
कांग्रेस आर्थिक नीति तथा योजना विभागले आर्थिक वर्ष ‘०८२/८३ को बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक गोष्ठी सम्पन्न गरेको छ। मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा समीक्षा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गरेका हुन्।
सो क्रममा उनले बजेट युवामैत्री र उद्यमलाई बढावा दिने खालको भएकाले युवाहरू यसतर्फ आकर्षित हुने बताए। कार्यक्रममा डा. पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल, प्राडा विश्वम्भर प्याकुरेल, प्राडा ओम शर्मा, प्राडा कुसुम शाक्य, डा. पोषणराज पाण्डे, प्राडा विनयकुमार कुँस्यातलगायत विज्ञले बजेटमाथि समीक्षा गरेका थिए।
बजेट राम्रो भए पनि यसको कार्यान्वयन र प्राथमिकता निर्धारणमा सरकार चुक्ने हो कि भन्ने चिन्ता अधिकांश वक्ताको थियो । प्रक्रियागत जटिलताका कारण बजेट फ्रिज हुने परिपाटी अन्त्य गर्न विज्ञहरूले सुझाव दिएका थिए। स्वरोजगारलाई प्रभावकारी बनाउने, सहुलियत दरमा ऋण उपलब्ध गराउने, सीपमूलक तालिमको व्यवस्था गर्ने, कृषि उद्यममा जोड दिने र करलाई व्यवस्थित गरी युवालाई देशमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन आवश्यक रहेको विज्ञहरूको भनाइ थियो। वैदेशिक रोजगारीमा जान उठेका युवाका पाइला रोक्न आवश्यक रहेको उनीहरूको धारणा थियो। आजकै जस्तो बौद्धिक पलायन भइरहने हो भने देश नै रित्तिने र भयावह परिस्थिति हुने उनीहरूले चेतावनी दिए।
संघीय ढाँचामा देखिएको असमानताको आलोचना गर्दै बजेट विनियोजन पारदर्शी बनाउन र दिगो आर्थिक विकासतर्फ अग्रसर हुने गरी बजेट परिचालन गर्न सबै विज्ञले सुझाव दिएका थिए।
कार्यक्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाले वार्षिक रूपमा नौ लाख युवा वैदेशिक रोजगारमा जाने र ७५.५ प्रतिशत अप्रशिक्षित अवस्थामा बाहिरिने गरेको तथ्य उल्लेख गर्दै ती युवा स्वदेश फर्कने वातावरण बनाउने गरी बजेट कार्यान्वयन गर्न आग्रह गरे।
कांग्रेस आर्थिक नीति तथा योजना विभागका अध्यक्ष तथा केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।