१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नसिरुद्दिन शाह
२o८२ असार २३ सोमबार ११:o९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

के देशप्रेम प्रमाणित गर्नैपर्छ र ?

म आफ्नो देशप्रेम वा कुनै पनि भावनालाई देखावटी रूपमा प्रदर्शन गर्न आवश्यक ठान्दिनँ 

Read Time : > 2 मिनेट
नसिरुद्दिन शाह
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार ११:o९:oo

मेरो बाल्यकाल तीन फरक परिवेशमा बित्यो । पहिलो पुरातनपन्थी मुस्लिम घर, त्यसपछि रोमन क्याथोलिक र जेसुइट ख्रिस्टियन विद्यालय । ती प्रत्येक संस्कारले आ–आफ्नो हिसाबले केही न केही दिए, तर म तीमध्ये कुनैमा पनि पूर्ण रूपमा विश्वस्त हुन सकिनँ । आफ्नै धर्मबारे पनि के राम्रो, के नराम्रो लाग्छ भन्नेमा म बाल्यकालदेखि नै सचेत थिएँ । जस्तो कि ‘हामीबाहेक सबै नर्कमा जान्छन् भन्ने विचार मलाई सधैँ अन्यायपूर्ण लाग्यो, जसलाई म कहिल्यै स्विकार्न सक्दिनँ ।

हामी साना छँदा भव्य जैन मन्दिर पुष्कर गएका थियौँ, ‘अढाई दिनका झोँपडा’मा रहेको दरगाह पनि हेर्‍यौँ, जहाँ गेरुवा पहिरनका जटाधारी साधु हरियो रुमाल बाँधेका सुफी फकिरसँग चिलिम साट्दै थिए । त्यहाँ शिख र हिन्दु तीर्थयात्री पनि प्रशस्त थिए । हिन्दु मूर्तिले भरिएको स्थानमा नमाज पढ्नु मलाई अत्यन्तै अनौठो र रोचक लागेको थियो । शंकर–शम्भुले ‘ख्वाजा जी’को भजन गाउने क्रममा उपमहाद्वीपका कैयौँ ‘कौव्वाल’ र ‘एक बाउल’ गायकले प्रशंसा गरेका थिए ।

मैले कहिल्यै आफूलाई मुस्लिम ठानिनँ । जहाँ पुगेँ त्यहाँ आफूलाई बाहिरियाजस्तो महसुस भएन । त्यो मेरो देश थियो र आज म त्यो देशलाई गहिरो रूपमा सम्झन्छु । तर, आज फैलिँदै गएको उग्रराष्ट्रवाद, घृणा र युद्ध उन्मादले संकीर्णता खुला रूपमा व्यक्त हुने वातावरण बनाएको छ । देशको दिशाप्रति चिन्तित हुनेहरूका लागि यो अवस्थाले गहिरो भय र दु:ख जन्माएको छ । 

हिन्दी फिल्मको मौजुदास्तरको आलोचना गर्दा ‘कृतघ्न’ भएको आरोपमा लाग्छ, शान्ति र भाइचाराको अपिल गर्नु ‘देशद्रोह’ ठहरिन्छ, ट्राफिक बत्ती र संकेत पालना गरेनौ भनेर आलोचना गर्दा तिमी आफ्नै फलाना ठाउँमा जाऊ भन्ने नसिहत आउँछ र कुनै कलाकारको पक्षमा बोल्दा ‘देशविरुद्ध बोलेको’ ठानिन्छ । थोरै मात्र आलोचनात्मक कुरा गरे पनि त्यसलाई तोडमोड गरेर ‘राष्ट्रविरोधी’ बनाइन्छ । राष्ट्रवादी कोकोहोलोबिच चर्चित टेलिभिजन सिरियल ‘अनुपमा’का मुख्य कलाकारले त व्यंग्य गर्दै ‘पाकिस्तानले भारतीय कलाकारलाई कला प्रदर्शन गर्न दिन्छ त ?’ भनेका छन् । तर, उनलाई पाकिस्तानले प्रदर्शन गर्न दिने मात्रै नभई उल्टो स्वागत र सम्मानसमेत गर्छ भन्ने थाहा छैन । त्यसोभए भारतमा पाकिस्तानी कलाकार नुसरत फतेह अली खान, मेहदी हसन वा फरिदा खानमको संगीत सुन्ने सबै देशद्रोही हुन् त ?

