
नक्कली नोट तथा लागुऔषध कारोबारको अभियोगमा पटक–पटक पक्राउ परी जेल सजाय पाएर छुटेका व्यवसायी युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले शुक्रबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
अन्सारीले भारतीय जाली नोटसमेतको कसुर गरी प्राप्त गैरकानुनी स्रोतबाट प्राप्त रकम धारण गरी लुकाउने, छल्ने र स्वामित्व परिवर्तन गर्ने काम गरेको अभियोग छ । अन्सारीविरुद्ध नौ करोड नौ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।
त्यस्तै, उनकी श्रीमती सालमा खातुनसहित बाराका प्रमिला अधिकारी र शुभेश्वरप्रसाद कुशवाहलाई पनि प्रतिवादी बनाइएको छ । साथै, नेसनल टेलिभिजन प्रालिमार्फत सम्पत्ति शुद्धीकरण गरिएको भन्दै सो टेलिभिजनविरुद्ध पनि मुद्दा दायर भएको छ । सो टेलिभिजन हाल बन्द छ ।
अन्सारीविरुद्ध २०६६ सालयता जाली नोटको कारोबारलगायत विभिन्न अभियोग लागेको थियो । जसमा दोषी ठहर भई उनी गत महिना मात्र छुटेका थिए। छुटेलगत्तै सिआइबीले नियन्त्रणमा लिएर उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा अर्काे मुद्दा दायर गरेको हो ।