१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २७ मंगलबार
  • Tuesday, 10 June, 2025
२o८२ जेठ २७ मंगलबार o९:३६:oo
Read Time : > 4 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीयमा नेपालका १० ठुला स्कोर

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २७ मंगलबार o९:३६:oo

सन् २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो । सात वर्षभित्र नेपालले ७६ एकदिवसीयमा ३७ जित र ३६ हारको सामना गरेको छ । नेपालको एक खेल टाई तथा दुई खेल अनिर्णीत रूपमा भएको छ । सन् २०२३ मा नेपालले पहिलोपटक एकदिवसीय खेलको विश्वकप ग्लोबल छनोटमा स्थान बनाएको थियो । यो फर्म्याटमा पहिलो शतक लगाउने क्रिकेटर पूर्वकप्तान पारस खड्का हुन् । ५० ओभरको खेलमा नेपालले आइतबार स्कटल्यान्डविरुद्ध लक्ष्य पछ्याउने क्रममा अहिलेसम्मकै सर्वाधिक रन बनाएको थियो । यद्यपि, स्कटल्यान्डसँग नेपाल दुई रनले चुक्यो । एकदिवसीय फर्म्याटमा नेपालका १० ठुला योगफल यस्ता छन् । 

१. स्कटल्यान्ड ३२३–६, नेपाल ३२१–१०, नेपाल दुई रनले पराजित
आइसिसी विश्वकप लिग–२ अन्तर्गत आइतबार नेपालले एकदिवसीय इतिहासकै सर्वाधिक ठुलो योगफल खडा गर्‍यो । तर, स्कटल्यान्डलाई स्तब्ध पार्न नेपाल २ रनले मात्र पछि पर्‍यो । स्कटल्यान्डले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३२३ रन बनायो । प्रत्युत्तरमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर ३२१ रन जोड्यो । नेपाललाई अन्तिम ओभरमा सात रन चाहिएको थियो । नेपाली ब्याट्सम्यानले चार रन मात्र जोड्दा स्कटल्यान्डले सनसनी रूपमा २ रनको जित निकाल्यो । नेपालका लागि तीन खेलाडीले अर्धशतकीय इनिङ्स खेलेका थिए । भीम सार्की, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेलेका थिए । 

२. नेपाल ३१०–८, ओमान २२६–१०, नेपाल ८४ रनले विजयी
स्कटल्यान्डविरुद्धको ऐतिहासिक प्रदर्शन गर्नुअघि नेपालले आफ्नो एकदिवसीय खेलमा सन् २०२३ मा ओमानविरुद्ध एसिसी पुरुष प्रिमियर कपमा सर्वाधिक योगफल खडा गरेको थियो । त्रिवि मैदानमा नेपालले पहिलो ब्याटिङ गरी ८ विकेट गुमाएर ३१० रन बनाएको थियो । प्रत्युत्तरमा ओमानले ४६.३ ओभरमा सबै विकेट गुमाएर २२६ रन जोड्यो । नेपालले खेल ८४ रनले जित्यो । नेपालको जितमा कुशल मल्लले १०८ रनको शतकीय योगदान दिएका थिए । उनले ६४ बलमा १० छक्का र ९ चौका प्रहार गरे । यसैगरी, सोमपाल कामीले ४८ बलमा ६३ रन बनाए । बलिङमा नेपालका करण केसी र सन्दीप लामिछाने समान ३ विकेट हात पारे । 

