१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार ७ शनिबार
  • Saturday, 21 June, 2025
ज्ञानेन्द्रविक्रम महत
२o८२ असार ७ शनिबार o७:५९:oo
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

योग : स्वस्थ रहने कला

सन्दर्भ : ११औँ अन्तर्राष्ट्रिय योग दिवस

Read Time : > 2 मिनेट
ज्ञानेन्द्रविक्रम महत
नयाँ पत्रिका
२o८२ असार ७ शनिबार o७:५९:oo

योगमा मानवजीवनको सुवास छ, अनि सौन्दर्य र लालित्य पनि । यसैमा हाम्रो जीवनको पूर्णता छ । योग, आयुर्वेद, प्राकृतिक चिकित्सा एवं सनातन, वैदिक, आध्यात्मिक जीवनशैली हाम्रो मूल संस्कृतिसमेत हो । प्रातकालदेखि रात्रि शयनकालसम्म जीवनका हरेक गतिविधिलाई अनुशासनपूर्वक ईश्वरार्पण गर्दै यौगिक रूपमा सञ्चालित हुनु नै वास्तविक जीवन्तता हो ।

धर्म, अर्थ, काम एवं मोक्ष– यी चार पुरुषार्थ सिद्ध गर्नका लागि हामी स्वस्थ हुन आवश्यक छ । जब शरीर रोगग्रस्त हुन्छ, त्यहाँ कहाँ सुख, शान्ति एवं आनन्द प्राप्त हुन्छ र ? भलै धन, वैभव, ऐश्वर्य, इष्ट, कुटुम्ब तथा नाम, यश आदि सबैको प्राप्ति भए पनि शरीरमा रक्तसञ्चार ठिक छैन, अंग–प्रत्यंग सुदृढ छैनन्, अनि स्नायु पद्धतिमा शक्ति छैन भने शरीर मुर्दासरह हुन्छ । हाम्रो निरोग देह अनि स्वस्थ मन प्राप्त हेतु योग आयुर्वेद आदिको प्रादुर्भाव प्राचीनकालदेखि नै भएको पाइन्छ । पतञ्जली योग पीठ, हरिद्वार भारतका संस्थापक अध्यक्ष योग ऋषि स्वामी रामदेवजी तथा महासचिव आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजीद्वारा निर्धारित दैनिक योगाभ्यास तालिका अनुसार– मन्त्रोच्चारण, यौगिक जगिङ, सूर्य नमस्कार, परम्परागत व्यायाम, आसन, योग निन्द्रा, प्राणायाम र प्रणव ध्यान योग गरी ६२ प्रकारका क्रियालाई युगीन योग प्याकेजको रूपमा विश्वसमक्ष प्रस्तुत गरिएको छ । जसमा योग र व्यायामलाई सुन्दर तरिकाले समायोजन गरिएको छ ।

उल्लिखित योग प्रक्रियामा प्राणायाम (प्राण+आयाम्) मानव स्वस्थ्यका लागि अति विशिष्ट महत्व छ । किनभने हाम्रो देहमा जीवन्तता, चैतन्य केवल मात्र अक्सिजनबाट प्राप्त हुन्छ जुन प्राणायामका प्रकारका अभ्यासबाट पाउँछौँ । शरीरमा चाहिने भित्री ऊर्जालाई अधिक सबल बनाउनमा अक्सिजनको मूल भूमिका रहेको हुन्छ ।

शारीरिक श्रमको कमी, तनावविरुद्ध आहार, अनियमित दिनचर्या, असम्यमित जीवनशैलीका कारण बात, पित्त अनि कफको असन्तुलन हुन्छ । यिनै विषमताको परिणामस्वरूप उच्च रक्तचाप, मधुमेह, मोटोपन, हृदयरोग, अपचन, अनिद्राका साथ क्यान्सरजस्तो असाध्य रोग पनि उत्पन्न हुन सक्छ ।

