
सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा फिफा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्दै छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले एक वर्षपछि आयोजना हुने विश्वकप प्रतिस्पर्धात्मक बनाउन पहिलोपटक ४८ राष्ट्रलाई सहभागी गराउनेछ । यसअघि कतारले आयोजना गरेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए । फिफाले विश्वकपका लागि छनोट प्रतियोगिता आयोजना गरिरहेको छ । आयोजक राष्ट्रका रूपमा अमेरिका, क्यानडा र मेक्सिको स्वतः छनोट भएका थिए ।
यसबाहेक ४५ राष्ट्रले विभिन्न चरणको छनोट प्रतियोगिता पार गरी विश्वकपमा स्थान बनाउनेछन्, जसमा अहिलेसम्म १३ राष्ट्रले स्थान पक्का गरेका छन् । १० राष्ट्रले छनोट चरणका माध्यमबाट विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेका छन् । विश्वकपमा सर्वाधिक छनोट हुने राष्ट्र ब्राजिल हो । ब्राजिल लगातार २३औँपटक विश्वकपमा पुगेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिलले बुधबार बिहान पाराग्वेलाई १–० ले हराउँदै स्थान पक्का गरेको हो ।
एसियाबाट जोर्डन र उज्वेकिस्तान पहिलोपटक विश्वकपमा पुगेका छन् । सन् १९८६ देखि दक्षिण कोरिया लगातार छनोट भएको छ । दक्षिण कोरियाको यो लगातार ११औँ विश्वकप यात्रा हुनेछ । यसैगरी, एसियाबाट जापान र इरानले पनि विश्वकप खेल्ने पक्का गरिसकेका छन् । जापान र इरानले एसियन छनोटअन्तर्गत तेस्रो चरणमा जित निकाली विश्वकपका लागि टिकट पक्का गरेका हुन् । यसैगरी, अस्ट्रेलियाले पनि लगातार छैटौँपटक विश्वकप खेल्ने सुनिश्चित गरिसकेको छ । अस्ट्रेलियाले साउदी अरेबियालाई २–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि लगातार छैटौँपटक स्थान सुरक्षित गरेको हो । साउदी अरेबियाले खेलको १९औँ मिनेटमा अग्रता लिए पनि अस्ट्रेलियाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्यो । यसैगरी, ओसियाना क्षेत्रबाट न्युजिल्यान्ड छनोट भएको छ ।
विश्वकपमा पुग्ने अर्जेन्टिना पहिलो राष्ट्र
अर्जेन्टिना विश्वकपको साबिक विजेता हो । अर्को वर्ष हुने विश्वकपमा छनोट चरण माध्यमबाट स्थान पक्का गर्ने अर्जेन्टिना पहिलो राष्ट्र हो । अर्जेन्टिनाले दक्षिण अमेरिकी छनोट चरणमा सर्वाधिक १६ खेलबाट सर्वाधिक ३५ अंक जोडेको छ । अर्जेन्टिनाले ११ जित, दुई बराबरी र तीन हारको सामना गरेको छ । पछिल्लो पाँचमध्ये चार खेलमा अर्जेन्टिनाले जित निकालेको छ । यसैगरी, दोस्रो स्थानमा रही इक्वेडरले पनि विश्वकपमा स्थान बनायो । इक्वेडरले पेरुसँग बराबरी नतिजा निकाली छनोट चरण पार गरेको हो । इक्वेडरले १६ खेलमा समान सात जित र बराबरी नतिजा निकालेको छ । दुई खेलमा हार व्यहोरेको इक्वेडरले २५ अंक बनाएको छ ।
ब्राजिल लगातार २३औँपटक छनोट
