
शुक्रबार साँझ बस्न नसकेपछि आज १ बजेका लागि बोलाइएको बागमती प्रदेश सभा बैठक पुनः ३ बजेका लागि सारिएको छ । बागमती प्रदेशसभा बैठक संचालन गर्न प्रतिपक्ष दलहरुले बजेटको पुरक प्रस्ताव माग गरेपछि बैठक सारिएको हो। सरकारले प्रस्तुत गरेको बजेट कार्यक्रममा छुटेका विषयहरु समेटेर पुरक प्रस्ताव संसदमा नल्याएसम्म बैठक चल्न नदिने माओवादी केन्द्रले अडान राखेको छ। माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले संसदमा बजेटको पुरक प्रस्ताव दर्ता नभएसम्म बैठक चल्न नसक्ने स्पष्ट पारे ।
उनका अनुसार सरकारसँग शुक्रबारबाटै निरन्तर छलफल भइरहेको र सरकारलाई प्रतिपक्षको तर्फबाट सहमतिमा उल्लेख भएका विषयहरु कार्यानवयन गर्न तथा बजेटको पुरक प्रस्ताव ल्याउन माग गरिएको हो। सरकारले प्रतिपक्षको मागका सन्दर्भमा सकारात्मक देखिएर आवश्यक प्रवन्धमा लागेको उनको दाबी छ। सरकार पनि माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुको मागका विषयहरु सम्बोधनमा लागेको मुख्यमन्त्री बहादुर सिंह लामा तामाङको सचिवालयले जनाएको छ। सचिवालयका एक सदस्यका अनुसार संसदमा दर्ता भएको संकल्प प्रस्तावमा नै उक्त पुरक प्रस्ताव समावशे गर्ने विषयमा प्रक्रिया मिलाउन मुख्यमन्त्री लामा लागिरहेका छन्।
संकल्प प्रस्तावमा नै माओवादीले माग गरेका विषयहरु समेटेर बजेटको पुरक प्रस्ताव कार्यक्रम सहित राखेर पठाउने तयारी भइरहेको ती सदस्यको भनाइ छ । उक्त संकल्प प्रस्तावलाई संसदले पास गरेर सरकारलाई निर्देशन दिने र छुटेका कार्यक्रमहरु समेटेर कार्यानवयनमा जाने गरी सरकारले तयारी गरेको उनले बताए।
उता प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले भने संसद चलाउने र प्रतिपक्षको मागका विषयमा तत्काल कुनै निश्कर्ष ननिस्किएको बताए । माओवादीले माग गरे अनुसार बजेटको पुरक प्रस्ताव ल्याउने सम्भावन नरहेको उनको भनाइ छ ।