 

कर्णाली करिडोरमार्फत सरकारले पहिलोपटक ०५१ सालमा हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने योजना अघि बढाएको थियो । ०५६ मा कर्णाली करिडोर निर्माणका शिलान्यास गरिएको थियो । त्यसपछि आव ०६९/७० मा पनि सिमिकोटमा योजना कार्यालय स्थापना गरेर काम अघि बढाइएको थियो । पछि बाजुरामा समेत योजना कार्यालय स्थापना गरिएको थियो । उक्त दुई कार्यालयअन्तर्गत कर्णाली करिडोरका कालिकोटको खुलालुदेखि हुम्लाको हिल्सासम्म नयाँ सडक नै निर्माण गर्नुपर्ने थियो । त्यसमा अधिकांश खण्डको निर्माण नेपाली सेनाले गरेको थियो । नेपाली सेनाले नै ९ चैत ०७१ देखि नै काम सुरु गरेको थियो ।

पछिल्लोपटक भौगोलिक रूपमा जटिल रहेको घाटचौरदेखि भुक्का खोलासम्मको सडक खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । हुम्ला सदरमुकामलाई राष्ट्रिय सडक खण्डमा जोड्न यो खण्ड पार गर्नुपर्ने थियो । तर, त्यस खण्डमा कडा चट्टान हुँदा समय लागेको थियो । बममार्फत चट्टान फोरेर सडक ट्रयाक खुलेपछि र पुलसमेत निर्माण भएपछि सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको हो । यो क्षेत्र सिमिकोटदेखि ५५ किमि टाढा पर्छ ।

चीन र भारतको व्यापारिक मार्गका रूपमा विकास गरिने : प्रधानमन्त्री 
उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले यो सडकलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने बताए । आगामी दिनमा सडकको कालोपत्रे गर्दै जाने उनको भनाइ छ । सडकलाई तत्काल दुई लेनमा विस्तार गर्ने उनको भनाइ छ । ‘यो करिडोर हुम्लावासीका लागि मात्रै फाइदाजक छैन, दुई छिमेकी देशसँगको व्यापाररिक मार्ग पनि भएकाले धेरै लाभ लिन सकिन्छ,’ उनले भने, ‘तसर्थ, यसलाई तत्काल दुई लेनमा विस्तार गरिनेछ । साथै कालोपत्र पनि गरिनेछ ।’

सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडान गर्न सुरु गरेको थियो । असार १० गते नै उक्त पुलको निर्माण सकिएको थियो । त्यहाँ पक्की पुल पनि निर्माण गर्ने योजना छ । योजना बनेको ३१ वर्षपछि र निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।

करिडोरले हुम्ला र कर्णालीका जनतालाई सहज
कर्णाली करिडोरको उक्त खण्ड सञ्चालनमा आएसँगै हुम्जा जिल्ला र कर्णाली प्रदेशका जनतालाई अब सहज हुने विश्वास गरिएको छ । अहिले हुम्ला जिल्लाबाट बाहिरिने उपयुक्त माध्यम हवाईजहाज मात्रै थियो । पैदलमार्फत जिल्लाबाट बाहिरिन ५–६ दिनसम्म लाग्ने गरेको थियो । खाद्यान्न ढुवानीको समेत उचित माध्यम नहुदाँ त्यहाँ महँगी पनि बढी हुने गरेको थियो । अन्य जिल्लाको तुलनामा त्यहाँ अधिकांश वस्तुको मूल्य १० गुणासम्म बढी हुने गरेको थियो । त्यो अवस्थामा सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि त्यहाँका जनतालाई धेरै सहज हुने विभागका प्रवक्ता झा बताउँछन् । साथै, सिंगो कर्णाली प्रदेशलाई पनि सहज हुने उनले बताए । ‘पहिला त्यहाँ ढुवानी खर्च नै बढी लाग्थ्यो । तर, अब त्यो बाध्यता हट्यो । कर्णालीमा भारतबाट भन्दा चीनबाट सामान ल्याउँदा सस्तो पर्छ जस्तो लाग्छ । यातायातको सुविधा त भई नै हाल्यो,’ उनले भने, ‘यसरी यसले हुम्ला जिल्लावासी र कर्णाली प्रदेशका जनतालाई धेरै सहजता प्रदान गर्ने देखिन्छ ।’

सडक भने कच्ची, बाह्रै महिना नचल्ने 
यद्यपि, अहिले त्यहाँका सडकहरू भने कच्ची स्वरूपमा छन् । साथै, सडकलाई बाह्रै महिना सञ्चालन गर्न चुनौती रहेको सडक विभागका एक उच्च अधिकारीले बताए । अझै पनि खहरे खोलाहरूमा पुल निर्माण गर्न बाँकी छ । कतिपय पुलको ठेक्का लाग्न बाँकी छ । त्यो अवस्थामा सडकलाई बर्खाको समयमा सञ्चालन गर्न नसकिने स्रोतको भनाइ छ । पुल नबनेसम्म हिउँदमा मात्रै सडक सञ्चालन गरिने स्रोतले बतायो । ‘यसै पनि सडक कच्ची हो । साथै, विभिन्न खहरे खोलाहरूमा पुल बन्न बाँकी छ । बर्खाको समयमा यो सडक सञ्चालन गर्न चुनौती छ,’ स्रोतले भन्यो, ‘हिउँदमा मात्रै सडक सञ्चालन गर्न सकिन्छ । यद्यपि, त्यस्तो विकट ठाउँमा यत्तिको काम गर्न सकियो, यसलाई महत्वपूर्ण मान्नुपर्छ ।’

ग्राभेल गर्न ठेक्का आह्वान, कालोपत्रेका लागि पर्ख र हेरको अवस्था
विभागले कच्ची सडकको ग्राभेल गर्न ठेक्का आह्वान गरिसकेको छ । ११ मिटर चौडाइसम्म सडक ग्राभेल गर्ने गरी टेन्डर आह्वान भइसकेको विभागका प्रवक्ता झाले बताए । ठेकदार कम्पनी छनोट भएपछि ग्राभेलको काम अघि बढ्ने उनको भनाइ छ । यद्यपि, सडक कालोपत्रे गर्न तत्काल हतार नगरिने उनले बताए । ‘यसै पनि केही समय सडकलाई सेट (स्थिर) हुन दिनुपर्छ । त्यसपछि मात्रै कालोपत्रे गर्दा राम्रो हुने हो । त्यसमाथि त्यहाँ सवारीसाधनको चाप तत्काल बढ्ने देखिएको छैन । न्यून ट्राफिक हुने ठाउँमा कालोपत्रे गर्दा त्यति लाभ हुने देखिन्न । आगामी दिनमा त्यहाँ ट्राफिक चाप कस्तो हुन्छ, त्योअनुसार कालोपत्रेको योजना बन्छ,’ उनले भने, ‘कालोपत्रेका लागि अहिले नै योजना बनिसकेको छैन ।’