१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
२o८२ जेठ २७ मंगलबार १o:१५:oo
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

किन विवादमा तानिए क्यानडाका प्रधानमन्त्री कार्नी ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार १o:१५:oo
  • सन् २०२३ मा भ्यानकुभरमा ४५ वर्षीय क्यानडेली नागरिक हरदीपसिंह निज्जरको हत्यापछि भारत र क्यानडाबिचको सम्बन्धमा दरार आएको थियो

अन्ततः लामो अडकलबाजीबिच क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अल्बर्टामा आयोजना हुने आगामी जी–७ शिखर सम्मेलनमा भाग लिनका लागि समूहका सदस्य नभए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गरेका छन् । तर, यस निर्णय अहिले विवादमा परेको छ । जसका कारण कार्नीले मोदीलाई दिएको आमन्त्रण गर्ने निर्णयको पटक–पटक प्रतिरक्षा गर्नु परेको छ । सन् २०२३ मा क्यानडामा एकजना सिख अभियन्ताको हत्यामा भारत सरकारको ‘उच्च तहको’ संलग्नता रहेको क्यानडाको संघीय प्रहरीले निष्कर्ष निकालेको परिपेक्ष्यमा कार्नीको निमन्त्रणाको चौतर्फी विरोध भएको हो ।

शुक्रबार पत्रकार भेटघाटमा प्रधानमन्त्री कार्नीलाई हरदीपसिंह निज्जरको हत्यामा भारतका प्रधानमन्त्रीकै भूमिका रहे–नरहेको विषयमा प्रश्न सोधिएको थियो । तर, प्रधानमन्त्री कार्नीले पत्रकारहरूको यस प्रश्नको जवाफ दिन अस्वीकार गरे । बरु उनले  घुमारुरो रूपमा जवाफ दिएर भारतीय समकक्षीको बारेमा उल्लेख नै गरेनन् । ‘अहिले कानुनी अनुसन्धान चलिरहेको छ र यो धेरै अगाडि पुगिसकेको छ । यस्तो अवस्थामा उक्त कानुनी प्रक्रियाबारेमा टिप्पणी गर्नु उपयुक्त हुँदैन,’ कानीले पत्रकारहरूलाई जवाफ दिँदै भने । निज्जर हत्यामा संलग्न भएको आरोपमा क्यानडामा बसोवास गर्दै आएका चार भारतीय नागरिकमाथि मुद्दा चलेको छ ।

विश्वका सबैभन्दा ठुला अर्थतन्त्र भएका देशका नेताहरूको उपस्थिति हुने जी–७ शिखर सम्मेलन जुन १५ देखि १७ बिच अल्बर्टाको कानानास्किसमा आयोजना हुँदै छ । कार्नीले भारत ‘विश्वको पाँचौँ ठुलो अर्थतन्त्र, विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश र आपूर्ति शृंखलाको केन्द्रबिन्दु’ भएकाले सो देशका नेतालाई निमन्त्रणा दिनु महत्वपूर्ण हुने तर्क गरेका छन् । उनले भारतीय समकक्षीसँगको भेटमा ऊर्जा, एआई र व्यापार, अत्यावश्यक खनिजहरूबारेमा छलफल हुनेसमेत जानकारी दिए । ‘यसैकारण, मैले प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिएँ र उनले पनि हाम्रो निमन्त्रणा स्वीकार गरेका छन्,’ सो अवसरमा कार्नीले भने ।

मोदीले यसअघि नै कार्नीबाट फोन आउँदा आफू खुसी भएको र उनलाई हालैको चुनावी विजयमा बधाई दिएको बताएका थिए । ‘जनता–जनताबिच गहिरो सम्बन्धले बाँधिएको जीवन्त लोकतान्त्रिक देशका रूपमा भारत र क्यानडाले पारस्परिक सम्मान र साझा हितद्वारा निर्देशित भएर नयाँ जोशका साथ मिलेर काम गर्नेछन् । सम्मेलनमा हामीबिच हुने भेटवार्ताका लागि उत्साहित छु,’ मोदीले कार्नीसँगको फोन संवादपछि एक विज्ञप्तिमा भनेका थिए । गत वर्ष ब्रिटिस कोलम्बिया राज्यको सर्रे सहरमा भारतीय मूलका निज्जरको हत्यापछि दुई देशको सम्बन्ध निकै चिसिएको थियो । तनावबिच दुई देशले एकअर्काका शीर्ष कूटनीतिज्ञहरूलाई निष्कासन गरेका थिए, जसका कारण कूटनीतिक दरार उत्पन्न भएको थियो । क्यानडाको कानुन प्रवर्तन गर्ने निकायले भारत जबर्जस्ती चन्दा असुली, आपराधिक गिरोह हिंसा र धम्की दिने कार्यमा संलग्न रहेको आरोप पनि लगायो ।

