१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ २७ मंगलबार ११:o५:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मोरङमा ठुला उद्योगबाटै बक्यौता कर तिर्न अटेर

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार ११:o५:oo
  • आन्तरिक राजस्व कार्यालयले ताकेता गर्दासमेत १४ वटा उद्योग र कम्पनीले आयकर र भ्याट र ६७ वटाले भ्याटको बक्यौता बुझाएका छैनन्  

मोरङमा नाम चलेका उद्योग र कम्पनीहरूले नै वर्षौँदेखि कर तिर्न अटेर गर्दै आएका छन् । आय र मूल्य अभिवृद्धि कर नतिरेपछि आन्तरिक राजस्व कार्यालय मोरङले पटक–पटक बक्यौता तिर्न चेतावनी दिए पनि उद्योग र कम्पनीहरूले चासो देखाएका छैनन् ।

सूचनाको हक प्रयोग गरी आन्तरिक राजस्व विभागबाट प्राप्त गरेको सूचनाअनुसार मोरङका ८१ नाम चलेका कम्पनी र उद्योगहरूले आयकर र मूल्य अभिवृद्धि करको बक्यौता बुझाएका छैनन् । केही कम्पनीले गत वर्षको मात्रै तिरेका छैनन् भने धेरैले वर्षाैँदेखिको कर बक्यौता बुझाएका छैनन् । मोरङमा १४ उद्योग र कम्पनीले आयकर र मूल्य अभिवृद्धि कर दुवैको र ६७ वटा कम्पनी र उद्योगले मूल्य अभिवृद्धि करको बक्यौता बुझाएका छैनन् । बक्यौता कर तिर्न अटेर गर्ने उद्योग र कम्पनी सबैभन्दा धेरै विराटनगर महानगरभित्रका छन् । सुन्दरहरैँचा, पथरी–शनिश्चरे, उर्लाबारी, बेलबारी, बुढीगंगा र रंगेली क्षेत्रका केही कम्पनीहरूले पनि बक्यौता बुझाएका छैनन् । 

आन्तरिक राजस्व कार्यालय मोरङले बक्यौता नतिर्ने उद्योग र कम्पनीहरूलाई कर तिर्न मौखिक र लिखित पत्राचार गरेर ताकेता गरेको थियो । तर, उद्योगी र कम्पनीहरूले बक्यौता कर तिर्न कुनै वास्ता गरेनन् । त्यसपछि कार्यालयले बक्यौता कर नतिरेमा ऐनअनुसार कारबाही गर्ने चेतावनी दिँदै सार्वजनिक सूचना नै प्रकाशित गरेको हो । 

आन्तरिक राजस्व कार्यालय मोरङका प्रमुख भूपालराज शाक्यले पटक–पटक लिखित–मौखिक ताकेता गर्दा पनि बक्यौता कर तिर्न अटेर गरेपछि चेतावनीसहित सार्वजनिक सूचना जारी गर्नुपरेको बताए । तर, सार्वजनिक सूचना जारी गर्दा बक्यौता नतिर्ने कम्पनीको अवधि र बक्यौता रकम भने राजस्व कार्यालयले गोप्य राखेको छ । ‘करदाताको सर्वोत्तम हितको नियमअनुसार उद्योग र कम्पनीको बक्यौता रकम र कर नबुझाएको आर्थिक वर्षको अवधि सार्वजनिक नगरेका हाँै,’ मुख्य कर अधिकृत शाक्यले भने । उनका अनुसार सूचना प्रकाशन भएपछि पनि कर तिर्न कम्पनी र उद्योगहरूले खासै चासो देखाइरहेका छैनन् । 

बक्यौता नतिर्नेमा पूर्वराज्यमन्त्री दुगडदेखि उद्योगी काबरासम्म
मोरङमा कर नतिर्ने उद्योग र कम्पनीहरूमध्ये पूर्वराज्यमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडको एसियन पेन्ट्स, उनका भाइ सतिशकुमार दुगडको नेसनल पाइप इन्डस्ट्रिज, बोहरा ग्रुपअन्तर्गतको भावेश बोहराको भूमि कन्स्ट्रक्सन प्रालि, विराटनगर महानगरपालिकाका पूर्वकर्मचारीसमेत रहेका उद्योगी तारानाथ निरौलाको विराट फुड प्रोडक्ट प्रालि, काबरा ग्रुप नवलकिशोर काबराको क्वालिटी कन्फेक्सनरी, नेप एन्ड फलेक्सी प्याक, क्वालिटी प्याक छन । 

यसैगरी, आरकेजी ग्रुप राजकुमारी जैनको अरिहन्त इम्पोर्ट एन्ड एक्सपोर्ट, सञ्जयकुमार अग्रवालको श्रीराम आइरन एन्ड स्टिल, कविन श्रेष्ठको शुभ इन्टरनेसनल हस्पिटालिटी, प्रदीप बेगवानीको ओम महालक्ष्मी ज्वेलर्स, पंकजकुमार अग्रवाल र आनन्द दाहालको रिद्धिसिद्धि इम्पेक्स, सारडा ग्रुप सौरभ सारडाको प्रिमियर टेडर्स एन्ड सप्लायर्स, पंकजकुमार अग्रवालको सेफरन क्रंकिट, राजकुमार अग्रवालको पंकज आयल र हंसराज जैनको अरिहन्त उद्योग छन् । यसैगरी, शारदाप्रसाद ढकालको पूर्वाञ्चल क्रसर उद्योग, विवेकानन्द कर्णको पाथीभरा जब प्लेसमेन्ट, नछिकेत निहालाको टान्टिया कन्स्ट्रक्सन प्रालि र प्रकाश चौधरीको विराट कवारी, पशुपति भगतको अन्नपूर्ण सप्लायर्सलगायत छन् ।