३. नेपाल २९७–१०, पपुवा न्युगिनी २४५–१०, नेपाल ५२ रनले विजयी
सन् २०२३ मा त्रिवि क्रिकेट मैदानमा आइसिसी विश्वकप लिग–२ को महत्वपूर्ण खेलमा नेपालले सबै विकेट गुमाएर २९७ रन बनाएको थियो । प्रत्युत्तरमा पपुवा न्युगिनीले ४७.१ ओभरमा सबै विकेटको क्षतिमा २४५ रन बनायो । खेलमा नेपाल ५२ रनले विजयी भयो । नेपालको जितमा आसिफ शेखले ११० रनको शतकीय योगदान दिएका थिए । उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए । ओपनर कुशल भुर्तेलले ५६ बलमा ४५ रन, भीम सार्कीले ३८ बलमा ४४ रन बनाएका थिए । पपुवा न्युगिनीविरुद्ध सन्दीप लामिछानेले ३७ रन खर्चेर चार विकेट लिए । 

४. स्कटल्यान्ड २९६–७, नेपाल २९७–९, नेपाल एक विकेटले विजयी
नेपालले आफ्नो एकदिवसीय इतिहासमा ठुलो लक्ष्य पछ्याएको यसै साता हो । विश्वकप लिग–२ अन्तर्गत ७३औँ खेलमा नेपालले स्कटल्यान्डविरुद्ध ऐतिहासिक प्रदर्शन गर्‍यो । घरेलु मैदानमा स्कटल्यान्डले पहिलो ब्याटिङ गरी ७ विकेटको क्षतिमा २९६ रन बनायो । प्रत्युत्तरमा नेपालले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा २९७ रन जोड्यो । नेपालका करण केसीले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा ४१ बलमा ६५ रन बनाए । बलिङमा उनले ४३ रन खर्चेर २ विकेट लिए । नेपालको जितमा गुल्सन झाले ३० बलमा समान ३ छक्का र चौका प्रहार गरी ४२ रनको योगदान दिए । ओपनर कुशल भुर्तेलले आवश्यक रनरेट पूरा गर्न ४४ बलमा ११ चौका प्रहार गरी ५३ रन बनाएका थिए । स्कटल्यान्डविरुद्ध रिजन ढकाल, करण र सोमपाल कामीले समान २ विकेट लिए । 

५. नेपाल २९०–८, जिम्बावे २९१–२, जिम्बावे आठ विकेटले विजयी
सन् २०२३ मा जिम्बावेको हरारेमा नेपालले एकदिवसीय विश्वकपको ग्लोबल छनोट खेलेको थियो । टेस्ट मान्यताप्राप्त जिम्बावेविरुद्ध नेपालले पहिलो भेटमै ब्याटिङमा दमदार प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर २९० रन बनायो । विश्व क्रिकेटकै अनुभवी राष्ट्र जिम्बावेले सहजै लक्ष्य पछ्याउने क्रममा ४४.१ ओभरमा २ विकेट गुमाएर २९२ रन बनायो । जिम्बावेको जितमा क्रिज इर्भिनले १२१ रन जोडेका थिए । नेपालको ब्याटिङमा ओपनर कुशल भुर्तेल १ रनले शतकीय इनिङ्स खेल्न चुके । उनले ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरी ९९ रन बनाए । आसिफ सेखले सय बलमा ६६ रन बनाए । यसैगरी, कुशल मल्लले ४१ रन र कप्तान रोहितकुमार पौडेलले ३१ रन जोडे । 

६. क्यानडा २८५–९, नेपाल २८७–६, नेपाल चार विकेटले विजयी
सन् २०२४ मा क्यानडाले नेपालको भ्रमण गरेको थियो । त्रिवि क्रिकेट मैदानमा क्यानडाले दोस्रो एकदिवसीय खेलमा ९ विकेट गुमाएर २८५ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ४५.१ ओभरमा ६ विकेटको क्षतिमा २८७ रन जोड्यो । नेपालको सनसनी जितमा कप्तान रोहित पौडेलले अलराउन्ड खेल देखाए । उनले १०१ बलमा ८७ रन बनाए । बलिङमा उनले ३२ रन खर्चेर २ विकेट हात पारे । रोहितले आफ्नो म्याच विनिङ प्रदर्शनमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए । यसैगरी, युवा खेलाडी देव खनालले ८१ बलमा ७ चौका र २ छक्का प्रहार गरी ७६ रन जोडे । ओपनर कुशल भुर्तेलले २० बलमा ७ चौका र ३ छक्का प्रहार गरी ५० रनको आक्रामक इनिङ्स खेले । 

