१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ जेठ ३१ शुक्रबार ११:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

बालविवाह रोक्न धर्मगुरुको लिखित प्रतिबद्धता

Read Time : < 1 मिनेट
२०७६ जेठ ३१ शुक्रबार ११:४८:००

बालबिवाह रोक्न लमजुङका धर्मगुरुहरूले लिखित प्रतिबद्धता जनाएका छन् । धर्म, संस्कृति र रीतिरिवाजका नाममा हुने सबै प्रकारका बालविवाह रोक्न पहल गर्ने गरी उनीहरूले बुधबार लिखित प्रतिबद्घता जनाएका हुन् । उमेर नै नपुगी विवाह गरी गर्भवती बन्दा आमा र शिशु दुवैको ज्यान जान सक्ने जोखिमका कारण बालविवाह रोक्ने प्रतिबद्धता जनाएको विश्व हिन्दू महासंघ लमजुङका अध्यक्ष घनश्याम सुवेदीले बताए । वल्र्ड भिजन इन्टरनेसनल नेपाल, आरसिडिसी र कोपाडेसको सहयोग तथा महिला हिंसाविरुद्ध अन्तरधार्मिक राष्ट्रिय सञ्जाल, (निरन नेपाल) को आयोजनामा भएको एक दिवसीय प्रशिक्षणका क्रममा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा सहभागी मनमाया गुरुङले बालविवाहविरुद्घ सञ्जाल गठन गरी बाल विवाहसम्बन्धी जनचेतना फैलाउने तथा बालविवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याई कारबाही गरे बाल विवाहमा कमी आउने सुझाब दिइन् । उनले भनिन्, ‘सबै मिलेर जिल्लालाई बालविवाहमुक्त गर्नुपर्छ ।’ जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी अभियानकै रूपमा लैजान लागेको आरसिडिसी वल्र्ड भिजन शिक्षा परियोजनाका संयोजक प्रमोद घिमिरेले बताए । 

समाजमा विद्यमान कुरीति र कुसंस्कारहरू बालविवाह, छुवाछुत, लैंगिक÷जातीय विभेद, दाइजो प्रथा, बोक्सी आरोपजस्ता विसंगति न्यूनीकरणका लागि अगुवाहरूलाई एउटा साझा मञ्चमा गोलबन्द गरिएको कोपाडेसका युवा विकास परियोजनाका कार्यक्रम संयोजक विष्णु चिलवालले बताए । उनले भने, ‘धार्मिक अगुवाहरूलाई समाजले श्रद्धा गर्ने, उनीहरूका भनाइलाई अनुसरण गर्ने र प्रत्येक धार्मिक, सांस्कृतिक तथा जन्मदेखि मृत्युपर्यन्त हुने गतिविधिमा प्रत्यक्ष वा परोक्ष सहभागी हुने भएकाले धार्मिक अगुवाहरूलाई सामाजिक रूपान्तरणमा सहभागी बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरेको हो ।’ कार्यक्रममा सहभागी हिन्दू, बौद्ध, इस्लाम, इसाई, बहाई, बोन, जैन धर्मका गुरुहरूले बालविवाह, महिला हिंसा तथा विभेदविरूद्ध धर्ममार्फत सकरात्मक रूपमा अगुवाई गर्ने प्रतिबद्धता जनाए ।