
उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश डा. खुसीप्रसाद थारूमाथि इजलासमै मोसो प्रहार गर्ने तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा नेकपा बहुमतका केन्द्रीय सदस्य प्युठानको गौमुखी गाउँपालिका–६ घर भई हाल ललितपुरको कुपन्डोल बस्ने ३८ वर्षीय किशोर कुँवर (अविनाश), बहुमत पार्टीका सर्लाही इन्चार्ज सर्लाही हरहथवा नरपालिका– २ घर भएका ४३ वर्षीय पदमबहादुर मगर तथा सिराहा जिल्ला कमिटी सदस्य सिराहाको गोलबजार घर भएका ४८ वर्षीय गर्भु महतो रहेको जिल्ला प्रहरी कार्यालय, पर्साका डिएसपी किशोर लम्सालले बताए।
उनीहरूले बिहीबार दिउँसो इजलासमै पसेर मोसो प्रहार गरेका थिए। मोसो प्रहार गरेपछि जनकारबाही गरेको घोषणा गरेका थिए। न्यायाधीश थारूसहितको इजलासले गत १४ जेठमा कांग्रेस नेता अफताब आलमसहितलाई सफाइ दिने फैसला गरेको थियो। सोही फैसलाको विरोधमा यसरी इजलासभित्रै न्यायाधीशमाथि दुर्व्यवहार भएको हो।