७. नामिबिया २८५–१०, नेपाल २८७–८, नेपाल दुई विकेटले विजयी
सन् २०२३ मा आइसिसी विश्वकप लिग–२ अन्तर्गत १२१औँ खेलमा नेपालले एकदिवसीय खेलमा सातौँ ठुलो योगफल बनाएको थियो । त्रिवि क्रिकेट मैदानमा नामिबियाले पहिलो ब्याटिङ गरी ५० ओभरमा सबै विकेट गुमाएर २८५ रन बनायो । प्रत्युत्तरमा ओपनर कुशल भुर्तेलले शतकीय इनिङ्स खेल्दै नेपाललाई दुई विकेटको जित दिलाए । उनले ११३ बलमा १० चौका र ४ छक्का प्रहार गरी ११५ रन बनाए । यसैगरी, रोहितकुमार पौडेलले ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ७२ रन बनाए । बलिङमा करण केसीले ६१ रन खर्चेर ५ विकेट लिए । 

८. पपुवा न्युगिनी २९२–८, नेपाल २८६–८, पपुवा न्युगिनी ६ रनले विजयी
सन् २०२२ मा पपुवा न्युगिनीले नेपाल भ्रमण गरेको थियो । त्रिवि क्रिकेट मैदानमा पहिलो एकदिवसीय खेलमा पपुवान्युगिनीले ८ विकेट गुमाएर २९२ रन बनायो । नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा २८६ रन बनायो । नेपाल खेलमा ६ रनले पराजित भयो । नेपालको ब्याटिङमा रोहितकुमार पौडेलले १०७ बलमा १२६ रन बनाएका थिए । उनले ७ चौका र ४ छक्का प्रहार गरे पनि नेपाललाई जित दिलाउन सकेनन् । सो इनिङ्समा ओपनर कुशल भुर्तेलले ३२ रन र आरिफ सेखले ३४ रन जोडे ।

९. नेपाल २८६–१०, अमेरिका २९१–७, अमेरिका तीन विकेटले विजयी
सन् २०२४ मा नेपालले आइसिसी विश्वकप लिग–२ को ३८औँ खेलमा नवौँ ठुलो योगफल खडा गरेको थियो । खेलमा अमेरिका ३ विकेटले विजयी भयो । अमेरिकाको डालासमा भएको खेलमा नेपालले पहिलो ब्याटिङ गरी ५० ओभरमा सबै विकेट गुमाएर २८६ रन बनायो । अमेरिकाले ४९.४ बलमा सात विकेटको क्षतिमा २९१ रन जोड्यो । अमेरिकाको जितमा सायनले १०४ रन बनाउनुका साथै २ क्याच लिएका थिए । नेपालका लागि अनिल शाहले ६२ बलमा ५६ रन तथा आसिफ सेखले ५२ रन जोडेका थिए । कप्तान रोहितकुमार पौडेलले ७५ बलमा ९६ रनको योगदान दिए ।

१०. नामिबिया २७४–६, नेपाल २७८–७, नेपाल ३ विकेटले विजयी
सन् २०२३ मा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत १२४औँ खेलमा नामिबियाविरुद्ध ३ विकेटको जित निकाल्यो । नामिबियाले पहिले ब्याटिङ गरेर ६ विकेटको क्षतिमा २७४ रन बनायो । नेपालले ४७.३ ओभरमा ७ विकेट गुमाएर २७८ रन जोड्यो । नेपालको जितमा आसिफ सेखले ९८ बलमा ८१ रन जोडेका थिए । सो खेलमा नेपालका कुशल मल्लले ६२ रन र ज्ञानेन्द्र मल्लले ६५ रनको योगदान दिए ।