विश्वकपको सर्वाधिक पाँचपटकको विजेता ब्राजिलले १६औँ खेलमा पाराग्वेलाई हराउन मिहिनेत गरेको थियो । पाराग्वेमाथिको कठिन जितका साथ ब्राजिल दुई खेलअगाडि नै विश्वकपमा पुग्यो । ब्राजिलले कीर्तिमानी रूपमा लगातार २३औँपटक विश्वकप खेल्ने सुनिश्चित गरेको हो । विश्वकपको पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आएको एक मात्र राष्ट्र ब्राजिल मात्र हो । ब्राजिल कम्तीमा तेस्रो स्थानमा रहेर विश्वकप खेल्ने पक्का गरेको हो । ब्राजिल १६ खेलमा २५ अंकका साथ तेस्रो स्थानमा छ ।
पाराग्वे समान खेलबाट २४ अंकका साथ चौथो स्थानमा छ । ब्राजिलको जितमा एक मात्र गोल भिनिसियस जुनियरले गरेका थिए । उनले खेलको ४४औँ मिनेटमा म्याथ्युस कुन्हाको पासमा गोल गरेका हुन् । यसैगरी, उरुग्वेले भेनेजुएलालाई २–० ले हरायो । बोलिभियाले चिलीलाई समान २–० ले पराजित गर्यो । अर्जेन्टिना कोलिम्बयासँग १–१ को बराबरीमा रोकियो ।
विश्वकपमा स्थान पक्का गर्न निर्णायक गोल गरेका भिनिसियसले खुसी व्यक्त गरेका छन् । ‘यो नतिजाबाट निकै खुसी छु । हामीलाई घरेलु दर्शकसामु जित्न आवश्यक थियो,’ उनले भने, ‘विश्वकपमा छनोट हुने पनि जुन हाम्रो लक्ष्य थियो ।’ भिनिसियसले विश्वकपको तयारी र टोलीमा सुधार गर्नु आवश्यक पक्ष औँल्याएका छन् । ‘अब अझ धेरै समय हुनेछ । कुन पक्ष सुधार गर्न सकिन्छ भन्ने बुझ्नका लागि,’ उनले भने, ‘यद्यपि, हामीले पाराग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेनौँ, तर छनोटमा सबैभन्दा महत्वपूर्ण पक्ष हो ।’
युरोपबाट १६ राष्ट्र छनोट हुने
विश्वकपमा युरोपियन राष्ट्रको दबदबा छ । फिफाले विश्वकपमा सधैँजसो धेरै कोटा राखेको महादेश नै युरोप हो । अर्को संस्करण ४८ राष्ट्रबिच हुँदा युरोपबाट सर्वाधिक १६ राष्ट्रले भाग लिनेछन् । युरोपपछि अफ्रिकी महादेशबाट धेरै राष्ट्र विश्वकपमा हुनेछन् । त्यहाँबाट नौ राष्ट्रले अर्को संस्करणमा प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि एसिया हो । एसियाबाट यसपटक सीधै आठ राष्ट्र विश्वकपमा पुग्नेछन् । अब एसियाबाट दुई राष्ट्र टोली सीधा छनोट हुन बाँकी छ ।
यसैगरी, उत्तर अमेरिका र दक्षिण अमेरिकाबाट समान ६ राष्ट्र विश्वकपमा पुग्नेछन् । ओसियानाबाट एक राष्ट्र हुनेछ । युरोपबाहेक अरू क्षेत्रका लागि प्लेअफ कोटाको प्रावधान छ । दुई टोली अन्तरमहादेशीय प्लेअफबाट छनोट हुने प्रावधान छ । ४८ राष्ट्रलाई समान चार टिम विभाजन गरी १२ समूहबिच विश्वकपमा प्रतिस्पर्धा हुनेछ । १२ समूहका शीर्ष दुई टोली र तेस्रो स्थानमा रहने उत्कृष्ट आठले विश्वकपको दोस्रो चरणमा स्थान पक्का गर्नेछन् । फिफा विश्वकप २०२६ मा क्यानडा, अमेरिका र मेक्सिकोमा गरी १६ सहरमा खेल हुनेछ ।
एक वर्षपछि प्रतियोगिता
छनोट प्रक्रिया विभिन्न महादेशमा तीव्र गतिमा जारी रहेको छ । विश्वकपको अन्तिम राष्ट्रहरूको नाम ३१ मार्च २०२६ मा हुनेछ । ११ जुन २०२६ मा मेक्सिको सिटीबाट प्रतियोगिता सुरु हुनेछ । यसको फाइनल १९ जुलाईमा अमेरिकाको न्यु जर्सीमा हुनेछ । सन् १९९४ पछि अमेरिकाले विश्वकप आयोजना गर्ने अवसर पाएको हो ।