मोदीलाई आमन्त्रित गर्ने कार्नीको निर्णयले वल्र्ड सिख अर्गनाइजेसनले आक्रोशित प्रतिक्रिया दिएको छ । ‘यो क्यानडाका सिखहरूका समुदायमाथिको विश्वासघात हो । अझ यो हाम्रो समुदायमाथिको मात्र नभई मूल क्यानडाली मूल्य–मान्यतामाथिकै विश्वासघात हो । भारतले हरदीप सिंह निज्जरको हत्यामा कुनै पनि भूमिकालाई अस्वीकार गरिरहेको छ । उसले अनुसन्धानमा क्यानडाली अधिकारीहरूलाई सघाउन अस्वीकार गरिरह्यो । यस्तोमा प्रधानमन्त्री कार्नीको नरेन्द्र मोदीलाई आमन्त्रित गर्ने निर्णय लज्जास्पद र खतरनाक दुवै छ,’ संगठनका अध्यक्ष दानिस सिंहले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘रुस, चीन वा इरानबाट यस्तो काम भएको भए हामीले ती देशका नेताहरूलाई कहिल्यै स्वागत गर्ने थिएनौँ । जबकि भारतले बाह्य हस्तक्षेप र हत्या गर्नेजस्तो अन्तरदेशीय दमन गरेको छ । तर, उसैलाई रातो कार्पेटमा स्वागत गरेर पुरस्कृत गरिँदै छ ।’ 

भारतीय प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने कार्नीको निर्णय उनी नेतृत्वको नयाँ सरकारले क्यानडासँग सम्बन्ध तिक्त रहेका देशहरूसँग तनाव कम गर्ने प्रयास गरिरहेको वेला आएको हो । बिहीबार नै उनले चिनियाँ प्रधानमन्त्री ली छियाङसँगको फोन संवादको पूर्णपाठ पोस्ट गरे । त्यसमा दुई देशबिच जारी व्यापार विवादका बिच ‘सञ्चारका च्यानलहरू नियमित राख्न’ दुवै पक्षको चासो रहेको बताइएको छ । चीन र क्यानडाबिच समुद्री खाना, विद्युतीय सवारीसाधन, क्यानोला, सुँघुर र मटरमा कर युद्ध चलिरहेको छ । यसले दुवै देशलाई अर्बौँको क्षति पुर्‍याएको छ । मार्चमा प्रधानमन्त्री बनेपछि कार्नी र उनका चिनियाँ समकक्षीसँगको यो पहिलो उच्चस्तरीय फोन संवाद हो । 

उता कार्नी छिमेकी अमेरिकासँग पनि घनीभूत वार्तामा छन् । डोनाल्ड ट्रम्पको सरकारले अहिले क्यानेडेली स्टिल र आल्मुनियमको अमेरिका प्रवेशमा भारी भन्सार कर लगाएको छ । यो व्यापार युद्ध अन्त्य गर्न कार्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रत्यक्ष वार्तामा पनि छन् । ओन्टारियोका मुख्यमन्त्री डग फोर्डले पत्रकारहरूसँगको कुराकानीमा वार्ताको पुष्टि गरे । फोर्डका अनुसार क्यानेडेली प्रधानमन्त्री कार्नी ट्रम्पको टोलीसँग ‘गहन र गम्भीर छलफल’मा सरिक छन् । यसलाई क्यानडाका उद्योग मन्त्रीले समेत उचित बताए ।

– द गार्जियनबाट