
तीव्र गतिका बलर नन्दन यादवको एकदिवसीय क्रिकेटको डेब्यु यादगार र सानदार बनेको छ। आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेलमा अवसर पाएका नन्दनले उत्कृष्ट बलिङ प्रदर्शन गरेका छन्। उनको धारिलो बलिङको मद्दतमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गर्यो ।
सोमपाल कामी र गुल्सन झा घाइते भएपछि अवसर पाएका उनले आफूलाई प्रमाणित गरेका छन्। नेदरल्यान्ड्सका तीन महत्त्वपूर्ण ब्याट्सम्यादको विकेट लिएका उनले डेथ बलिङमा पनि आफ्नो क्षमता देखाएका छन्। वाइड योर्कर फाल्ने उनको क्षमताको पनि प्रशंसा भइरहेको छ।
नौ ओभरमा जम्मा उनले ३९ रन दिएका थिए। अर्का अनुभवी तीव्र गतिका बलर करण केसीलाई डच ब्याट्सम्यानहरूले रन हानिरहँदा नन्दनको बल खेल्न उनीहरूलाई कठिन भएको थियो। सिनियर बलरको विकल्पमा नेपालले भरपर्दा तीव्र गतिमा बलरका रूपमा नन्दनलाई अघि बढाउने सम्भावना छ।