
नेपालमा कोभिड– १९ को संक्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड– १९ को संक्रमण विभिन्न जिल्लामा देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड– १९ संक्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का २४९ जनामा कोरोना संक्रमण देखा परेको छ ।
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड– १९ बाट एकजनाको मृत्युसमेत भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कोभिड– १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमानाकामा रहेका हेल्थ डेस्कमा कोभिड– १९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए। उनले भने, ‘सबै सीमानाकाका हेल्थ डेस्कमा कोभिड– १९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।’
कोभिड– १९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न संक्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, व्यक्तिगत सरसफाइमा ध्यान दिनेजस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ । उनले कोभिड– १९ प्रभावित क्षेत्रबाट आएका र कोभिड– १९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टिन–आइसोलेसन’मा बस्न आग्रह गरे ।