मानव शरीरका विषमताको सफल उपचार माथि भनेजस्तै प्राणायाम– योगको प्रयोगबाट सफल भएको तथ्य ठुल्ठुला वैज्ञानिकहरू (पतञ्जली रिसर्च इन्स्टिच्युट हरिद्वार भारत)को अनुसन्धान अनि विश्वभरका करोडौँ योगानुरागीको प्रत्यक्ष अनुभवबाट सकारात्मक परिणाम प्राप्त भएको छ । किनभने, प्राणायामबाट हामी अक्सिजनयुक्त रगत, आन्तरिक सूक्ष्म व्यायाम अनि सकारात्मक जीवनशैली पाउँछौँ । मानसिक रूपमा श्रद्धा, समर्पण, आस्था, विश्वास, प्रेम अनि सकारात्मक चिन्तन जागृत गराई एक स्वस्थ तथा चिन्तामुक्त जीवनको प्रारम्भ हुन्छ । यस पवित्र विधाबाट हामी सेल्फ हिलिङ, सेल्फ–मेडिसियन, सेल्फ–ट्रिटमेन्ट अनि एन्टिएजिंगको प्रत्यक्ष लाभ प्राप्त गर्न सक्छौँ । यो अनुभवले प्रमाणित गरेको तथ्य हो । अनुभव भनेको विज्ञान हो ।

११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा जनसमुदायमा नम्र निवेदन गर्न चाहन्छु कि यो दिव्य योग मार्गमा– योगगुरुको दक्ष प्रशिक्षणपछि प्रवेश गर्नुहोस् । यहाँहरूको अनुभवले सकारात्मक परिणामको प्राप्ति प्रमाणित गर्ने नै छ र जीवनको महत्व बुझ्नुहुने नै छ ।

अतः हाम्रो जीवनको मूल मन्त्र प्राणायामप्रतिको संकल्प नै हो । योग प्राणायामको महत्वलाई बुझी यस विधामा नयाँ विद्यार्थीका रूपमा प्रवेश गर्ने जमातको ठुलो चाप पतञ्जली योग समितिमा छ र त्यो समूहले अष्टांग योगको महत्वपूर्ण भाग प्राणायाम र यसले मानव स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे चासो राखेको पाइन्छ । जसको प्रकार र प्रभाव निम्न उल्लेख गर्न चाहन्छु–

  • भस्त्रीका प्राणायाम (फोक्सो सबल)
  • कपालभाती प्राणायाम (अनुहारमा ओज र तेज आउँछ, डिप्रेसन, भावनात्मक असन्तुलन, मनोरोग, आमाशय, अग्नाशय, उच्च रक्तचाप, मधुमेह आदिमा राहत) 
  • बाह्य प्राणायाम (पाइल्स, फिस्टुला आदिको उपचारमा लाभदायक)
  • उज्जायी प्राणायाम (थायराइड, स्नोरिङ, टंगसिलसम्बन्धी रोगको उपचार )
  • अनुलोम–विलोम प्राणायाम (क्यान्सर, सोराइसिस, माइग्रेन, उच्च रक्तचाप, तनाव, अनिद्रामा राहत )
  • भ्रामरी (पार्किन्सन, अल्जाइमर, डिप्रेसन आदिको सफल उपचार) 
  • उद्गिथ (उत्तेजनाको ह्रास)
  • प्रणव वा ध्यान योग (श्वास–प्रश्वासमाथि मन टिकाउने जसबाट अनुपम दिव्य आनन्द प्राप्ति)

अन्त्यमा, सम्पूर्णजनमा पुनः हार्दिक निवेदन गर्न चाहन्छु कि योग एक आत्मानुशासन, व्याधिमुक्त अनि समाधियुक्त जीवनको संकल्पना हो । आत्मोपचार एवं आत्मदर्शनको श्रेष्ठ मार्ग पनि हो । अतः यस पवित्र मार्गमा स्वस्फूर्त रूपमा समाहित हुन ११औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा हार्दिक निवेदन गर्दै न्यानो शुभकामना टक्र्याउन चाहन्छु ।

(पूर्वप्रहरी नायब महानिरीक्षक महत पतञ्जली योगसमिति नेपालका संरक्षक हुन् ।)