सीमापार गरेर समकक्षी नेतासँग अँगालो हाल्न पाउने अधिकार त केवल प्रधानमन्त्रीलाई मात्रै छ । हामीजस्ता साधारण नागरिकका लागि त्यो पाप मानिन्छ । पाकिस्तानी सेनाले गर्ने कामका लागि हरेक पाकिस्तानी नागरिकलाई घृणा गर्दा के यसले हामीलाई फाइदा गर्छ वा केवल हाम्रो कुनै आदिम हिंस्रक भावना सन्तुष्ट हुन्छ ?

जर्ज अर्वेलको पुस्तक ‘१९८४’ मा एउटा दैनिक अनिवार्य कर्मकाण्ड छ जहाँ सबैले जेजस्तो अवस्थामा भए पनि विपक्षी नेतामाथि गाली–गलौज गर्नुपर्छ । यसलाई ‘दुई मिनेटको घृणा’ भनिन्छ र यसमा सबैको सहभागिता अनिवार्य छ । आज त्यो दुई मिनेट बढेर २४सै घण्टाको घृणा भइसकेको छ र यो अब केवल विपक्षी नेतामा मात्र सीमित छैन । यति विषाक्तता हावामा फैलिइरहँदा पनि म डराउँदिनँ, निराश पनि हुन्नँ, तर दु:ख भने अवश्य लाग्छ । घृणा आत्मविनाशकारी हुन्छ, तर कतिपय ‘गौरक्षक’हरूको अविरल गतिविधि हेर्दा घृणा अनन्तकालसम्म पनि टिक्न सक्छ भन्ने लाग्छ । 

केही ‘राष्ट्रवादी’ र पैसा लिएर द्वेष फैलाउने ट्रोल जसलाई सभ्य लवजमा बोल्न र लेख्नका लागि साँच्चिकै मद्दतको आवश्यकता छ तिनका लागि म सजिलो निसाना हुँ । किनभने म आफ्नो देशप्रेम वा कुनै पनि भावनालाई देखावटी रूपमा प्रदर्शन गर्न आवश्यक ठान्दिनँ । ती भावना मेरा हुन्, अरूका होइनन् र म महसुस गर्छु, म जान्दछु र यी भावनामा दखल दिनु कसैको अधिकार होइन ।

म भारतमा पाँचौँ पुस्तादेखिको मुसलमान परिवारमा जन्मेको हुँ । मेरी पत्नी मेरो परिवारभन्दा पुरानो हिन्दु परिवारकी हुन् र हामी हाम्रा छोराछोरी दुवै संस्कृतिको उत्कृष्ट पक्षको संगम बनून् भन्ने चाहन्छौँ । मेरा काका पाकिस्तान गएका थिए, तर बुबा जान मानेनन् । भारतमा हाम्रो भविष्य छ भन्नेमा उनी विश्वस्त थिए र आफ्ना सन्तानका लागि त्यस्तै विश्वास मलाई पनि छ । यो सपना त्यत्तिकै त्याग्न सकिँदैन ।

यदि म दिलजित दोसाँधका समर्थनमा लेखिएको मेरो फेसबुक पोस्ट (जुन मेटिएको नभई हटाइएको हो)को स्पष्टीकरण दिन खोजिरहेको छु भन्ने ठानिन्छ भने ठिकै छ । तर, साँचो के हो भने मलाई केही पनि स्पष्ट पार्न आवश्यक छैन । जे भन्नु थियो भनिसकेको छु र म त्यसमा अडिग छु । फिल्म उद्योगबाट समर्थन नपाएकामा पनि म निराश छैनँ, किनभने उनीहरूसँग गुमाउने चिज धेरै भएकाले चुप छन् वा मसँग सहमत छैनन् । र, ती ट्रोल विशेषत: जसले मलाई ‘पाकिस्तान होइन अब तँ कब्रस्तान जा’ भनेका थिए, तिनका लागि जिगर मुरादाबादीको नज्म उद्धृत गर्न चाहन्छु :

 ‘मुझे दे न गैज में धमकियां, गिरें लाख बार ये बिजलियां,
 मेरी सल्तनत यही आशियां, मेरी मिल्कियत यही चार पर ।‘
 (क्रोधमा आएर मलाई धम्की नदेऊ, लाखौँ बज्र खसे पनि खसून्,
मेरो सल्तनत यही सानो गुँड हो, मेरो सम्पत्ति यिनै चार पखेँटा हुन् ।)

(शाह अभिनेता एवं लेखक हुन्) द इन्डियन एक्सप्रेसबाट