
काल्पनिक विद्यालय खडा गरी भवनका नाममा सात लाख ६० हजार रुपैयाँ सरकारी रकम हिनामिना भएको पाइएको छ । हुँदै नभएको विद्यालयका नाममा भवन बनाउने भनेर रकम लगी हिनामिना गरेको आरोपमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली प्रदेशका पूर्वमन्त्रीसमेतलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
डोल्पाको साबिक दुनै गाविस वडा नम्बर २ र ३ तिप्लामा दुर्गा प्राथमिक विद्यालयको नाममा रकम लगेर हिनामिना गरेको आरोपमा अख्तियारले जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पञ्जियार, लेखापाल मणिराम कुर्मी फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगीता बुढाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले विभिन्न भूमिकामा मिलेमतो गरी रकम हिनामिना गरेको अख्तियारको आरोप छ । उपभोक्ता समिति अध्यक्ष बुढा कर्णाली प्रदेशका पूर्वमन्त्रीसमेत हुन् । उनी ०७८ मा कर्णालीको भूमि व्यवस्थामन्त्री भएका थिए । उनी एमाले नेता हुन् ।
जुन स्थानमा र जुन विद्यालयको नाममा रकम लगेर खर्च गरिएको छ, त्यस स्थानमा विद्यालय अस्तित्वमै नरहेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । साबिक गाविसका ती वडा अहिले ठुलीभेरी नगरपालिका वडा नम्बर ४ मा पर्छ । यस वडामा एउटै मात्र लालीगुँरास आधारभूत विद्यालय सञ्चालनमा छ । साबिक गाविसमा दुर्गा प्राथमिक विद्यालय नामको काल्पनिक विद्यालय खडा गरेर आपसी मिलेमतो र योजनामा हुँदै नभएको विद्यालयका लागि दुईकोठे भवन निर्माणका लागि सात लाख ६० हजार रुपैयाँ रकम विनियोजन गरिएको थियो । यसका लागि काल्पनिक उपभोक्ता समिति गठन गरिएको थियो । यो घटना भने आर्थिक वर्ष ०६७/६८ को हो ।
उक्त आवमा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको व्यहोराको पत्र जिल्ला शिक्षा कार्यालय डोल्पाले अख्तियारलाई पठाएको छ । साबिक गाविसका दुवै वडामा लालीगुँरास आधारभूत विद्यालय मात्रै भएको र दुर्गा प्राविको नामले हालसम्म कुनै पनि विद्यालय नभएको अख्तियारबाट खटिएको प्राविधिक टोलीले गरेको स्थलगत मुचुल्कासमेतबाट देखिएको देखिएको आरोपपत्रमा उल्लेख छ ।
जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्रमुख इन्जिनियर पञ्जियारको सिफारिसमा उपभोक्ता समितिको नाममा खाता खोली जस्ताको छानासहितको दुईकोठे भवन निर्माण गरेको भनी झुटा तथा नक्कली कागजात तयार गरी गराई चेकमार्फत सात लाख ६० हजार रुपैयाँ रकम भुक्तानी दिए लिएको पुष्टि भएको अख्तियारको दाबी छ । हिनामिनामा संलग्न जिल्ला प्राविधिक कार्यालय दुनैका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर पञ्जियार, तत्कालीन लेखापाल कुर्मी, काल्पनिक विद्यालय दुर्गा प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र समितिकै कोषाध्यक्ष संगीता बुढाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध जनही सात लाख ६० हजार रुपैयाँ रकम बिगो दाबी अख्तियारले गरेको छ ।